Comments Add Comment

नीतिगत सुधार गरी राष्ट्रिय उद्योगलाई प्रोत्साहन गरिने

१६ असार, काठमाडौं । मुलुकमा रहेका रुग्ण उद्योगहरु पुनः सञ्चालन र पुनव्र्यवस्थापनका लागि सरकारले जोड दिने भएको छ । सरकारले आवश्यक नीतिगत व्यवस्था गरेर यस्ता उद्योगहरुको व्यवस्थापन गर्ने भएको हो ।

Industryआइतबार सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रममा रुग्ण उद्योग तथा सार्वजनिक संस्थानहरुको उचित व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

सरकारले आवश्यक कानुनी, नीतिगत र खरिद प्रकृयामा सुधार गरि निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत कर्मचारी र विद्यार्थीहरुले प्रयोग गर्ने कपडाका लागि राष्ट्रिय उद्योगलाई प्रोत्साहन गरिने छ ।

निर्यातमूलक उद्योगहरुको स्थापना र प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी नयाँ ऐन तत्काल ल्याउने सरकारले बताएको छ । भैरहवामा स्थापित सेजलाई यथाशिघ्र सञ्चालनमा ल्याउने बताइएको छ ।

त्यसैगरि, निर्यातयोग्य वस्तुहरुको उत्पादन वृद्धि, गुणस्तरमा सुधार, प्रयोगशाला परीक्षण र प्रमाणीकरणमा किसान र उत्पादकलाई आवश्यक सहयोग पुर्‍याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । निर्माणाधिन सुख्खा बन्दरगाहहरुको निर्माणलाई तीव्रता दिँदै अन्य सम्भाव्य स्थानहरुमा सुख्खा बन्दरगाह निर्माण गर्ने काम पनि हुने भएको छ ।

सरकारले विदेशी लगानी भित्राउने प्रकृयालाई सरल र सहज बनाउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा समसामयिक संसोधन गर्ने जनाएको छ । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने उद्योगहरु स्थापनामा जोड दिएर व्यापार घाटा न्यूनीकरण गरिने भएको छ ।

खनिज पदार्थको व्यवसायीक उत्पादन गर्ने नीति आवलम्वन गर्नुका साथै बहुमूल्य रत्न (जेम्स-स्टोन)को व्यवसायीक प्रशोधनलाई प्रोत्साहन गरिने र सिमेन्ट उद्योगका लागि स्वदेशमै क्लिङ्कर उत्पादनलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment