Comments Add Comment

मोदीसँग के माग्लान् निजी क्षेत्रका उद्योगी व्यवसायीले ?

Narendra modi in ktm  (6)

नविन अर्याल

१९ साउन, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली उद्योगी व्यवसायीहरुले समग्र मुलुकलाई फाइदा हुनेखालका ठूला परियोजनामा सहयोग गर्न आग्रह गर्ने भएका छन् । उद्योगी व्यवसायीहरुले सोमबार दिउँसो तीनबजे बौद्धस्थित हायत होटलमा मोदीसँग भेटघाट गर्दैछन् ।

मोदी र उद्योगी व्यवसायीबीच दुईपक्षीय लगानी विस्तार एवं व्यापारिक सम्बन्ध विस्तारका बारेमा छलफल हुने बताइएको छ । ‘नेपालका उद्योगी-व्यवसायीदेखि लिएर सर्वसाधारणसम्म लोडसेडिङको समस्याबाट पीडित छन्’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपरित मुरारकाले भने- ‘मोदीसँग हामीले लोडसेडिङ अन्त्य गर्नका लागि ठूला जलविद्युत परियोजना निर्माणमा सहयोग गर्न पहल गर्छौं ।’

व्यवसायीहरुले तत्काललाई लोडसेडिङबाट मुक्ति पाउन सीमा क्षेत्रमा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गरी भारतबाट विजुली आयात गर्ने विषयमा पनि मोदीसँग कुरा राख्ने बताएका छन् । यसबारे मोदीले आइतबार संसदमा सकारात्मक प्रतिवद्धतासमेत जनाइसकेका छन् । निजी क्षेत्रले भारतबाट बिजुली आयात गर्न लामो समयदेखि जोड दिँदै आएका बेला मोदीको सकारात्मक प्रतिक्रिया आएको हो ।

‘क्रस बोर्डर ट्रान्मिसन लाइन निर्माण भएमा नेपालमा विद्युत बढी हुँदा भारतमा निर्यात गर्ने र नेपालमा कम हुँदा भारतबाट आयात गर्न सकिन्छ’ मुरारकाले अनलाइनखबरसँग भने ।

यी हुन् मोदी भेट्ने व्यवसायी

भेटघाट कार्यक्रममा १६ जना उद्योगी-व्यवसायीहरु सहभागी हुने नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । महासंघ, परिसंघ र निक्कीबाट ४/४ जना व्यवसायी सहभागी हुनेछन भने अन्य चेम्बर लगायतका अन्य संघबाट १/१ जना व्यवसायी भेटघाटमा सहभागी हुने व्यवस्था मिलाइएको छ छ ।

महासंघबाट अध्यक्ष प्रदीपजंग पाण्डे, निवर्तमान अध्यक्ष सुरज वैद्य, पूर्व अध्यक्ष पद्य ज्योति र वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका सहभागी हुने भएका छन् ।

परिसंघबाट अध्यक्ष नरेन्द्र कुमार बस्न्यात, निवर्तमान अध्यक्ष विनोद कुमार चौधरी, वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा र उपाध्यक्ष अनुज कुमार अग्रवाल सहभागी हुने बताइएको छ । त्यस्तै, चेम्बरबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ सहभागी हुनेछन् ।

निक्कीबाट अध्यक्ष शशीराज श्रेष्ठ, संस्थापक अध्यक्ष प्रभाकर शमशेर राणा, पूर्वअध्यक्ष अरुणकुमार चौधरी र महासचिव सौर्य राणा भेटघाट कार्यक्रममा सहभागी हुने बताइएको छ ।

समुद्रपार निकासी पैठारी संघका अध्यक्ष रमेश गुप्ता, गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, नेपालमा होटल व्यवसायी गरेर बसेका भारतीय व्यवसायी अरुण सर्राफले पनि मोदीलाई भेट गर्ने भएका छन् ।

भेटघाटमा सहभागी हुन लागेका एक उद्योगीका अनुसार आधा घण्टाको छोटो भेटमा मोदीलाई चेम्बरले फुल दिएर स्वागत गर्ने, महासंघले स्वागत भाषण गर्ने, विनोद चौधरीले समग्र व्यवसायीको तर्फबाट सम्बोधन गर्ने र निक्कीले उपहार प्रदान गर्ने र परिसंघले धन्यवाद मन्तव्य दिने कार्यक्रम मिलाइएको छ ।

व्यवसायीलाई मोदीले सम्बोधन गर्ने

विनोद चौधरीको सम्बोधनपछि मोदीले नेपाली व्यवसायीहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । चौधरीले नेपालमा लगानीको वातावरण, लगानीका लागि सम्भावित क्षेत्रहरु, नेपाल सरकारको नीति, निजी क्षेत्रको भूमिका बारे मोदीलाई स्पष्ट पार्नेछन् । उनले भारतीय लगानी नेपाल मित्राउनका लागि पहल गरिदिन मोदीसमक्ष आग्रहसमेत गर्ने बताइएको छ ।

झिनामसिना कुरा नउठाउने

‘मोदीसँग झिना-मसिना कुरा भन्दा पनि तत्कालिन तथा दीर्घकालीन प्रभाव पार्ने वृहतखालका विषयहरु उठान गर्नेछौं’ परिसंघका वरिष्ठ उपाध्यक्ष शर्माले भने- ‘मोदीसँगको छोटो भेटलाई हामीले अवसरको रुपमा लिएर बढीभन्दा बढी फलदायी बनाउनुपर्छ ।’

परिसंघले खासगरी नेपालमा औद्योगिक विकास गर्नका लागि बढीभन्दा बढी भारतीय लगानी भित्राउन पहल गर्ने भएको छ । लोडसेडिङको समस्या तत्कालका लागि हटाउन क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गरी भारतबाट बिजुली आयात गर्नुपर्ने अडानमा परिसंघ रहेको छ ।

औद्योगिक विकासविना भारतसँगको व्यापार घाटा कम गर्न असम्भव छ । मुलुकमा औद्योगिक विकासमा भारतलाई सहयोग गर्न पहल गरिने चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । भारतले नेपाली वस्तुहरुलाई सहज प्रवेशको वातावरण मिलाएमा नेपालमा औद्योगिक विकास हुन सक्ने उनले ठोकुवा गरे ।

‘विजुलीलाई हामीले कमोडिटिज प्रोडक्टजस्तै सहज रुपमा खरिद बिक्री गर्ने वस्तु बनाउनुपर्छ’ शर्माले भने- ‘ट्रान्समिसन लाइन निर्माण गरी नेपालमा विद्युत बढी हुँदा भारत निर्यात गर्ने र कमी हुँदा आयात गर्ने व्यवस्था मिलाउनुपर्छ ।’ यो विषयमा पनि मोदीसमक्ष निजी क्षेत्रले कुरा उठाउने भएको छ ।

महासंघले मोदीसँग जलविद्युत लगानी गर्न, पञ्चेश्वरजस्ता ठूला परियोजनाको सम्झौता तत्काल कार्यान्वयन गर्न, नेपाली उत्पादनहरुको ‘नन ट्यारिफ व्यारियर’ हटाउन, ट्रान्समिसन लाइन निर्माणमा सहयोग गर्न आग्रह गर्ने वरिष्ठ उपाध्यक्ष मुरारकाले बताए ।

मोदीले संसदलाई गरेको सम्बोधनमा हाइवेज, आइवेज र ट्रान्सवेजको ‘हिट’ फर्मूला अघि सारेका छन् । उनले नेपालमा पर्यटन, जडीबुटी र हाइड्रोको प्रचुर सम्भावना भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment