Comments Add Comment

फोहोरबाट विजुली नारामै सीमित

dirty

१७ असार काठमाडौं । विगत लामो समयदेखि काठमाडौ उपत्यका लगायतका शहरको फोहोरबाट विद्युत उत्पादन गर्ने सरकारी घोषणा भएपनि हालसम्म ठोस कार्य भने अघि बढ्न सकेको छैन ।

यद्यपि सरकारले आर्थिक वर्ष २०७१/०७२ मा काठमाडौं उपत्यका र अन्य शहरहरुको फोहोरबाट विद्युत उत्पादन सुरु गर्ने बताएको छ । राष्ट्रपति डा. रामवरण यादवले दुईदिन अघि संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी वर्ष फोहोरबाट विद्युत उत्पादन गर्ने उल्लेख छ ।

तर, विज्ञहरुले भने यो तत्काल संभव नभएको बताउँछन । विगतमा बोलपत्र आहृवान भएको तर त्यसको नतिजा ननिस्किएकाले लगानी गर्न इच्छुक मम्पनीहरु फर्किएको उनीहरुको भनाई छ । पूर्वमूख्य सचिव बिमल कोइरालाले फोहोरबाट विद्युत निकाल्नु राम्रो भएपनि यो आगामी वर्ष नै संभव नहुने बताउँछन् ।

‘फोहोरबाट विद्युत निकाल्ने भाषणमात्रै दिएर हुन्न, तदारुकता पनि देखाउनु पर्छ’ कोइरालाले अनर्लानखबरसँग भने -‘विगतमा पनि धेरै प्रयास भए तर, सम्बन्धित मन्त्रालयले चासो नदेखाउँदा परियोजनाले गति लिन सकेन । २०५० सालमा तत्कालीन अर्थमन्त्री महेश आचार्यले फोहोरबाट विद्युत उत्पादन गर्ने योजना सार्वजानिक गरेको उनले बताए ।

 त्यसो त काठमाडौं उपत्यकाको फोहोरबाट विद्युत उत्पादन गर्न एक अमेरीकी कम्पनीले निकै चासो देखाएको थियो । उसले काठमाडौं उपत्यकाको फोहोबाट ४० मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो ।

विदेशी कम्पनीहरुले चासो देखाएपछि पाँच वर्षअघि स्थानीय विकास मन्त्रालयले बोलपत्र आहृवान गरेको थियो । जसमा १८ कम्पनीले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये चार कम्पनी जर्मनका थिए । तर, कमिसनमा कुरा नमिलेपछि स्थानीय विकास मन्त्रालयले बोलपत्रको नतिजा नै सार्वजानिक गरेन । ‘कमिसनमा नमिलेको भन्ने ठूलै हल्ला चल्यो’ पूर्वमूख्य सचिव कोइराला भन्छन् ।

पूर्वअर्थसचिव रामेश्वर खनाल शहरी क्षेत्रमा उत्पन्न हुने फोहारबाट विद्युत् निकाल्न सके फोहारको सही व्यवस्थापन र लोडसेडिङ न्यूनिकरणमा सहयोग पुग्ने बताउँछन् । ‘आज शहरबासीले फोहोर फालेबापत मासिक पैसा तिर्दै आएका छन्’ खनालले भने -फोहोरबाट विद्युत निकाल्ने हो भने शहरबासीले फोहोर बिक्री गरी आम्दानी गर्छन ।

तर, सरकारले शहरका प्रत्येक घरमा ‘सेफ्टी ट्यांक’ राख्ने घोषण गर्नु र फोहोर बाट विद्युत उत्पादन गर्छु भन्नु विरोधाभासपूर्ण भएको खनालले बताए । ‘सरकारले फोहारबाट साँच्चै विद्युत निकाल्ने हो भने शहरका घरमा सेफ्टी ट्यांक राख्नु हुँदैन’ खनालले भने । हालसम्म सरकारले गंभिर भएर यो परियोजना अघि नबढाएको उनले बताए । ‘योपटक पनि सरकारले तयारी गरेरभन्दा विगतकै कार्यक्रमलाई नरिन्तरता दिएको मेरो विश्लेषण छ’ उनले भने -जनताले पत्याइहाल्ने आधार कमजोर छ ।

उर्जाविद ज्ञानेन्द्रलाल प्रधान फोहोरबाट विद्युत हावादारी कुरा भएको बताउँछन् । ‘अहिलेको आवश्यकता भनेको ठूला जलविद्युत परियोजना निर्माण गर्नु हो’ उनले भने -तर, सरकार यस्ता स-साना कार्यक्रममा अल्भिmएको छ । फोहोरबाट विद्युत निकालेर लोडसेडिङ न्यूनिकरण नहुने भन्दै तत्काल यस्तो परियोजना निर्माण गर्नु उपयुक्त नभएको प्रधानको तर्क छ । ‘फेरी सरकारले बनाउँछ नै भनेर पत्याउने आधार पनि छैन’ उनी भन्छन् -यो मिठो नारा मात्रै हो, तर कहिलेसम्म ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment