Comments Add Comment

मन्त्रीहरुलाई नयाँ गाडी किन्ने निर्णय

२३ असार, काठमाडौं । सभासदहरुले निर्वाचन क्षेत्रमा ५ करोड बजेट, भन्सार छुटमा गाडी र आवास मागिरहेका बेला मन्त्रीहरुले भने नयाँ गाडी मागेका छन् । पूराना गाडीले बाटैमा धोखा दिएको भन्दै मन्त्रीहरुले नयाँ गाडी मागेका हुन् ।
Mitsubishi-Pajero2

यो माग पछि सरकारले मन्त्रीहरुका लागि नयाँ गाडी खरिद गर्ने भएको छ । मन्त्रीहरुले चढ्दै आएका गाडी थोत्रा र कामै नलाग्ने भएपछि नयाँ गाडी खरिद गर्ने प्रक्रिया अघि बढेको हो । मन्त्रिपरिषदको पछिल्लो बैठकमा केही मन्त्रीहरुले गाडी बाटैमा बिगि्रएर दुःख पाइएको भन्दै गुनासो गरेपछि नयाँ गाडी खरिदका लागि सम्बद्ध निकायसँग समन्वय गर्ने निर्णय भएको छ ।

गृहमन्त्रालयले सबै मन्त्रालयमा कालो रंगको कार र चालक मन्त्रीका लागि उपलब्ध गराउदै आएको छ । धेरै स्रोत साधन र परियोजना हुने मन्त्रालयमा मन्त्रीले सबैभन्दा गतिलो गाडी तानेर चढ्ने गरेका छन् । तर, कुनै परियोजना नभएका तथा गाडी किन्ने हैसियत समेत नभएका मन्त्रालयका मन्त्रीहरु पूरानै गाडी चढ्न बाध्य छन् ।

मन्त्रीहरुलले चढ्ने गरेका गाडी धेरै पूराना भएकाले बाटैमा बिग्रने गरेको गुनासो बढेपछि गाडी खरिदका लागि छलफल भएको उद्योग मन्त्री कर्णवहादुर थापाले जानकारी दिए । ‘दुई तीन जना मन्त्रीज्यूको गाडी बाटैमा बिगि्रएर अलपत्र परेको भन्ने कुरा पनि बैठकमा उठ्यो’ मन्त्री थापाले अनलाइनखबरसँग भने ‘पूराना गाडी बिस्थापित गरेर नयाँ किन्ने कुरा भएको हो ।­’

स्रोतका अनुसार मन्त्रिपरिषदबाट नयाँ गाडी किन्ने निर्णय सहित आवश्यक कार्यन्वयनका लागि गृहमन्त्रालयमा पठाइ सकिएको छ । गृहमन्त्रालय बजेटका निकासका लागि अर्थमा पठाएको छ । अर्थले बजेट स्वीकृत गरेपछि नयाँ मन्त्रीहरुका लागि नयाँ गाडी खरिद हुनेछन् । किया, टोयोा र मित्सुबिसी कार मन्त्रीका लागि प्रयोग हुदै आएका छन् ।

तीन मन्त्रीको गुनासो

यसबीचमा चारजना मन्त्रीका गाडी गुड्दा गुड्दै बीच बाटोमै बिगि्रएका छन् । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलवहादुर थापा, राज्यमन्त्री गिरिवहादुर केसी, शिक्षामन्त्री चित्रलेखा यादव र महिला तथा वालवालिका मन्त्री निलम केसीले चढेका गाडी बाटोमै बिगि्रएको गुनासो मन्त्रिपरिषद बैठकमा पुगेको थियो ।

निलम केसीको गाडी त गुड्दा गुड्दै सडकमै टायर उछिट्टिएको थियो । ‘चालकहरुले पत्रु गाडी चलाउदैनौं भनेपछि नयाँ गाडीको खोजी भएको हो’ मन्त्रालयका एक अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment