+
+
Shares

एमाले महाधिवेशन प्रतिनिधिमा नेपाल-ओली तीब्र प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ११ गते १२:०८

११ असार, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको निर्वाचन लगभग सकिएको छ । केही जिल्लामा विवाद र केहीमा उपनिर्वाचनका कारण रोकिएको बाहेक करीव १६ सय प्रतिनिधि चुनिएको एमालेले जनाएको छ । केही जिल्लाको मतपरिणाम आइसकेको छैन ।

मंगलवारको निर्वाचन परिणाम समेत आइसक्दा देशैभरि माधव नेपाल र केपी ओली पक्षबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । कतिपय क्षेत्रमा नेपालले नसोचेको अग्रता लिएका छन् भने केही ठाउमा ओलीले ‘स्वीप आउट’ गरेका छन् । दुवै पक्षले आफ्नो बहुमत दावी गरे पनि केही प्रतिनिधी कतै नखुलेकाहरु छन् ।

बामगतीमा नेपालको अग्रता

बुधवार निर्वाचन सकिएका बागमति अन्चल कमिटी अन्तर्गतका ७ ओटा जिल्लामध्ये माधव नेपाल पक्षले तीन जिल्लामा अग्रता लिएको छ भने केपी ओली पक्षले चार जिल्लामा अग्रता लिएको छ । तर प्रतिनिधि संख्याको हिसाबले बागमति अन्चलबाट नेपाल पक्ष अगाडि देखिएको छ ।

सिन्धुपाल्चोक जिल्लाबाट १९ जना प्रतिनिधि निर्वाचित भएकामा १८ जना नेपाल पक्षमा उभिएपछि समग्र बागमती अन्चलको परिणामलाई असर पारेको एमाले स्रोतले जनाएको छ । त्यस्तै दोलखामा बुधवार विहान सकिएको मतगणना अनुसार नेपाल पक्षका १५ र ओली पक्षका ८ प्रतिनिधि निर्वाचित भएका छन् ।

रामेछापबाट ओली पक्षका ११ र नेपाल पक्षका ६ जना प्रतिनिधि चयन भएका छन् । एमालेले रामेछाप र दोलखालाई पनि बागमतिमा राखेको छ । यसअघिनै निर्वाचन भएका धादिङका ओली पक्षका १४ र नेपाल पक्षका ११ प्रतिनिधि आएका छन् । रसुवामा ओली पक्षका ४ र नेपाल पक्षका ३ प्रतिनिधि चयन भएका छन् । काभ्रेबाट ओली  पक्षका १८ र नेपाल पक्षका ८ निर्वाचित भएका छन् ।

नुवाकोटबाट नेपाल पक्षका ७ र ओली पक्षका ६ प्रतिनिधि चयन भएका छन् । तर नुवाकोट क्षेत्र नम्बर २ बान निर्वाचित भएका ओली पक्षका दुई जना प्रतिनिधि बद्री मैनाली र बिन्दा ढुंगानाको नाम खारेज हुने केन्द्रीय सदस्य योगेश भट्टराईले बताएका छन् । ।संविधानसभा निर्वाचनमा अन्तर्घाताको आरोपमा कारवाहीमा परेका मैनाली र ढुंगानाले बिधान विपरित बलजफ्ती प्रतिनिधि बनेको आरोप लागेको छ । यसैबीच सिन्धुली जिल्लाबाट १७ जना नेपाल पक्षका र ३ जना मात्र ओली पक्षका निर्वाचित भएका छन् ।

उपत्यकामा ओली अगाडि

उपत्यकाका तीन जिल्लामध्ये ललितपूरमा माधव नेपाल पक्षले अग्रता लिएको छ भने काठमाडौं र भक्तपूरमा ओली पक्ष अगाडि देखिएको छ । काठमाडौं क्षेत्र नम्बर १ बाट चारैजना प्रनिनिधि ओली पक्षका आएका छन् । २ मा विहीवार निर्वाचन हुनेछ भने ३ बाट ओली पक्षलाई धक्का लागेको छ । जिल्ला उपाध्यक्ष कृष्ण राई समेत हारेको सो क्षेत्रबाट नेपाल पक्षका ३ र ओली पक्षका एकजना मात्र प्रतिनिधि आएका छन् ।

क्षेत्र नम्बर ४ बाट सहमतिमा आएका जिल्ला उध्यक्ष निर्मल कुइकेल सहित चारैजना ओली पक्षका दावी गरिएको छ भने महासचिव इश्वर पोखरेलको क्षेत्र ५ नम्बरबाट पनि चारैजना ओली पक्षमा आएका छन् । योगेश भट्टराईको क्षेत्र ६ बाट ३ नेपाल पक्षधर र एकजना ओली पक्षका निर्वाचित भएका छन् भने सात बाट पनि ३ जना नेपाल पक्षधर एकजना सभासद रामवीर महानन्धर ओली पक्षका निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ८ बाट एक एक जना प्रतिनिधि बाँडिएका छन् भने ९ बाट सहमतिमा माधव नेपालका ४ र ओलीका ५ प्रतिनिधि चयन भएका छन् । क्षेत्र नम्बर १० बाट भने तीनैजना प्रतिनिधि नेपाल पक्षका निर्वाचित भएका छन् । समग्रमा काठमाडौंबाट ओली पक्षधर प्रतिनिधि २१ जना निर्वाचित भएका छन् भने नेपाल पक्षका १७ जना निर्वाचित भएका छन् ।

ललितपूरबाट ९ जना माधव नेपाल पक्षका प्रतिनिधि निर्वाचित भएका छन् भने ओली पक्षका ३ जना मात्र निर्वाचित भएका छन् । त्यसको ठिक उल्टो भएको छ भक्तपूरमा । भक्तपूरमा ओली पक्षका ९ जना र नेपाल पक्षका ३ जना प्रतिनिधि निर्वाचित भएका छन् । भक्तपूर युवासंघका अध्यक्ष महेश बस्नेतको प्रभावमा छ ।

पेशागतमा ओली स्वीपआउट

यता पेशागत विशेष जिल्ला कमिटीबाट भने २७ मा सबै प्रतिनिधि नेपाल पक्षका निर्वाचित भएका छन् । प्यानल बनाएर चुनाव लडेकामा ओली पक्षका सबै उम्मेदवार पराजित भएका छन् । पेशागत महासंघबाट २९ मध्ये २५ जना नेपाल पक्षका र ४ जना ओली पक्षका आएको नेपाल पक्षको दावी छ । विद्यार्थी विशेष जिल्ला कमिटीबाट ओली पक्षका माधव ढुंगेल र नेपाल पक्षकी रामकुमारी झाँक्री निर्वाचित भएका छन् ।

भातृ संगठनमा ओली अगाडि

अनेरास्ववियुबाट ३ जना नेपाल पक्षका र २ जना ओली पक्षका निर्वाचित भएका छन् । यद्यपी महासचिव नविना लामालाई दुवै पक्षले आफ्नो दावी गरेका छन् । उनले आफू सहमतिको पक्षमा रहेको बताइन् । युवा संघबाट यसअघिनै अध्यक्ष महेश बस्नेत सहित ४ जना ओली पक्षका र एकजना नेपाल पक्षका चयन भइसकेका छन् ।

त्यस्तै मजदूर विशेष जिल्लाक कमिटीबाट ४ जना माधव नेपालका र ५ जना ओली पक्षका प्रतिनिधि निर्वाचित भएका छन् भने महिला संघबाट सबै पाँच प्रतिनिधि ओली पक्षका चयन भएका छन् । बामदेव गौतम नेतृत्वको किसान महासंघबाट सबै २३ जना प्रतिनिधिमा सबै ओली पक्षका आएको दावी गरिएको छ ।

त्यस्तै पृथ्वीसुब्बा गुरुङ नेतृत्वको आदिवासी जनजाति महासंघबाट ३० मध्ये २२ जना ओली पक्षका र ८जना नेपाल पक्षका निर्वाचित भएका छन् । ट्रेड युनियन महासंघबाट २० मा प्रायः सबै प्रतिनिधि ओली पक्षका आएका छन् भने खेलकुद महासंघबाट १६ मा सबै प्रतिनिधि नेपाल पक्षका आएको दावी नेपाल पक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?