८ मंसिर काठमाडौं । संविधानसभामा शीर्ष नेताहरु छुट्न नहुने बताउँदै आउनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सिरहा ५ नं क्षेत्रबाट विजयी बन्नुभएको छ । साथै फोरम नेपालका उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि दोस्रो संविधानसभामा नछुट्ने हुनुभएको छ । गच्छदार र यादव दुवैले मोरङमा पराजय व्यहोरे पनि सुनसरीबाट सभासद बन्न सफल हुनुभएको हो ।
एमाओवादी अध्यक्ष प्रचण्डले काठमाडौं १० बाट जित्न नसके पनि सिरहा ५ बाट कुल १५ हजार २ सय ४४ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्दी लीलानाथ श्रेष्ठलाई पराजित गर्नुभएको हो । श्रेष्ठको मत १४ हजार ३ सय २३ मत आएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभामा शीर्ष नेताहरु छुट्न नहुने बताउँदै आउनुभएको थियो । उहाँले भने अनुसार नै दोस्रो संविधानसभामा प्रमुख दलका नेताहरु प्रायः सबैको सहभागिता हुने देखिएको छ । कांग्रेसका सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतका सबै नेताहरुले जित्नुभएको छ ।
त्यसैगरी एमाले नेता झलनाथ खनाल, माधव नेपाल, केपी ओली र वामदेव गौतम पनि यसपालि संविधानसभामा छुट्नु भएन । उपाध्यक्ष विद्या भण्डारी समानुपातिकको सूचिमा हुनहुन्छ । एमाले सचिव विष्णु पौडेलले जित्नुभएको छ । तर, सचिव शंकर पोखरेल र शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका चर्चित नेता प्रदीप ज्ञवाली दाङ र गल्मीमा पराजित भएपछि संविधानसभामा छुट्नुभएको छ ।
एमाआवादीका प्रचण्ड, बाबुराम र कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल लगायतका नेताहरु संविधानसभामा नछुटे पनि बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ मकवानपुरबाट पराजीत भई संविधानसभामा छुट्नुभएको छ । त्यसैगरी एमाओवादी नेता अमिक शेरचन, पोष्टबहादुर बोगटी, हिसिला यमी, वर्षमान पुन, गोपाल किराती, देवेन्द्र पौडेल, लीलामणि पोखरेल लगायतका नेताहरु संविधानसभामा छुट्नुभएको छ ।
मधेसी दलका अध्यक्ष नै पराजित
संविधानसभाको दोस्रो निर्वाचनमा मधेशी तीन दलसहित ठूला दुई दलका अध्यक्षहरु एक-एक स्थानबाट पराजित भएका छन् । पराजित हुनेमा एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार रहनुभएको छ । उहाँहरु दुई सीटमा उठेकाले संविधानसभामा छुट्नु भएन । तर एक स्थानबाट उठेर चुनाव हार्नेमा पाँच दलका अध्यक्षहरु समेत परेका छन् ।
संघीय सद्भावनाका अध्यक्ष अनिल झाले चुनाव हार्नुभएको छ । झा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग रौतहट १ वाट पराजित हुनुभएको हो । तमलोपाका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता हृदयेश त्रिपाठी पनि यसपालि संविधानसभामा छुट्नुभएको छ । ठाकुर सर्लाहीबाट र त्रिपाठी नवलपरासीबाट पराजित हुनुभएको हो । त्यसैगरी सद्भावनाका अध्यक्ष राजेन्द्र महतो पनि अहिलेसम्मको नतिजा हेर्दा सर्लाही ४ मा हार्ने सम्भावना बढेको छ ।
प्रतिक्रिया 4