Comments Add Comment

चाऊचाऊ उद्योगमा आन्दोलन, रारा र आहाको उत्पादन प्रभावित

३१ भदौ, पोखरा । नेपालकै पहिलो चाउचाउ उत्पादक कम्पनी हिमश्री फुड्स, पोखराका मजदुरहरु आन्दोलनमा उत्रँदा चाउचाउको उत्पादन बन्द भएको छ । हिमश्रीले रारा आहा र ओहो लगायतका ९ प्रकारका चाउचाउ उत्पादन गर्दै आएको थियो ।

त्यहाँ कार्यरत मजदुरले दशैंअघि नै तलब बृद्धि र बोनस वितरण गरिनुपर्ने माग गर्दै अतिरिक्त काम गर्न बन्द गरेपछि कम्पनीबाट रारासहितका अन्य चाउचाउको अतिरिक्त उत्पादन बन्द भएको हो । कम्पनीमा कार्यरत करिब एक हजार मजदुरले ०७० साल व्यवस्थापनसँग भएको सहमति अनुसार दशैंअघि नै बोनस वितरण र तलब बढाउन माग गर्दै काम नगरेपछि कम्पनीले ४ घण्टाको अतिरिक्त उत्पादन बन्द गरेको हो ।

रारा, आहा र ओहोसहितका ९ प्रकारका खाद्यपदार्थ उत्पादन गर्दै आएको कम्पनीमा अतिरिक्त उत्पादन बन्द हुँदा दैनिक एक करोड बढी नोक्सानी भइरहेको व्यवस्थापन पक्षले जनाएको छ ।

माओवादीनिकट मजदुर संगठनको अगुवाइमा भएको आन्दोलनपछि कम्पनीका महाप्रबन्धक पशुपति गुप्ताले राजीनामा दिइसकेका छन् । गुप्ताले राजीनामा दिएपछि कम्पनीको निमित्ति महाप्रबन्धको जिम्मेवारी प्रशासन प्रमुख हेमराज खड्कालाई दिइएको छ ।

आफ्ना माग पूरा गराउन दबाब दिन भन्दै व्यवस्थापनसम्म पुगेका केही मजदुरहरुले निर्देशक प्रकाश केसी र निमित्ति महाप्रबन्धक खड्कामाथि शुक्रबार हातपातको प्रयास समेत गरेका थिए । मजदुर आन्दोलनको अगुवाइ गरिरहेका अखिल नेपाल अग्रगामी मजदुर संघ हिमश्री फुड्स इकाईका अध्यक्ष पदम कुँवरले भने ०७० सालमा कम्पनीले मजदुरसँग गरेका सम्झौता कार्यान्वयन गर्न ढिलाई गरेकाले व्यवस्थापनलाई दबाब दिइएको बताए ।

‘हामीले विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म काम गरिरहेका छौं, अतिरिक्त काम भने बन्द छ’, अध्यक्ष कुँवरले भने, ‘दशैंअघि नै हाम्रा माग पूरा हुनुपर्छ, दशैं जस्तो चाडमा पनि हामीलाई सुविधा दिइएन भने हामी कडारुपमा प्रस्तुत हुन बाध्य हुन्छौं, अतिरिक्त काम नगरिएको अहिलेको आन्दोलन प्रतिकात्मक मात्र हो, माग पूरा नगरेर अझ कडारुपमा प्रस्तुत हुन्छौं ।’

कम्पनी व्यवस्थापनले भने तलब बृद्दि र बोनस वितरण दुबै काम पुससम्म गरिसक्ने बताउँदै आएको छ । कम्पनीका निमित्त महाप्रबन्धक खड्काले भने अतिरिक्त उत्पादन बन्द भएको बताउँदै कम्पनीको मामिलामा आफू कुनै कुरा नबोल्ने बताए ।

मजदुरले काम बन्द गरेपछि दैनिक १२ घण्टा चलिरहेको कारखाना हाल ८ घण्टामात्र सञ्चालित हुँदै आएको छ । मजदुरहरुले भने ०६८ र ०७० सालमा भएका सहमति कार्यान्वय गर्नबाट कम्पनी पछि हटिरहेको आरोप लगाएका छन् । ‘हाम्रो थप माग केही छैन, पुराना सहमति कार्यान्वयन हुनुपर्छ । मजदुरलाई दिने भनिएका सुविधा दिनुपर्छ’, अध्यक्ष कुवँरले भने, ‘व्यवस्थापन पुराना सहमति कार्यान्वयन गर्न तयार भए १४ गतेबाट बन्द भएको ४ घण्टा अतिरिक्त उत्पादन पुनः सुचारु हुन्छ, हामी अवरोध गर्दैनौं ।’

केसी समूहको लगानी रहेको हिमश्री फुड्मा यसअघि ०६८ सालमा पनि विभिन्न माग राख्दै मजदुरहरुले १९ दिनसम्म आन्दोलन गरेर कम्पनीको उत्पादन ठप्प पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment