Comments Add Comment

दक्षप्रजापति जस्तो एमाले !

Saindra-Raiसइन्द्र राई

पार्टी जीवनको उतार-चढाबमा उचाइको उन्माद झल्काउँदै एमाले अहिले एउटा महासंग्राममा छ । नेपाली लोकका कर्णमा कर्कश पक्कै एमालेपनकै छ । इत्तर पार्टीको राजनीतिलाई मात्रै होइन, कलमी पेशाकर्मीले पनि विना मेहनत राम्रै खुराक पाइरहेका छन् । महाधिवशेनको सन्दर्भमा पुस्तकालयदेखि गुगलको संग्राहलयसम्म कौडीको भाऊमा एमाले नेतृत्वको गुणदोष संग्रहित हुने सुअवसर प्राप्त भइरहेको छ ।

घटनाक्रमहरुले सुशासनका अड्डाहरु, तिनका कर्मचारी र कानूनी दस्तावेजमाथि चुनौतिको पहाड उभिएको छ । तर, लोकमा अझै संशय छ, अब एमाले सफा हुँदैछ कि फोहोर ? कार्यकर्तावृत्तमा पार्टी चिन्ता छ, कतै पुरानै चोट बल्झिने  त होइन ? नेतृत्वमा उन्मादी चिन्ता छ, कतै ओझेलमा परिने त होइन ? चिन्ता दुबैमा छ । परोक्ष चिन्ता सबैतिर छ ।

सञ्चारजगतको चिन्ता आफ्नै छ । एकपक्षीय अभियोगबाट बच्न सन्तुलनको चिन्ताले पिरोलेको छ । प्रत्यासीमाथिको प्रहारलाई हुबहु दृश्यांकन गर्न आमसञ्चार सिद्धान्तले रोक्दाखेरि मिडियातिरै बषिर्ने वषर्ा थेग्ने छाता नै कमजोर बन्ने त्रास घटेको छैन । चुनावी मैदानमा सुनिएका शब्दहरुले आफ्नै कार्यकर्तालाई ग्लानी हुने स्थिति पैदा भइरहेको छ । इमान्दारिताको अन्तस्करणले अनुभूत गर्दैछ, कस्ता देवको भक्त बनिएछ ? यसलाई खण्डन गर्ने वातावरण रत्ति पनि बन्ने प्रयास समेत भएको छैन ।

एमालेमा अहिले विचारको बहस भइरहेको छैन, यो दस्तावेजमा थन्किसक्यो । एमालेमा अहिले आचरणको बहस भइरहेको छैन, यो संकीर्णताको भट्टीहरुले किनिसक्यो । एमालेमा अहिले समाजको पनि बहस भइरहेको छैन, यसलाई पदीय आशक्तिले तानिसक्यो । एमालेमा यो भइरहेको छ, जुन चाँहि नहुनुपर्ने थियो ।

एमालेमा अहिले श्रीपेचको बहस भइरहेको छ, श्रीपेचबाट सृङ्गारित हुने चिन्तनको होइन । संसारबाटै लोपोन्मुख हुन लागेको राजतन्त्र जस्तो संरचनात्मक अभ्यासको रणसंग्राम भइरहेको छ । जिजुबुबाबाट हजुरबुबा, हजुरवुबाबाट बुवा, बुवाबाट म, मबाट मेरो जेठा छोरा र एवम् रितले जेष्ठताका आधारमा श्रीपेचमाथि दाबी गरिँदैछ, जुन परम्परागत र अध्यात्मिक चिन्तनयुक्त राजनीति हो ।

यस्तो चिन्तन अस्वभाविक होइन । गतिशील समाज विज्ञानले यसलाई स्वभाविक र मानवीय गुण नै ठान्दछ । तर, हामी र २० औं शताब्दीपछिको माक्र्सवादी राजनीतिले यसलाई के भन्छ ? एमाले एउटा माक्र्सवादी पार्टी हो, यसको व्याख्या सम्बन्धित विज्ञहरुकै भागमा पारिदिऊँ । यति चाँहि भन्न सक्छौं, एमाले व्यक्तिको हुकुमले होइन सिद्धान्तले चल्छ । एमाले महासागर हो, त्यहाँ थोपाथोपाको सम्मिलन अनिवार्यता हो । व्यक्ति विषेशको अतिवादीताले यसको मूल प्रवाह हाँक्न सक्दैन । थोपाको सीमितताले विषको बोतल बन्दछ, औषधि नै बन्छ भन्ने आधार प्रमाणित गर्न सकिँदैन ।

त्यसर्थ, तुलनात्मक योग्य पार्टी एमालेमा हुनुपर्ने बहस विचारकै हो । बिचारले नै नेतृत्व गर्नुपर्ने हो । तर, अन्य पार्टी जस्तै एमाले पनि व्यक्तिभन्दा माथि उठ्न सकेको देखिएन । व्यक्तिवादी राजनीति राजतन्त्र हो, त्यहाँ एउटा राजाले शासन गर्दछ । जुन व्यवस्थालाई शान्तिपूर्ण जनक्रान्तिबाट अन्त्येष्टि गरिसक्यौं । आज सिद्धान्तले शासन गर्ने व्यवस्थाको महामार्गतिर लम्कदैछौं । जहाँका हरेक जनगण शक्तिशाली र समान हुन्छन्, विधिअनुसार जोकोहीले जिम्मेवारी लिन र पाउँन सक्छन् । त्यस्तो विधिका आधारमा गरिने शासन व्यवस्था गणतन्त्र हो । र हामी गणतन्त्र नेपालभित्रको कुरा गर्दैछौं ।

दुनियाँको इतिहासमा सँधै विचारले नेतृत्व गर्दै आएको छ । शक्तिशाली जनावरहरुलाई सँधै विचारले पराजित गरेर आजको मानव संसार निर्माण भएको छ । पुराना मानवीय जीवनशैली र चिन्तनलाई नयाँ विचारले पराजित गर्दै आएको छ । त्यो विचार र सिद्धान्त व्यक्तिबाटै जन्मन्छ । तर, जन्मिसकेपछि विचार व्यक्तिगत हुँदैन, सार्वजनिक हुन्छ । त्यहाँ व्यक्ति प्रधान हुँदैन, सिद्धान्त प्रधान हुन्छ । तर विषेश अवस्थामा सिद्धान्तलाई पूर्णता दिन विषेश व्यक्तिको आवश्यकता हुन्छ ।

फरक विचार राख्नेहरुले बन्दै गरेको विचारलाई पूर्णता दिन सक्दैन । विचार एउटा र नेतृत्व निर्माण अर्काे हुनै सक्दैन । नवौं महाधिवेशनको संघारमा रहेको एमालेले नेतृत्वमा पुग्नकै निम्ति विचारलाई आवरण बनाएको देखियो । त्यस्तो हुनुहुँदैनथ्यो । मूलतः जसको बिचारले जित्छ, उसले नेतृत्व गर्नुपथ्र्यो । माथि उल्लेख गरिसकें, सही विचारको जितले पराजित विचार बोक्नेहरुको पनि रक्षा गर्छ । यदी सामुहिकता र भागवन्डा पुर्‍याउने कुरो हो भने सहमति कायम गरिनुपथ्र्यो । जुन एमालेभित्र आजको आवश्यकता हो ।

समय अझै बाँकी छ । तर, यहाँ विचार एउटाको, नेतृत्वमा अर्कैलाई ल्याउँन खोजिँदैछ । त्यस्तो मूर्खता कम्तिमा आजको सचेत कल्पनाभित्र नभएको राम्रो हो ।

दक्षप्रजापति शिवपुराणको कल्पना हो, व्यवहारिक जीवनमा त्यो संभव छैन । आजको एमालेजनले सतीका निम्ति तम्तयार रहेर अश्रुयुक्त विनयबाट पुनजीवन पाएका पशु चेतयुक्त दक्षप्रजापति होइन, मानव चेतयुक्त दक्षप्रजापतिजस्तो पार्टी बनाएको राम्रो होला । यो खाली फुट र जुटको मात्रै कुरो होइन । विचारको बहसले कहिल्यै फुट आउँदैन । तर, त्यसलाई समग्रतामा अध्ययन गर्नुसक्नु यसको सर्त हो । विचारले फुट ल्याउँथ्यो भने आजको एकीकृत मानव विकास संभव हुने थिएन । बिचारको द्वन्द्वमा एउटा विचार सँधै पराजित हुन्छन् र समायान्तरमा निश्चित विचारतिर प्रवाहित भएर एउटा मूल प्रवाह बन्दछ । जुन मार्गले एकीकृत र शक्तिशाली शक्तिको निर्माण गर्छ ।

एमालेमा अहिले व्यक्तिवादी बहस भइरहेको छ । त्यस्तो चिन्तनको आयु लामो हुँदैन । निश्चित समयपछि सिसा झैं फुटेर विनाश हुने निश्चित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment