Comments Add Comment

नयाँ प्रहरी महानिरीक्षक : आँखा कमजोर, दृष्टि तगडा

२५ कात्तिक, काठमाडौं । नयाँ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालविरुद्ध डीआइजी पार्वती थापाले यसैसाता सर्वोच्च अदालतमा दायर गरेको रिटमा भनिएको थियो- ‘एउटा आँखाले काम नगर्ने व्यक्तिलाई बढुवा गर्दा प्रहरी नियमावलीको नियम २७ (२) उल्लंघन भएको छ ।’

Upendra-kanta-aryalप्रथम महिला महानिरीक्षक बन्ने दौडमा दलका ढोकासम्म पुगेकी डीआइजी थापाको अर्यालप्रतिको मुल्यांकन यस्तो छ- ‘विपक्षी उपेन्द्रकान्त अर्याल वीएमात्र पास गर्नुभएको छ । डिल्लीबजारको एउटा भट्टीमा रक्सीले मातेर मोटरसाइकलमा हिँड्दा दुर्घटनामा एउटा आँखा फुटेको थियो । आँखा फुटेको कारणले शिक्षण अस्पतालमा आँखाको उपचार गरेको रेकर्ड छ । उपेन्द्रकान्त अर्यालको प्रहरी निरीक्षक हुँदा नै सवारी दुर्घटनामा परी एउटा आँखा गुमाउन पुगेको व्यक्तिले सरकारलाई ढाँटी आफू स्वस्थ रहेको बाहनाबाजी गर्दै कालो चश्मा प्रयोग गरेर प्रत्येक पटकको बढुवा क्रमशः लिँदै हालको पदसम्म पनि झुठा व्यहोरा देखाई उक्त कुरा सरकारलाई गुमराहमा राखी आएका छन् ।’

महिला भएकाले आफूले न्याय पाउनुपर्ने दाबी गर्दै आउनुभएकी डीआइजी थापाले अर्याललाई ‘एउटा आँखा फुटेको’ हुनाले अयोग्य बताउनु कत्तिको न्यायसंगत होला ? त्यसो त कम्मरदेखि मुनिको भाग नचलेर ह्वीलचेयरबाट रमिन्द्र क्षेत्रीले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको थियो । अपाङ्गतालाई नै अर्यालको अयोग्यता बताउने डीआइजी थापाको रीट निवेदनलाई सर्वोच्च अदालतले नकारात्मक जवाफ दिइसकेको छ र अर्यालको बढुवालाई वैधता दिइसकेको छ ।

अर्यालको पृष्ठभूमि : कम्युनिष्टप्रति अनुदार

नयाँ प्रहरी महानिरीक्षक अर्याललाई प्रहरी संगठनमा आर्थिक हिसावले स्वच्छ र व्यवसायिक क्षमता भएको अफिसरका रुपमा धेरैले दिने गरेका छन् । तर, वैचारिक हिसावले चाहिँ उहाँ नेपाली कांग्रेस पृष्ठभूमिको भएकाले कम्युनष्टिहरुप्रति बढी नै अनुदार रहेको जानकारहरु बताउँछन् । सिरहामा कलेज पढ्दा उहाँ नेपाल विद्यार्थी संघमा आवद्ध हुनुभएको बताइन्छ ।

नेकपा एमालेका नेता वामदेव गौमतले ०५६ साल पहिले गृहामन्त्रालय सम्हालेका बेला उपेन्द्रकान्त अर्याल डीएसपी पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँ त्यसबेला तत्कालीन अच्युतकृष्ण खरेलको सचिवालयमा कार्यरत हुनुहुन्थ्यो । तत्कालीन गृहमन्त्री वामदेव गौतम र तत्कालीन आइजीपी खरेलवीच खटपट परेका बेला अर्यालले खरेललाई दह्रो साथ दिनुभएको थियो ।

वामदेव गौतमसँगको त्यही खटपटका कारण ०५६ सालमा वामदेव गौतमलाई चुनाव हराउन र मालेलाई शुन्य सीटमा झार्न अर्यालले समेत भित्रीरुपमा भूमिका खेलेको एमाले कार्यकर्ताहरुले अहिलेसम्म बताउने गरेका छन् । कांग्रेसको पृष्ठभूमिबाट आएको र कम्युनिष्टप्रति अनुदार भएको भन्दै अहिले पनि वामदेव गौतम लगायतका नेताहरु अर्यालसँग झस्किने गरेको स्रोत बताउँछ ।

यद्यपि वैचारिक हिसावले वाम अनुदार अफिसरका रुपमा चिनिए पनि अर्यालमा पेशागत दक्षता र आर्थिक रुपमा स्वच्छ छवि रहेको वामपन्थीहरुले समेत स्वीकार गर्ने गरेका छन् ।

दोस्रो संविधानसभामा अर्याललाई चिठ्ठा

यसपालि संयोग कस्तो परेको छ भने वामपन्थीप्रति अनुदार मानिएका अर्यालकै सुरक्षा नेतृत्वमा संविधानसभाको दोस्रो निर्वाचन हुन गइरहेको छ । पहिचानसहितको संघीयता र अग्रगमनको कुरा गरिरहेको एमाओवादीलाई साइजमा ल्याउने रणनीतिअनुसार हुन लागिरहेको निर्वाचनमा अर्यालले एकलौटीरुपमा प्रहरीको कमान्ड सम्हाल्ने सौभाग्य प्राप्त गर्नुभएको छ । एमाओवादीप्रति नरम मानिनुहुने प्रहरी महानिरीक्षक कुबेरसिंह राना सोमबारै प्रहरी आवास खाली गरेर घर फर्किइसक्नुभएको छ । रानासँगै ६ जना एआइजीहरुले विदा पाएका छन् । यो अवस्थामा चुनाव हुनुभन्दा केही दिन अघिमात्रै प्रहरीको कमान्ड सम्हाल्न पुग्नुभएका अर्यालले एमाओवादीलाई साइजमा ल्याउने र नेपाली कांग्रेसलाई ठूलो दल बनाउने वातावरण बनाउन सक्ने त्रास वामपन्थी नेताहरुमा देखिएको छ ।

क्याविनेटको तुष

यसैसाता अर्याललाई डीआइजीबाट एआइजीमा बढुवा गर्न बसेको क्याबिनेट बैठकमा अर्यालको साटो ज्येष्ठताका आधारमा पार्वती थापालाई एआइजी बनाउनुपर्छ भनेर लविङ गर्ने दुईजना मन्त्रीहरु थिए । स्रोतका अनुसार थापाको पक्षमा त्यसरी लविङ गर्ने मन्त्रीहरुमा ऋद्धिबावा प्रधान र रामकुमार श्रेष्ठ हुनुहुन्थ्यो । अर्यालको विपक्षमा एमाओवादी समर्थित मन्त्रीहरुले लविङ गरेको तुष निर्वाचनमा देखियो भने त्यसले वामपन्थीहरुलाई घाटा लगाउन सक्ने एकथरिमा त्रास देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment