Comments Add Comment

टेलिकमले ४६ प्रतिशत नगद लाभांश दिने, बुधबारदेखि वितरण शुरु

NTC--6th-AGM

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयर धनीहरुलाई ४६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार आयोजित छैठौं वाषिर्क साधारणसभाले नेपाल सरकारबाट स्वीकृत चुक्ता पूँजीको ४६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो । कम्पनीले असार २६ गतेदेखि शेयरधनीहरुलाई एनएमबि बैकका देशभर रहेका शाखाहरुबाट नगद लाभांश वितरण शुरु गर्ने जनाएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले कम्पनीले मुनाफाका साथसाथै सेवा र नागरिकप्रतिको दायित्वलाई केन्द्र बिन्दुमा राख्दै आएको बताए । उनले सेवाग्राहीहरुको सन्तुष्टी र छनौटलाई कम्पनीको सफलताको सूत्र बनाई ग्राहक आधारमा बृद्धि, सेवाको स्तरोन्नती, मुनाफा बृद्धि र शेयरधनीहरुलाई उचित लाभ प्रदान गर्न कम्पनी सदैव लागिरहने प्रतिवद्धता जनाए ।

अध्यक्ष शर्माले निर्णय प्रक्रियामा सुधार, कर्मचारीको कार्यशैलीमा सुधार, उचित वितरण प्रणाली, संस्थागत संरचना विकास र परिवर्तनमुखी, व्यवसायीक तथा गतिशिल संगठनको रुपमा कम्पनीको विकास गर्न रणनीतिक साझेदार भित्राउन लागेको बताए ।

‘आगामी दिनमा कम्पनीले सेवा प्रतिको विश्वसनियता अभिबृद्धि गराई ग्राहकहरुलाई कम्पनीको सेवामा टिकाइराख्न एडीएसएल, थि्रजी, इभिडियो, वाईम्याक्स, मोवाइल इन्टरनेट लगायतका सेवाहरुको विस्तार तथा मोवाइल ब्रोडब्याण्ड सेवाको प्रवर्द्धनलाई प्राथमिकता दिनेछौं’ उनले भने- ‘ग्रामीण क्षेत्रको बजारलाई पकेट क्षेत्रको रुपमा बिस्तार गर्न आधारभुत सेवाहरुको विस्तारको साथै ग्रामीण क्षेत्रसम्म अप्टिकल फाइवरको सञ्जाल विस्तार गरी डाटा सेवाको बिक्री वितरणमा प्राथमिकता प्रदान गरिने छ ।’

कम्पनीको आर्थिक अवस्था स्वस्थ रहेको दाबी गर्दै अध्यक्ष शर्माले आर्थिक वर्ष २०६८/०६९ मा कम्पनीको कुल राजश्व ३७ अर्ब २८ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०६९/०७० मा ४.२२ प्रतिशतले बृद्धि भई ३८ अर्ब ८५ करोड रुपैयाँ पुगेको जानकारी दिए ।

साधारणसभामा ९१.६९ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । शेयरधनीहरुले उठाएका विभिन्न जिज्ञासाको जवाफ दिँदै शर्माले कम्पनीको खर्चमा थप मितव्ययिता अपनाइने, पारदर्शीतामा जोड दिइने र कम्पनीबाट वितरित सेवाहरुको गुणस्तर अझ उच्चस्तरको बनाउन प्राथमिकता दिइने दाबी गरे ।

साधारणसभाले कम्पनीको नियमावली बमोजिम कम्पनीको सर्वसाधारण शेयर धनीमध्येबाट आगामी ४ वर्षका लागि एक जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रमअनुसार निर्वाचन सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment