Comments Add Comment

अब एमालेको लिङ्ग पहिचान भएको छ

नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव घनश्याम भुसालले नवौं महाधिवेशनबाट पार्टीको लिङ्ग पहिचान भएको र अब एमाले ‘तेस्रो लिङ्गी’ जस्तो नदेखिने दाबी गरेका छन् ।महाधिवेशन सकिएपछि त्यसको वैचारिक समीक्षा गर्दै भुसालले अनलाइनखबरसँग विशेष अन्तरवार्तामा भने- ‘हामीले लुकेको एमालेको लिङ्ग देखाउन सफल भएका छौं । खरो भाषामा भन्दा लिङ्ग पहिचान गरेर हामीमाथि लागेको आरोपको खण्डन गर्न सफल भएका छौं ।’

तर, नवौं महाधिवशेनले अझै पनि एमाले पार्टी ढाकर बोक्ने वर्गको हो कि व्यापारीहरुको हो भनेर वर्गीय विश्लेषण गर्न भने नसकेको भुसालको विश्लेषण छ ।महाधिवेशनको समीक्षामा केन्द्रित रहेर एमाले उपमहासचिव भुसालसँग अनलाइनखबरका लागि अरुण बराल र ज्ञानेन्द्र खड्काले गरेको कुराकानी :

Ghanashyan bhusal

‘हाईटेक महाधिवेशन’ लथालिङ्ग भयो नि ? हाइटेक शब्द ठट्टाको विषय बनेको छ ।

समाज विकासको क्रममा सबै कुरा यस्तै हुन्छ । पहिला यसमा छलफल हुन्छ । असाध्य धेरै असफलताहरु हात लाग्छन् । निराशा पनि हात लाग्छन् । सन् १९०० सम्म बेलायतमा बसमा यात्रु हालेर लैजाँदा अगाडि अगाडि एकजना मान्छे रातोझण्डा लिएर दगुर्ने चलन थियो । किनभने प्रविधिमा त्यति धेरै विश्वास थिए । त्यस्ता दिनबाट हामी यो अवस्थामा आएका छौं । हामी के आशा गर्छौं भने हाम्रो दशौं महाधिवेशन साँच्चिकै हाइटेक हुने मेरो विश्वास छ ।

एमालेको नवौं महाधिवेशन सफल भयो भन्न सकिन्छ ?

एमालेको महाधिवेशन आधारभूतरुपमा सफल भएको हो । पहिलो, नेकपा एमालेमा जुन राजनीतिक बैचारिक बहस चलेको थियो, त्यसले बाटो लियो । यो महाधिवशेनले नेपालका वामपन्थीहरु र नेपाली राजनीतिका लागि असाध्यै महत्व राख्छ । यसअर्थमा यो महाधिवेशन राम्ररी सम्पन्न भयो । दोस्रो, करिब २२ सय प्रतिनिधि संलग्न महाधिवेशनमा उब्जेका तमाम विवादहरुबीच जुनरुपमा हामी अगाडि गयौं, यो पनि अर्को सफल कुरा हो । तेस्रो कुरा हामीले प्यानलै बनाएर कार्यकर्तालाई भोट हाल्न लगायौं । र, पनि मिश्रति हिसावले आएको परिणामले यो महाधिवेशन सफल रहेको पुष्टि

गर्छ । यसरी विचार संगठन र राजनीतिक हिसावले यो महाधिवेशन सफल छ ।

तपाईहरुले जुन विचार उठाउनुभएको थियो, त्यसमा महाधिवेशनले लिएको लाइनप्रति कतिको सन्तुष्ट हुनुहन्छ ?

आठौं महाधिवेशनमा हामीले उठाएका तीनवटा कुरा यो महाधिवेशनले ग्रहण गरेको छ । अरु विषयमा हामीले छलफल गर्न पाएनौ । छलफल भएका विषय महाधिवेशनले ग्रहण गरेको छ । ती भनेका समाजको चरित्रलाई हेर्ने कुरामा, ०६२/६३ को जनआन्दोलनलाई हेर्ने कुरामा र केही विवादका बीच जनताको बहुदलीय जनवादका बारे । पहिलोपटक जवजलाई हामीले सैद्धान्तिकरुपमा व्याख्या गरेका छौं । पहिला मैले जबजको सैद्धान्तिक ब्याख्या भएको छैन भन्दा साथीहरुले मदन भण्डारीको विरोध गरेको आरोप लगाउँथे । पाँचौं महाधिवेशनमा म मदनजीको विरोधमा उभिएकाले त्यही कारणले साथीहरुले मेरो विरोध गरेको हुनसक्छ । कतिले त्यही कुरालाई मलजल गरे होलान् । वास्तविकता के हो भने २२ वर्षसम्म जनताको बहुदलीय जनवाद सिद्धान्त हो भनेर हिँडेको एमालेले पहिलोपटक आधिकारीक रुपमा जबजलाई सैद्धान्तिक व्याख्या गरेको छ ।

जबज अब देखिने र सुनिने भएकै हो त ?

जबज देखिने र सुनिने यसरी हुन्छ भनेर हामीले प्रष्ट पार्न सफल भयौं । जबजबारे मैले करिब १३ वर्षअघिदेखि बहस गर्दै आएको छु । नेपालको राजनीतिमा नेकपा एमालेको सैद्धान्तिक ठाउँ कहाँ हो भन्ने कुरा महत्वपूर्ण हो । यही कुरा राम्ररी स्थापित गर्न नसक्दा कहिले हामी माओवादी जस्तो, कहिले कांग्रेस जस्तो भएका हौं । ६० भाइलाई लिएर हामीले वक्तव्यबाजी गर्‍यौं । जबज क्रान्तिकारी कुरा भन्दा हामी माओवादीसँग लहसिने अवस्था भयो । अर्काथरी साथीहरुले जबज लोकतान्त्रिककरण हो भन्दा हामी कांग्रेस जस्तो भयौं । क्रान्तिको कुरा गर्दा एउटा अनुहार माओवादीजस्तो भयो भने जबजलाई लोकतान्त्रीकरणको अर्थमा बुझ्दा अर्को अनुहार कांग्रेस जस्तो भयो ।

त्यही कारण एमालेलाई उभय लिङ्ग, द्वयलिङ्गी र तेस्रो लिङ्गी भएको आरोप लाग्यो । त्यो आरोप हामीमाथि लाग्ने केही आधार थियो, किनभने हामीले जबजलाई राम्ररी व्याख्या गर्न सकेका थिएनौं । हिजोको जस्तो परम्परागतरुपमा क्रान्तिकारी कुरा गरेर मात्रै अब पुग्दैन । यो लोकतान्त्रिक हुनैपर्छ, लोकतान्त्रिक भएरमात्रै पुग्दैन, श्रमजीवि वर्गका पक्षमा, त्यो क्रान्तिका पक्षमा निरन्तर लाग्न सक्नुपर्छ । यो दुईटै कुरालाई सँगै राख्न सकियो भने मात्रै एमाले हुन्छ । तपाईले लोकतान्त्रिकरणको मात्रै कुरा गर्नुभयो भने कांग्रेससँग उस्तै देखिन्छ । क्रान्तिको मात्रै कुरा गर्ने हो भने हिजोको माओवादी या अहिलेका बैद्यजस्तै देखिने अवस्था हुन्छ ।

समाजको रुपान्तरण गर्ने हो श्रमजीवि वर्गको उत्थान गर्ने हो तर, त्यसको बाटोचाँहि लोकतान्त्रिक हो भनेर परिभाषित नगरेसम्म एमालेको सैद्धान्तिक ठाउँ हुँदैनथ्यो र थिएन । अबचाँहि यसले ठाउँ लिएको छ ।

अब भने एमालेको लिङ्ग छुटि्टयो ?

हामीले लुकेको एमालेको लिङ्ग देखाउन सफल भएका छौं । खरो भाषामा भन्दा लिङ्ग पहिचान गरेर हामीमाथि लागेको आरोपको हामीले खण्डन गर्न सफल भएका छौं ।

महाधिवेशनले गर्न नसकेका बैचारिक काम केही छन् कि ?

समाजको चरित्रबारे त हामीले परिभाषित गर्‍यौं तर, हाम्रो समाजमा वर्ग कस्ता छन्, तिनका चरित्र कस्ता छन् भन्ने बारे टुंगो लगाउन सकेनौं । हामी श्रमजीवि वर्गको पक्षमा त भन्छौं, तर हामी एमालेले ती वर्गको पक्षमा हौं भन्ने केही आधार खडा गर्नुपर्‍यो । ढाकर बोक्दै गरेको हो कि, हलो चलाउँदै गरेको हो कि, कार्यालय जाँदै गरेको हो कि, बोर्डिङ चलाउँदै गरेको हो, जग्गाको व्यापार गर्दै गरेको हो या व्यापार गर्दै गरेको को चाँहि हो त ? हामीले त्यसको परिभाषा गर्ने बेला भएको छ । यो विषयमा हामीसँग अझै समस्या छ । यो विचारलाई हामीले सबै हिसावमा राजनीतिकरण गरेर नीति बनाउन अझै समस्या छ ।

केही मान्छेहरु विचारको माम्लो सकियो, अब केही बाँकी छैन भनिरहेका छन् त्यो कुरा गलत हो । वास्तवमा हामीले विचारका मोटा कुरा गर्‍यौं । राजनीतिक संगठनबारे बोल्न बाँकी नै छ । यस्तै संगठनले चल्छ त पार्टी ? मचाँहि फिटिक्कै चल्दैन भन्छु । यो राजनीतिक संगठनलाई नयाँ ढंगले सम्बोधन गर्ने हाम्रा लागि चुनौती छ । वर्गका बारेमा पनि संकीर्ण भएर चल्दैन, वर्गका हितहरुलाई पहिचान गरेर वर्गका मागहरुलाई राष्ट्रिय रुप दिन जरुरी छ ।

हाम्रा धेरै सैद्धान्तिक कामहरु बाँकी छन् । अन्तरविरोधका बारेमा महाधिवेशनले बोल्दै बोलेको छैन । यीबारे छलफलमै जान भ्याएनौं । यसले गर्दा सैद्धान्तिकरुपमा पनि असाध्य धेरै काम हामीसँग बाँकी छन् । दोस्रो, यस्तो तरिकाले महाधिवेशन गर्ने हो भने हामी ठूलो संकटमा पर्छौं । पार्टीमा संरचनागतरुपमा संस्थागत भएको गुटबन्दीलाई व्यवस्थापन गर्न हाम्रा लागि चुनौतिपूर्ण काम हो । यो गुटबन्दीले गर्दा संगठनभित्र असाध्यै धेरै विकृतिहरु पसेका छन् । मैले यसो भनेर एमालेको विरोध गरेको होइन ।

तपाई आफैंले पनि त गुटबन्दी गर्नुभयो नि ?

मैले या अर्काले, जसले गरे पनि पार्टी दुई चिरामा विभाजित भयो । जसले गरे पनि पार्टीमा गुटबन्दी संस्थागत भएको छ । म आफैंले पनि सुध्रनुपर्ने समस्या हो यो । मैले पार्टीलाई गुटबन्दीबाट मुक्त गर्ने भनिरहँदा म स्वयम् पनि गुटबन्दीबाट बाहिरिने बारे सोच्दैछु ।

यस्तो गुटबन्दीले गर्दा धेरै विकृति हामीसँग प्रवेश गरेका छन् । त्यस्तो गुटबन्दीले विचार, समाजवाद, राजनीति र सिद्धान्त सबैलाई खत्तम बनाइदिन्छ । गुटबन्दीले धमिरो लागेजसरी पार्टीलाई सकिदिन्छ । त्यसले गर्दा हामीले यो समस्यालाई पनि समाधान गर्नु आवश्यक छ । पार्टीको अब बस्ने पहिलो केन्द्रीय कमिटिको बैठकबाट यो महाधिवेशनमा देखिएका विकृति विसंगतिहरु हटाउँदै पार्टीलाई पुर्नजीवन दिनका लागि धेर विषयमा गहन छलफल गरिनुपर्छ । र, तथ्यपूर्ण ढंगले रिर्पोट बनाएर सम्पूर्ण कार्यकर्तामाझ पुर्‍याएर पढाउनुपर्छ ।

बाँकी रहेका तमाम काम केन्द्रीय कमिटिको पहिलो बैठकबाटै समाधानको पहल हामी थाल्नेछौं । आठौंको केन्द्रीय कमिटी राम्ररी चलेन, एक वर्षपछि मात्रै कार्यविभाजन भएको छ । यस्तो दुभाग्र्यबाट हामी गुज्रेका छौं । पहिलो बैठकबाट एमालेले गति लिँदैछ भन्ने कुरा हामीले देखाउन जरुरी छ ।

महाधिवेशनले लिएको नीतिमा वर्गको पहिचान नहुँदा अब एमालेको केन्द्रीय कमिटीले के गर्छ ? एमालेले अब समाजको अनुसन्धान मात्रै गर्छ कि नीतिलाई व्यवहारमा लागू गर्छ ?

संस्थागतरुपमा पार्टीभित्र छलफल भएको छ । भएका कुरालाई टेकेर नभएका कुराको पहिचान गर्नतर्फ एमाले लाग्छ । अनुसन्धान गर्न बाँकी रहेका कुराको पनि हामी खोजी गर्न लागिरहन्छौं ।

प्यानलगत चुनाव लड्दा कार्यकर्ताले एकखालको सन्देश दिएका छन् । मिश्रति परिणाम आउँदा पार्टीलाई फाइदा पुर्‍यायो त ?

मेरो टिमको हिसावले भन्दा मलाई रमाइलो यसअर्थमा लागेको छैन कि मेरो टिमका अध्यक्ष र महासचिवले हारे । पार्टी जोगाउन पनि एउटा प्यानल सबै हार्नु राम्रो होइन । यसअर्थमा समग्र पार्टीको हिसाबले भन्दा पार्टीका लागि असाध्य राम्रो भएको छ । को छुटे, को छुटेनन् त्यसमा आफ्ना-आफ्ना धारणा छन् ।

हामीले वास्तवमा पहिलो केन्द्रीय सदस्यका हिसावले भन्दा हामी आत्माआलोचित हुनुपर्छ । हामी नालायक थियौं । पार्टीलाई औपचारिक रुपमा प्यानलमा चिरेर हामीले नालायक काम गर्दा त्यसलाई कार्यकर्ताले प्रतिरोध गरे ।

कार्यकर्ताको निर्णयलाई प्रशंसा र स्वागत गर्छु । अब अगाडिका दिन मतभेद हुँदैनन् भन्ने होइन । राम्रो पार्टी बनाउँदा मतभेद बढ्लान् तर, गुटबन्दी भने हुने छैन । माथिदेखि देखि तलसम्मका जुन गुटबन्दी छ, त्यसले मान्छेलाई स्वतन्त्र हुन दिँदैन । पार्टीमा आउँदै मानिसले आफ्नो केही स्वतन्त्रता त्यागेर आएको हुन्छ । झन गुटबन्दीले त उसलाई समस्यामा पार्छ । गुटमा पसेपछि मानिस कैदी बन्दीजस्तै बन्धक बन्न पुग्छ । एउटा चौघेरामा सीमित रहन पुग्छ । गुटबन्दीले मानिसले व्यक्तित्व विकास गर्न पनि पाउँदैन । गुटबन्दीले विचार र व्यक्तित्व मर्दै गएर समग्रमा पार्टीले दुःख पाउँछ । यसो गर्दा पार्टीमा सबै सदस्यहरुको चिन्तन र चेतनाका लागि पनि गुटबन्दी घातक छ । जो गुटबन्दीमा लाग्छ, त्यसको व्यक्तित्व विकास रोकिन्छ ।

माधव नेपाल र झलनाथ खनालको अब भूमिका कस्तो हुन्छ ?

झलनाथ खनाल हाम्रो पार्टीको बरिष्ठ नेता भइसक्नुभएको छ । माधव नेपाललाई औपचारिक रुपमा नभनिएला तर उहाँ पनि बरिष्ठ नेता नै हो । उहाँहरुबाट पार्टीले लाभान्वित हुने गरी हामी व्यवस्था गर्छौं ।

एमालेको नेतृत्व परिवर्तनले सरकारमा हेरफेर हुन्छ भनिँदैछ नि ?

नेतृत्वकै कारणले सरकार परिवर्तन हुँदैन । जसरी संयुक्त सरकार चल्नुपर्ने हो त्यो हिसावले अपेक्षाकृत चल्न नसकेको बारे यसअघि पनि पटक पटक छलफल भइसकेको छ । यदि, त्यसो भयो भने संयुक्त सरकार चलाउँदा कांग्रेसको लापरबाहीले हुन सक्ला । तर, हामीकहाँ नेतृत्व परिवर्तन हुने कुराले संविधान निर्माण र सरकारबारेमा तात्विकरुपले असर गर्दैन ।

यही सरकार रहिरहन्छ कि एमालेले केही पहलकदमी लिन्छ ?

प्रधानमन्त्री अमेरिकाबाट फर्केपछि सरकारलाई कसरी सक्रिय पार्ने भन्ने बारेमा छलफल हुन्छ । तर, अहिले नै सरकारबारे हामीले केही सोचिसकेका छैनौं ।

केन्द्रीय कमिटीको बैठक कहिले बस्ला ?

सबै निर्वाचन परिणाम आइसकेपछि केन्द्रीय कमिटीको बैठक केसम्म चाँडो बसाउने प्रयास गर्नुपर्छ । दुई चार महिना पर जान दिनुहुँदैन । त्यसले राम्रो पनि गर्दैन । सकेसम्म चाँडो बैठक बस्ने हामी तयारी गछौर्ं । धेरै एजेन्डाहरु अलपत्र रहेकाले हामी एक महिनाभित्र बैठक बस्छौं ।

उपमहासचिव जितेपछि कस्तो अनुभव गर्नुभएको छ ? तपाई अब के गर्नुहुन्छ ?

सामन्यतया मैले उपमहासचिव जितेर त्यसलाई ठूलो रुपमा लिएको छैन । किन भने यो प्राकृतिक कुरा थियो । त्यसैले मैले व्यक्तिगत रुपमा धेरै ठूलो कुरा प्राप्त गरेँ भन्ने होइन । तर, स्वयम्मा पार्टीको अहिलेको उपमहासचिव भन्ने कुरा एमालेका अगाडि जति चुनौतिहरु छन्, ती चुनौतिहरु सामना गर्नका निमित्त सबैभन्दा अगाडि उभिएर दायित्व निर्वाह गर्नुपर्ने, त्यसका निमित्त तयार हुनुपर्ने अवस्था छ । यसअर्थमा त्यो जिम्मेवारी त्यो हैसियत निर्वाह गर्न म हरेक हिसावले तयार छु । व्यक्तिगतरुपले मैले भन्दा विचारका हिसावले एमालेले आगामी ४० वर्षको बाटो यो विचारलाई नेतृत्व गरेको मान्छेका हिसावले ममाथि धेरै जिम्मेवारी रहेको कुरा मैले बोध गरेको छु । यो पदमा नआउँदा पनि मैले गर्नुपर्ने कामहरु धेरै थिए । अब दायित्व बढेको छ, मेरो बुद्धि, विवेक र सक्रियताले त्यसो भूमिका निर्वाह गर्न म तयार छु ।

एमालेको महाधिवेशनका क्रममा नेपाली मिडियाको भूमिका कस्तो पाउनुभयो ?

महाधिवेशनका क्रममा नेपाली मिडिया सन्तुलित रहे भन्ने मेरो निष्कर्श हो । पहिलेको तुलनामा अहिले मिडिया जिम्मेवार रहेको पाइयो । केही विचारले खोलिएका मिडियाले के गरे भन्ने कुरा गौण रहृयो । आमरुपमा मिडियाको भूमिका राम्रो रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment