Comments Add Comment

बाबुरामले भने- माघ ८ मा संविधान आउँछ, ढुक्क हुनुस्

१६ साउन काठमाडौं । डा. बाबुराम भट्टराई र कृष्णप्रसाद सिटौलालाई पत्याउने हो भने आगामी माघ ८ गते नेपालले नयाँ संविधान पाउने अवस्था निर्माण हुँदैछ । यी दुई नेता नेपालको शान्ति प्रक्रियाका सारथीमात्र होइनन्, अहिले संविधान निर्माण प्रक्रियाका पनि सारथी हुन् । दुबैजनाले शुक्रबार सिंहदरबारमा पत्रकारहरुलाई खुसीको खबर सुनाए ‘ढुक्क हुनुस् अब माघ ८ गते संविधान बन्ने बाटो खुल्यो ।’

उत्साहित नेताहरु

संविधान मस्यौदा समितिका अध्यक्ष सिटौलाका अनुसार बाबुराम नेतृत्वको संवाद तथा सहमति समितिले राज्यपुनसंरचना तथा शासकीय स्वरुपमा सहमति जुटाएर पठाएको एक साताभित्रै नयाँ संविधानको मस्यौदा तयार हुनेछ । ‘मैले यो दाबीमात्र गरेको होइन, हेर्दै जानुस् माघ ८ गते नेपालले नयाँ संविधान पाउँछ’ सिटौलाले भने ‘सबै काम कार्यतालिका अनुसार नै हुन्छ’ ।

कार्यतालिका अनुसार बाबुराम नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले भदौको तेस्रो साताभित्र सहमति गरेर संविधान मस्यौदा समितिलाई बुझाउनेछ । ‘हामी अब संविधानसभा विघटन अघिको जेठ १ गतेको पोजिशनमा पुगेका छौं, तोकिएको समयमै राज्य पुनसंरचना, शासकीय स्वरुप, न्यायप्रणालीलगायतका विवादित विषयमा सहमति जुट्ने आशा पलाएको छ’ भट्टराईले भने ।

मौनताको समय

अघिल्लो संविधानसभा जे कारणले विघटन भयो, त्यही बिन्दूमा अहिले डा. भट्टराई छन् । तर, उनले यसबीच दलका प्रमुख नेताहरुसँग एक्ला एक्लै छलफल गरेर विवादलाई साँघुरो बनाउदैछन् । राज्य पुनसंरचना निकै पेचिलो विषय भएकाले सहमति नभएसम्म नेताहरुले बाहिर केही नबोल्ने र मौनता साँध्ने सहमति भएको छ ।

‘छलफल भइरहेको छ र मैले सबै पक्षसँग एकल तथा सामुहिक वार्ता गरेर विवाद समाधान गर्छु’ भट्टराईले संविधानसभा भवनमा पत्रकारहरुसँग भने ‘तर सहमति नभई बाहिर नबोल्ने भन्ने सहमति भएको छ’ । उनले बाहिर बोल्दा सहमति भाँडिने भएकाले सहमति भएपछि सबैलाई जानकारी गराउने बताए ।

मुलुक र जनताले संविधान पाउने कि नपाउने भन्नेमा आगामी एक महिना निकै महत्वपूर्ण हुनेछ । तर सहमतिमा संविधान निर्माणको विकल्प नभएकाले विस्तारै शीर्ष नेताहरु पनि संविधानसभाका विषयगत बैठकमा सहभागी हुन थालेका छन् । ‘म निकै आशावादी र उत्साहित भएको छु, नेताहरु पनि गम्भिर भएका छन्’ भट्टराईले भने ‘हाम्रा लागि आगामी एकमहिना निकै महत्वपूर्ण समय हो, माघ ८ मा संविधान आउँछ ढुक्क हुनुस्’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment