१४ साउन, रौतहट/पर्सा । रौतहटको मौलापुर नगरपालिका–९, सोनरनियाका २५ वर्षीय तेजा मुखिया बिन आलीमा टुक्रुक्क बसेर धान खेतमा नजरमा लगाइरहेका छन् ।
१० दिनअघि जसोतसो रोपाइँ गरेको खेतमा चिरा परेको छ । बिउ पहेंलिन थालेको छ । यस्तोमा उनलाई टन्टलापुर घामभन्दा बढी फसलको चिन्ताले पोलिरहेको छ ।
‘सब सुखा परबा, पानी न परेत उपर से (सबै सुक्खा भएको छ, पानी माथिबाट परेको छैन)’, भोजपुरी भाषामा बोल्दै उनले दु:ख सुनाए, ‘पानी न परेत उपर से, फसल का होइ अब ? (माथिबाट पानी परेन भने यसपालि उब्जनी के हुन्छ ?)’
कृषि कर्मबाट हुने उब्जनीले परिवार चलाउँदै आएका उनलाई यसपालि संकट आउँदै गरेको भान हुन थालेको छ । ‘कम्तीमा यहाँ बिजुली भएको भए पम्पबाट पानी हाल्न हुन्थ्यो, बोरिङको पनि सुविधा छैन’, उनी भन्छन्, ‘पहिले पहिले पानी पर्थ्यो, सुक्खा हुन्थेन । यो पालि पानी पर्दैन परेन ।’
सामाजिक सञ्जालमा मधेशमा पानी पर्छ भन्दै गरिएका मौसम पूर्वानुमान उनले सुनेका थिए । त्यसैले सोचेका थिए, एक/दुई दिनमा कसो वर्षात नहोला ? तर, अहिलेसम्म पानी परेको छैन । एकदिन अपरान्ह सिमसिमे पानी त पर्यो, तर जमिन भिजाउन पनि पर्याप्त भएन ।
‘यस्तै हो भने यसपालि के खाने ?’, उनी प्रश्न गर्छन्, ‘चुनावका बेला नेताहरू आउँथे, बिजुली जाडिदिन्छु भन्थे, पोल राखिदिन्छु भन्थे । अहिले अप्ठ्यारोमा कोही छैनन् ।’
स्थानीय २७ वर्षीय बृजकिशोर शाह भने अझै कम्तीमा १०/१२ कठ्ठा जमिन बाँझै रहेको बताउँछन् । विगतमा असार अन्तिमसम्ममा सबैतिर रोपाइँ भइसक्थ्यो । तर, साउनको दोस्रो साता सकिइसक्दा समेत रौतहट जिल्लाभर यसपालि ७० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्रप्रसाद कुर्मीका अनुसार, सतही र भूमिगत सिचाइँका भरमा ती क्षेत्रमा रोपाइ भए पनि बिजुली लगायतका समस्याका कारण कृषकले पर्याप्त पानी लगाउन सकेको छैनन् । पानी नहुँदा गोड्ने र मल हाल्ने काम समेत गर्न नसकिएको कृषकहरू बताउँछन् ।
‘दुई हप्ताअघि रोपाइँ गरेको ठाउँमा मल हाल्ने बेला भएको छ, तर पानी नभएका कारणले हाल्न सक्ने स्थिति छैन’, बृजकिशोर शाह भन्छ्न्, ‘यो स्थितिमा मल हाल्दा झन् सबै जल्छ, रोपाइँ भएको पनि बच्दैन ।’
पहेँलिएको धानमा हालै १० हजार रुपैयाँ खर्चिएर औषधि हाले पनि व्यर्थ भएको उनी बताउँछन् ।
‘नजिकमा पहिले बोरिङ थियो, तर यसपालि पानी नै आएन । डेढ सय मिटरसम्म जाँच्यौं, केही उपाय लागेन’, उनी भन्छन्, ‘यसपालि खर्च पनि नउठ्ने स्थिति छ ।’
खर्चको अनुपातमा अरूबेला पनि धानको न्यूनतम मूल्य अनुसार किसानलाई त्यति धेरै फाइदा हुँदैन । ‘यसपटक झन् ऋण थपिने भयो’, उनी दु:ख पोख्छन्, ‘प्रदेशले सुक्खाग्रस्त घोषणा गरेको छ, तर न अहिलेसम्म राहतको केही कुरा सुनिएको छ, न कसैले पानीको व्यवस्था गर्छु भनेका छन् ।’
ऋण बोकाउने चिन्ता
पर्साको वीरगञ्ज लगायतका क्षेत्रको तुलानामा रौतहटमा खानेपानीको त्यति समस्या छैन । तर, खेतीका लागि पानी अभाव हुँदा वर्षभरिलाई असर पर्ने स्थिति बनेको छ ।
‘एउटा सिजनमा धान नफल्नु भनेको किसानलाई दुई/तीन वर्षसम्म असर गर्ने कुरा हो’, देवाही गोनाही नगरपालिका–५, रौतहटका पूर्ववडाध्यक्ष अत्यानन्द उपाध्याय भन्छन्, ‘वर्षभरिलाई खान अन्नको अभाव एकातिर छँदैछ, ऋण समेत थपिन्छ ।’
उनका अनुसार, किसानका खेत माथिबाट ११ हजार भोल्टको लाइन गएको छ । तर, त्यसको मुनि सिचाइँका लागि विद्युत्को व्यवस्था छैन । ‘हेर्नुस् सडकको दायाँबायाँ दुवैतर्फ ११ हजार भोल्टको लाइन जडान भएको पोल छ, तर यसमै दुई फेज विद्युतीकरण गर्न सरकारले सकेको छैन’, उनी भन्छन्, ‘पहिले पोल राखिदिए पो बोरिङको कुरा आउँथ्यो ।’
बिजुलीको व्यवस्थापन नहुँदा कति किसानले पानी त लगाइरहेका छन्, तर त्यो एकदमै खर्चिलो छ । कतिपय ठाउँमा त्यही पनि पानी आएको छैन । ‘कमसेकम तारपोलको व्यवस्था भए किसानलाई खेती गर्न सहज हुन्थ्यो’, उनी भन्छन् ।
सोनरनियाका ५२ वर्षीय कृषक रामनरेश यादव प्रतिघन्टा ३ सय रुपैयाँ बुझाएर पानी हाल्दा कुनै फाइदा नहुने बताउँछन् । केहीबेरमै सुकिहाल्ने हुनाले त्यसको त्यति प्रभाव नपरेको उनको भनाइ छ ।
‘हुन त यो प्रभु शाहको क्षेत्र हो, उहाँको श्रीमती मेयर पनि हुनुहुन्छ । तर, यहाँ पानी छैन’, उनी थप्छन्, ‘आकाशको पानी नपर्दा रोपाइँ भएको ठाउँमा पनि ट्याक्टर चलाउनुपर्ने स्थिति छ ।’
कतिपय ठाउँमा जमिन फाटेर धान समेत पूरै पहेँलिएकाले कारण किसानले त्यत्तिकै छाड्ने तयारी गरेका छन् ।
‘मैले डेढ विगाहा खेतमा धान लगाएको थिएँ, १० कठ्ठा अझै बाँझै छ’, शिवनारायण शाह भन्छन्, ‘रोपेको धानमा एकातिर सिँचाइ गरिसक्दा अर्कोतिर सुक्खा हुन्छ ।’
उत्पादन घट्ने अनुमान
पर्सामा चाहिँ वर्षेनी ३९ हजार ७३१ हेक्टरमा धान रोपाइँ हुने गरेको छ । हालसम्म ३२ हजार ७९ हेक्टरमा मात्र रोपाइँ भएको कृषि ज्ञानकेन्द्र पर्साका प्रमुख रामजीवन ठाकुर बताउँछन् ।
‘गण्डक नहर, स्यालो र डिप ट्युबवेल धान रोपाइँ भयो, यद्यपि अझै रोपिएको धान जोगाउन सकस छ’, उनी भन्छन्, ‘स्यालो ट्युबवेलबाट थोरै पानी आउँछ, विद्युत्को समस्या पनि छँदैछ ।’
अहिलेकै जस्तो सुक्खा स्थिति कायम रहे पर्सामा एक तिहाइ धान उत्पादन घट्ने ठाकुरको अनुमान छ ।
माछापालक भन्छन्– दुई घन्टा बिजुली गए उठ्नै नसक्नेगरी डुब्छु
रौतहटको किसान बिगु मुखिया बिनको दु:ख चाहिँ अरु किसानभन्दा अलि फरक छ । उनले गत वर्ष मात्र सोनरनियामा दुई बिगाहाको पोखरी ठेक्कामा लिएर माछापालन थालेका थिए ।
‘वार्षिक १ लाख ६६ हजार रुपैयाँ बुझाउने गरी सम्झौता भएको थियो, तर पोखरी पूरै सुकेको छ’, उनले सुनाए, ‘पम्पबाट पनि खासै पानी आएको छैन, ५ लाख खर्चेर राखेको माछाको भुरा सबै जोखिममा छ ।’
उनले लिएको पोखरीसम्म बिजुली आइपुगेको छ, तर राम्रो भोल्टेज छैन । ‘अहिले एक छेउमा पानी थुनेर माछा जोगाइरहेको छु’, उनी भन्छन्, ‘दुई घन्टाजति विजुली गयो भने सबै एकैपटक मर्छन् ।’
साहुले .पैसा नछाडे आफू उठ्नै नसक्ने गरी डुब्ने उनी बताउँछन् । ‘मेरो मात्र होइन, सबै किसानको उस्तै पीडा छ, के गर्ने सोच्नै सकेको छैन’, उनी भन्छन् ।
तस्वीर/भिडियो : कृष्ण कुशवाह
प्रतिक्रिया 4