Comments Add Comment

नेपालका प्रतिनिधि बिर्सन नमिल्ने इतिहास

कुमार रेग्मी

इतिहासमै सबैभन्दा कमजोर भएको नेपाली राष्ट्रियता निर्माणको अभिभारा लिएका आजका पात्रहरुले आफ्नो विगतबाट सिक्न जरुरी छ । आजका राज्य संचालकहरु संगै प्रमुख राजनीतिक नेतृत्वमा विदेशीका अगाडि पटक पटक उजागर हुने हिनतावोध र विरोधाभाष नेपालको इतिहाससंग पटक्कै मेल खाने छैन ।kumar-regmi भारतमा सयौं राज्यहरुमा बिभक्त भएर रहेका हिन्दू सम्राटहरुसंगै शक्तिशाली मुगल बादशाहबाट राज्य खोस्दै उपनिवेश विस्तार गरिरहेको अंग्रेज साम्राज्यको समानान्तर शक्तिको रुपमा पृथ्वीनारायण शाहले नेपाल ऐकिकरणको अभियान अगाडि बढाएको तथ्य इतिहास पढ्ने जोकोहिलाई थाहा हुन्छ ।

नेपाल स्थापनाको अभियान उनीपछि बहादुर शाह हुदै गिर्वाणुयुद्ध विक्रम शाहको पालासम्म अदम्य शाहसका भएका राष्ट्रभक्त एवं स्वाभिमानी भारदारहरुको नेतृत्वमा चलेको थियो । विश्वविजेता अंग्रेज शासक छिमेकमा आइ शक्तिशाली भईरहेको तथ्यले नेपाल निर्माणको अभियानलाई कतिपनि विचलित नपारी अझबढि दृढ निश्चयी बनाएको इतिहासले पुष्टि गर्छ । त्यतिबेलाका राजा र जनतामा आफ्नो मौलिक धर्म संस्कृतिको संरक्षण गर्दै स्वतन्त्र राष्ट्रको बासी भएर बांच्ने स्वाभिमानी इच्छाशक्ति प्रबल रुपमा रहेको देखिन्छ ।

मात्र गोर्खा राज्यको नेतृत्वमा नेपालीले त्यसबखत हासिल गरेको सैनिक श्रेष्ठताका कारण गोर्खा राज्यका विरुद्ध काठमाण्डौका जयप्रकाश मल्ललाई सहयोग गर्ने बहानामा ठूलै दलबलका साथ नेपाल पसेको क्याप्टन किनलोकको नेतृत्वको अंग्रेज सेनालाई सिन्धुलीगढीको लडांईमा नेपालीले सन १७९० मा नराम्रो संग परास्त गरेको तथ्य विश्व इतिहासमा नै स्वणं अक्षरले लेखिएको छ । त्यो भन्दा अघि मकवानपुरका राजा दिग्विजय सेनको राज्य गोर्खालीबाट जोगाईदिन आएको बंगालका नबाब मीर कासीमको फौजलाई सन १७६३ मा परास्त गरि प्रसस्त हाततियार समेत प्राप्त गर्न नेपाली सफल भएका थिए ।

यी दुई यूद्धपछि विदेशी फौजले लामोसमय नेपाल आक्रमणको प्रयास बन्दगरेका कारण नेपाल भित्रका दर्जनौ राज्यलाई हराउंदै नेपाल निर्माणको अभियानलाई अन्तिम रुप दिंदासम्मको अनगन्ति शाहसिक र स्तुत्य कार्यहरुको गौरवगाथाले नेपालको इतिहास भरिएको छ । नेपालमा राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको चर्चा नेपाल स्थापना र रक्षाका यी र यस्तै अनगिन्ति भौतिक तथा कुटनीतिक यूद्धमोर्चाबाट प्राप्त भएका बीरगाथाको उल्लेखै बिना सम्पन्न हुने गरेको छन् । त्यसैले दिनानुदिन कमजोर बन्दै गएको नेपाली राष्ट्रियताको रक्षा आजको राजनीतिक नेतृत्वबाट नहुने होकि भन्ने चिन्ता विस्तारै बढिरहेको छ किनकी नेपाली स्वाभिमानका ऐतिहासिक पात्र र विषयवस्तुको चर्चा नेपाली राजनीतिक वृतमा विल्कुलै भएको पाईदैन ।

नेपालको भरखरै अगाडिको विगतको इतिहास अर्कै छ । केहि शताब्दि अघिसम्म विश्वको सबैभन्दा सभ्य र शक्तिशाली रहेको चिनको राजतन्त्रका लागि उन्नाइसौ शताब्दिको शुरुको दशकमा नै ओपियम यूद्धमा बिट्रीस साम्राज्यसंग भोग्नुपरेको हारपछिको असमान सम्झौता अकल्पनिय पिडादायक रह्यो । वे उवान नामका त्यसबखतका क्विङ्ग राजवंशका कुटनीतिज्ञले तत्कालीन चाइनिजको भनाईमा जंगली वा असभ्य बिट्रीसहरु डराउने उसका विश्वभरीका शक्तिशाली शत्रुराष्ट्र को हुनसक्छन भनी पश्चिममा रसिया, फ्रान्स र अमेरिकाको नाम उल्लेख गर्दा पूर्वमा गोर्खा (नेपाल), बर्मा, सियाम (थाइलैण्ड) र अनाम (उत्तरी भियतनाम) मात्रको नाम उल्लेख गरेको तथ्य विश्वप्रसिद्ध कुटनीतिज्ञ, विद्धान एवं अमेरिकी पूर्व विदेशमन्त्री डा. हेनरी किसिन्जरबाट २०११ मा प्रकाशित “द चाइना” भन्ने पुस्तकको पृष्ठ ६२ पढ्न पाईन्छ । वे उवानले रसिया र गोर्खाले बिट्रीश भारत माथि आक्रमण गर्दा सुखद परिणाम आउने आत्मविश्वाश देखाएका छन् ।

चीन र भारत दुबैलाई परास्त गर्दै संसारमा कहिल्यै सूर्य अस्त नहुने सामा्रज्य लाई थर्काउने हैसियतमा आजभन्दा दुई शताब्दी अघिसम्म नेपालका गोर्खा रहेको तथ्य डा. किसिन्जरको पुस्तकमा समेत सप्रमाण भेटिएको विषयमा गर्व गर्नुको साटो त्यस्तो होइनहोला, कांहा नेपालको त्यो हैसियत हुन्छ, डा. किसिन्जरले गलत तथ्यका आधारमा त्यस्तो दावी गरेका हुनुपर्छ भन्नेभावना राख्ने धेरैको संख्या नेपालमा बढेको छ । त्यस्तै भावनालाई मलजल गर्नेहरुको कब्जामा आजको नेपालको अग्रगामी र परिवर्तनकारी राजनीतिको डोरी अडिएको अवस्था छ ।

नेपाली राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकता प्रति अटल आस्था र विश्वास छ भन्नेले यसको स्थापना कांहा कसरी भयो र त्यसको जगेर्ना कसरी हुंदै आयो भन्नेबारेमा पहिले त जानकारी राख्न जरुरी छ, र त्यसपछि त्यसप्रति गर्व गर्दै त्यो गौरवगाथामा श्रीवृद्धि गर्न राजनीतिमा लागेको प्रतिवद्धता जनतासमक्ष व्यक्त गर्नुपर्दछ । संसाारभरि राजनीति गर्नेका लागि यो पहिलो गुरुमन्त्र हो, जसको पूर्णता अपहेलना नेपाली राजनीतिमा बर्चस्व राख्ने ठूलादलहरुको नेतृत्वबाटै भएको देखिन्छ । नेपाल राष्ट्रका संस्थापक वा जन्मदाता पृथ्वीनारायण शाहको जन्मजयन्ती नमनाउने निर्णय त्यसैको परिणाम हो । अन्तिम राजा ज्ञानेन्द्रको रिशले २०६५ जेष्ठ १५ अघिको नेपाली इतिहासलाई धिक्कार्ने हो भने नेपाल इतिहासविहिन बबुरो राष्ट्रमा रुपान्तरित हुनेतर्फ हाम्रो ध्यान जान जरुरी छ ।

हामीले बुझ्न जरुरी छ, राष्ट्रियता वा राष्ट्रिय स्वाभिमान शब्दमा मात्र सिमित रहने ओठेभक्ति होइन् । यो व्यवहारमा देखिने साश्वत मान्यता हो । अर्को शब्दमा राष्ट्रियता आफ्नो माटो र मौलिकता को रक्षाका प्रति खुशी साथ जिवन उत्सर्ग गर्न पछि नपर्ने समपर्णयूक्त भावना हो । नेपालको राष्ट्रियता नेपालको मौलिक कला, संस्कृति, भाषा, साहित्य, धर्म, भौगोलिक सुन्दरता, जातिय विविधता संगैको अनुपम एकता, सार्वभौमसत्ता प्रतिको समपर्ण र शान्तिपूर्ण जिवनशैली जस्ता विशेषताको संयोजनबाट लामो समय लगाएर निर्मित भएको छ । यसप्रति हृदयबाट प्रेम, भक्ति र भावना नभएको व्यक्ति वा व्यक्तिसमुहबाट नेपाली राष्ट्रियता वा राष्ट्रिय स्वाभिमान वा नेपालको स्वतन्त्रताको रक्षा हुनसक्दैन । यहि दुर्भाग्यपूर्ण विरोधाभाषको बिचबाट आजको नेपाल गुजि्ररहेको स्थिति प्रति हाम्रा छिमेकि तथा मित्र राष्ट्रहरु पूर्ण रुपले जानकार भएरै आÏनो स्वार्थ संरक्षणका लागि खेलिरहेका छन् ।

पश्चिमबाट उदाएका मूलतः क्रिस्चियन र मुस्लिम धर्म र पूर्वबाट उदायका हिन्दू र वुद्धिष्ट धर्म बिच जिवन र जगतलाई बुझ्ने दृष्टिकोणमा ठूलो भिन्नता छ । पश्चिममा क्रिस्चियन मुस्लिम एकअर्का बिच र एउटै भगवान जिसस वा अल्ला मान्नेका बिच भएको सयौं लडाईमा लाखौं मानिसका हत्या भएको इतिहास छ । अहिले इराक र सिरियामा मुसलमान सम्प्रदाय बिचको लडाईं हाम्रो आंखा अगाडि छ । यसको बिपरित बहुसंख्यक हिन्दू र बुद्धिष्ट संगै अन्य धर्म सम्प्रदाय भाषा भाषि बिच सयौं बर्षदेखि अपूर्व एकता र भाईचार रहेको नेपाल पश्चिमाका लागि बुझिनसक्ने विषय रहेको छ । एउटै गांऊमा विभिन्न जातजाति, भाषा र धर्म मान्ने मानिस मिलेर बसेको दृष्य पश्चिमी समाजमा अस्वभाविक मानिन्छ ।

नेपालमा भएजस्तै मौलिक धर्मसंस्कृति र विविधताबिचको एकता प्राप्तिमा संसारका अन्य देश र जातिहरु मरिमेटिरहंदा नेपाली पूर्खाको बहादुरी र सामन्जस्यताका साथ बांच्ने जिवनशैली संगै प्रकृतिको बरदानका कारण नेपालले ति सबै धेरै अगाडिनै प्राप्त गरिसकेका छन् । तिनीहरुलाई जोगाएर अझ उन्नत दिशातर्फ अघि बढ्नुपर्नेमा, आज नेपाल भित्र जातिय र क्षेत्रिय नारा चर्काई घर बझाउने र झगडा चर्काउने को होड चलिरहेको एकातिर छ भने अर्कोतिर ठूलो संख्यामा नेपाली यूवकहरु केहि नभएका गरिब दिनहिन भएर संसारभरि मजदुरको रुपमा फैलिन वाध्य छन । नेपाल मान्छेको व्यापार गर्ने नयां राष्ट्रमा रुपान्तरित भैरहेको छ ।

त्यसैगरि विश्वमा विरलै पाईने दुई विशाल देशहरुका बिचमा समेत स्वतन्त्ररुपमा बांच्नसकेको नेपालको यथार्थताबाट आजको पुस्ताले लिनुपर्ने सन्देश र उर्जा लिन सकेको छैन । कस्तुरी आÏनो नाभीको सुगन्ध खोज्न भौंतारिए जस्तै नेपाली राजनीतिकर्मीले अन्य देशका कुटाकडकटलाई महान देखि आफ्नो राष्ट्र स्थापना र निरन्तरताका आधारहरु भेटिने इतिहास र अनुभवलाई अवमूल्यन गरेकैकारण नेपालले स्वतन्त्रता र स्वाभिमान गुमाउंदै दक्षिण एशियाको सबैभन्दा गरिब देशमा दर्ता हुनुपुगेको दृष्य सांच्चै नै हृदयविदारक छ ।

इतिहासलाई वर्तमान र भविष्यको मार्गदर्शक मानिन्छ । इतिहासका राम्रा नराम्रा दुबै कुराहरुबाट पाठ सिकेर भविष्यलाई सुन्दर बनाउने प्रयास जुन व्यक्ति, संस्था वा राष्ट्रले गर्छ उ नै सफल हुन्छ । जसले आफ्नो इतिहासको अवमूल्यन वा घृणा गर्छ त्यो व्यक्ति, संस्था वा राष्ट्रको भविष्य हुंदैन । यो शास्वत नियम विपरितको दौडको दुष्चक्रमा आजको नेपाल जकडि्एको छ । राजा, राणा हुंदै २००७ साल देखि २०६३ साल सम्म भएका नेपाल र नेपाली पक्षका राम्रा आन्तरिक र वाहृय कदमहरुमा गर्वगरि तिनिहरुलाई अझ मजबुत पार्दै गलत निर्णयबाट पाठ सिकेर अघिबढ्ने सामान्य कुटनीतिक कर्मबाट हामी बिमुख भई आÏनै इतिहासलाई गालीगर्ने हिनतावाधको मनोविज्ञानमा घुमिरहेको छ । मुलुकलाई यसबाट बाहिर निकाली हाम्रा आफ्नै विगतका अनुभव, निर्णय र निष्कर्षको कसीमा आन्तरिक र वाहृय नीतिहरु तयगरि नेपाललाई अगाडि बढाउने राजनीतिक इच्छाशक्ति आजको प्रमुख आवश्यकता हो ।

हामीले बुझ्न जरुरी छ, नेपाल संविधानसभाले गणतन्त्र घोषणा गरेको दिन २०६५ साल जेष्ठ १५ गते वा २०६२ मंसिर ७ गते नयां दिल्लीमा १२ बुदे समझदारी भएको दिन जन्मिएको देश होइन । सयौं वर्ष पुरानो प्रमाणित इतिहास भएको नेपाल पछिल्लो पटक २५० वर्ष अघि आजको अवस्थामा स्थापित भएको इतिहासलाई आत्मसाथ नगर्नाको पछाडि नेपालको राजनैतिक र बौद्धिक नेतृत्व हिनतावोधबाट ग्रस्त भएको स्पष्ट देखिन्छ ।

नेपाल एकिकरणका बखत विश्वकै १७ सार्वभौमसत्ता सम्पन्न देश मध्येको एक भएको गौरवमय इतिहास र इश्वरीय बरदान प्राप्त प्राकृतिक सम्पदाले भरिपूर्ण राष्ट्रबाट नेपालीका लागि सम्पन्नताको मुहान खोल्नसक्नुपर्छ । २१ सौं शताब्दिमा विश्वका दुई आर्थिक रुपमा शक्तिशाली राष्ट्रलाई आफ्नो छिमेकीको रुपमा पाउने सौभाग्यशाली भौगोलिक विशिष्टतालाई अर्को बरदानको रुपमा सुझबुझ र दृढताका साथ उपयोग गर्न सक्नुपर्छ । यी सबै विषयलाई आत्मसाथ इमान्दार भएर मुलुकको पक्षमा काम गर्ने राजनीतिक नेतृत्वले घरभित्र मात्र होइन घर बाहिर पनि सम्मानित हुने अवसर पाउने तर्फ राजनीति गर्नेहरुको ध्यान जान जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment