Comments Add Comment

कांग्रेसका मन्त्रीहरु पञ्च बनेको सिंहदरवार बैठकमा गुनासो

१६ असार, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभासदहरुले पार्टीका मन्त्रीहरु पञ्चायती शैलीमा चलेको आरोप लगाएका छन् ।

कार्यवाहक सभापति रामचन्द्र पौडेलले बोलाएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभासदहरुले सरकारको नीति तथा कार्यक्रम र मन्त्रीहरुको काम कारवाहीको आलोचना गरेका छन् । ‘पञ्चायतकालमा मन्त्रीहरु आफूलाई जे मन लाग्यो त्यही गर्थे, अहिले हाम्रा मन्त्रीहरु पनि त्यस्तै भएका छन् भनेर बैठकमा आलोचना भएको छ’ कांग्रेस सभासद मदन अमात्यले अनलाइनखबरसँग भने ।

अर्थमन्त्री डा. रामशरण महत, स्थानीयविकासमन्त्री प्रकाशमान सिंहलगायतका मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र विकासका कार्यक्रम लगेको र पार्टीका सभासदहलाई नसुनेको जस्ता आरोप लगाएका छन् । ‘मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रमुखी भएको भनेर आलोचना भएको छ’ अर्का सभासद जगदीशनरसिंह केसीले भने ।

सरकारको नीति तथा कार्यक्रमको आलोचना

बैठकमा सभासद एवं केन्द्रीय सदस्यहरुले सरकारको नीति तथा कार्यक्रम कांग्रेसको जस्तो नदेखिएको बताए । नीति तथा कार्यक्रमले ऊर्जासम्बन्धी राष्ट्रिय प्राथमिकताका योजनालाई समेट्न नसकेको, वीपी, गशेणमानका नाममा सञ्चालित कार्यक्रमहरुलाई समावेश नभएको भन्दै आलोचना गरेका छन् ।

बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले प्राथमिकतामा परेका ठूला योजनामा लगानीकर्तालाई जानकारी हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको सञ्चारकर्मीहरुलाई बताएका छन् ।

नीति तथा कार्यक्रम ल्याउनुअघि गर्नुपर्ने छलफल नीति कार्यक्रम आइसकेपछि मात्र गरिएको भन्दै सभासदहरुले परिर्माजनको समेत माग गरेका छन् । बैठकमा बोल्ने क्रम नसकिएकाले मंगलबार पनि बैठक बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment