Comments Add Comment

सहमतिविनाको संविधान नमान्ने वैद्य माओवादीको घोषणा

 ५ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले आफ्नो सहमतिविना संविधान जारी भए त्यसलाई नमान्ने निर्णय गरेको छ । साथै संविधान निर्माणपूर्व गोलमेच सम्ममेलन गर्न दबावका लागि माओवादीले आगामी माघसम्म ७ महिना आन्दोलन गर्ने भएको छ ।

फाइल फोटो
फाइल फोटो

गत सातादेखि राजधानीमा जारी माओवादीको केन्द्रीय समितिको सोमबार सम्पन्न बैठकले आफ्नो सहमतिविना जारी हुने संविधानलाई अस्वीकार गर्ने निर्णय गरेको हो । ‘सहमतिविनै संविधान आए नमान्ने निर्णय भएको छ,’ बैठक पछि माओवादीका एक केन्द्रीय सदस्यले भने ‘यो निकै गम्भीर कुरा हो, हामीलेजस्तै जनजाति, मधेसी र नागार्जुनलेसमेत संविधान नमान्ने हो भने के हुन्छ ? त्यो लागू हुन सक्दैन ।’

सोमबार सम्पन्न माओवादी बैठकले साउन र भदौ दुईमहिना आन्तरिम तयारी गर्ने, त्यसपछि प्रचारात्मक कार्यक्रम गर्ने र दशैं-तिहारपछि प्रतिरोधात्मक आन्दोलन गर्ने निर्णय गरेको माओवादी नेताले जानकारी दिए ।

आन्तरिक विवाद हल गर्न विशेष महाधिवेशन

यसैवीच माओवादी बैठकले मोहन वैद्य र नेत्रविक्रम चन्दवीच चलेको दुईलाइन संघर्षलाई एक वर्षभित्र विशेष महाधिवेशन गरेर टुंगो लगाउने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकमा विप्लव र बैद्य दुबैले दस्तावेज पेश गरेपछि त्यसलाई हल गर्न महाधिवशेनमा जाने निर्णय भएको हो ।

तर, पार्टीभित्रको लाइन संघर्षका कारण एकीकृत माओवादीसँग पार्टी एकता गर्ने कि नगर्ने भन्ने विषय पनि महाधिवशेनसम्म पछि सरेको स्रोतले बतायो । यद्यपि एमाओवादीलगायतका पाँच दलसँगको सहकार्य भने जारी राखिने भएको छ ।

भारतविरुद्ध रत्नपार्कमा प्रदर्शन

माओवादीसमर्थित जनवर्गीय संगठनको आयोजनामा सोमबार अपरान्ह रत्नपार्कस्थित शान्ति बाटिकामा उर्जासम्बन्धी भारतीय प्रस्तावको विरोधमा कोणसभा र विरोध प्रदर्शनको आयोजना गरिएको छ । पानी परेकाले मानिसहरुको उल्लेख्य उपस्थिति हुन नसके पनि कार्यक्रममा माओवादी सचिव देव गुरुङलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment