Comments Add Comment

पश्चिमाञ्चल ग्रामीण बैंकमा ताला

२५ भदौ, बुटवल । मर्जर प्रक्रियाप्रति असहमति जनाउँदै आएका कर्मचारीहरूले बुटवलमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा तालाबन्दी गरेका छन् । कर्मचारीको आन्दोलनका कारण सोमबार कार्यालयको प्रशासनिक काम प्रभावित भएको छ । सरकारी स्वामित्वका पाँच ग्रामीण विकास बैंक मर्ज गरेर सक्षम र सबल बैंक निर्माण गर्ने निर्णय सरकारले गरेको छ ।

पश्चिमाञ्चल ग्रामीण विकास बैंक नाफामा रहेको अवस्थामा घाटामा रहेका अन्य बैंकहरूसँग मर्जर गर्न नहुने भन्दै कर्मचारीहरूले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । बुटवलमा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले पत्रकार सम्मेलन गरी मर्जर प्रक्रियाबाट पश्चिमाञ्चल ग्रामीण विकास बैंक अलग हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् ।

भदौ २ गतेदेखि आन्दोलनमा उत्रिएका कर्मचारीले आफूहरूका माग पूरा गर्ने सम्बन्धमा बैंक प्रशासन र मर्जर समिति गम्भीर नदेखिएकाले अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको कर्मचारी सङ्घका अध्यक्ष रमेश जिसीले पत्रकार सम्मेलनमा बताउनुभयो ।

मूल ढोकामै तालाबन्दीका कारण बैंकमा सेवा लिन आउने सेवाग्राही मर्कामा पर्ने भएका छन् । तर, आन्दोलनकारी कर्मचारीले भने आफूहरूले फिल्डको काममा भने कुनै असर नपुर्‍याउने बताएका छन् ।

पाँच विकास क्षेत्रमा रहेका ग्रामीण विकास बैंकमध्ये पश्चिमाञ्चल एकमात्र नाफामा रहेकाले घाटामा सञ्चालित चारवटा बैंकसँग मर्जर गर्दा नाफामा सञ्चालित सो बैंकको पुँजी नै क्षय भई बैंक तथा बैंकमा कार्यरत कर्मचारी र लगानीकर्ताहरूको भविष्यसमेत अन्धकारमा जाने उनीहरूको बुझाइ छ ।

मर्जरमा जाने हो भने सरकारको सेयर स्वामित्व कम्तीमा २५ प्रतिशत, राष्ट्र बैंकको १० प्रतिशत सेयर, पुँजी एक अर्ब हुनुपर्ने, सङ्घ र बैंक व्यवस्थापनबीच भएको मानवसंशाधनसम्बन्धी सम्झौता मर्जरपूर्व लागू हुनुपर्ने, कर्मचारीको वृत्ति विकास, चारवटै ग्रामीण विकास बैंकको सञ्चिति घाटा सम्बन्धित निकायबाटै परिपूर्ति हुनु पर्नेजस्ता माग अगाडि सारेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment