१८ असार, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेपछि नेपाल आयल निगमको मासिक घाटा ४ गुनाभन्दा बढीले बढ्ने प्रक्षेपण गरिएको छ ।
भारतीय आयल निगम (आइओसी)ले जुलाई १ तारिखमा पठाएको मुल्यसूची अनुसार निगमलाई यस महिना ५३ करोड १० लाख रुपैयाँ घाटा हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ बढेपछि आईओसीले पनि भाउ बढाएर पठाएको निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
आईओसीले जुन १६ तारिखमा पठाएको मूल्यसूची अनुसार निगमलाई मासिक १२ करोड ८८ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको थियो ।
प्रवक्ता घिमिरेका अनुसार यसअघि निगमलाई पेट्रोलमा १० रुपैयाँ २२ पैसा नाफा रहेकोमा नयाँ मूल्य आएपछि ६ रुपैयाँ ३६ पैसामात्र नाफा हुने भएको छ । त्यस्तै, डिजेलमा ४२ पैसा नाफा रहेकोमा अहिले ३ रुपैयाँ २८ पैसा घाटा बेहोर्नुपर्ने भएको छ ।
सबैभन्दा बढी घाटा खाना पकाउने एलपीजी ग्यासमा बढेको छ । पछिल्लो मूल्यसूचीअनुसार निगमलाई ग्यासमा ५ सय ८९ रुपैयाँ ८८ पैसा घाटा हुने छ । यसअघि निगमलाई ग्यासमा ५ सय ५९ रुपैयाँ ७३ पैसामात्र घाटा रहेको थियो । मट्टतिेलको भाउमा भने कुनै फेरवदल नभएको प्रवक्ता घिमिरेले अनलाइनखबरलाई बताए ।
नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा १२ करोड ७३ लाख रुपैयाँ नाफा हुने छ भने डिजेलमा २४ करोड ६० लाख रुपैयाँ नोक्सानी हुने भएको छ । त्यस्तै, मट्टतिेलमा ३ करोड ४१ लाख, हवाई इन्धन आन्तरिक उडानतर्फ ११ करोड ६४ लाख र अन्तर्राष्ट्रियतर्फ ३२ करोड २१ लाख रुपैयाँ नाफा हुने निगमको प्रक्षेपण छ । ग्यासमा सबैभन्दा बढी ८८ करोड ४८ लाख घाटा हुने देखिएको छ ।
निगमका अनुसार अहिले नेपालमा पेट्रोल मासिक २० हजार किलोलिटर, डिजेल ७५ हजार किलोलिटर, मट्टतिेल २ हजार ५ सय किलोलिटर, हवाई इन्धन १० हजार किलोलिटर खपत हुँदै आएको छ । ग्यास मासिक १५ लाख सिलिन्डर खपत हुँदै आएको निगमले जनाएको छ ।
प्रतिक्रिया 4