२० साउन, पोखरा । पर्यटन मन्त्री भीम आचार्यले पोखराको फेवाताल संरक्षण र प्रवर्द्धनमा सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने बताएका छन् । उनले फेवातालसँग सम्बन्धित निकायहरुलाई संरक्षण तथा प्रवर्द्धनको उपर्युक्त कार्ययोजना बनाई आउन आग्रह समेत गरेका छन् ।
नेपाल पर्यटन पत्रकार मञ्चले फेवातालको मध्यभागमा मंगलबार आयोजना गरेको स्टेज कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले फेवाताल संरक्षणका लागि विगतमा भएका भाषणहरु कार्यन्वयन गर्नुपर्नेमा जोड दिए ।
फेवातालको संरक्षणमा विभिन्न निकायले काम गरेपनि त्यो दीर्घकालिन हुन नसकेको गुणासो गर्दै मन्त्री आचार्यले यसलाई प्राकृतिक र मानवीय अतिक्रमणबाट जोगाउन हरतरहले लाग्नुपर्ने बताए । सोही अवसरमा उनले पर्यटकको लागि फेवाताल आसपासमा माउन्टेन पार्क निर्माण गर्ने घोषणा समेत गरेका छन् । माउन्टेन पार्कको लागि पहिलो चरणमा पचास लाख रुपैयाँ बजेटको व्यवस्था गरेर काम अघि बढाउनले उनको भनाई थियो ।
करिब दुई घण्टासम्म निरन्तर चलेको कार्यक्रममा बोल्ने वक्ताहरुले पोखराको फेवाताललाई प्राकृतिक एवं मानवीय अतिक्रमणबाट रोकेर तालको दीर्घकालिन विकास तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
कास्कीका सभासदहरु रविन्द्र अधिकारी, सिता गिरी ओली र जमिन्द्रमान घलेले फेवाताल संरक्षणमा जति अभियान चलाएपनि प्रगति शुन्य भएको गुनासो गरे । आफुहरुले फेवातालको संरक्षण र सम्वर्द्धनको विषयमा संविधानसभादेखि हरेक निकायहरुमा पहल गरेको बताउँदै उनीहरुले समस्याको दीर्घकालिन समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य टिकाराम सापकोटाले पर्यटन क्षेत्रमा भद्रगोल अवस्था सिर्जना भइरहेको बताउँदै त्यसमा राज्यले गम्भिर भएर लाग्नुपर्ने बताए । फेवातालको संरक्षणमा राज्यस्तरबाट क्रियाशिलता देखाउनुपर्नेमा उनले जोड दिएका छन् ।
मञ्चका अध्यक्ष शिव अधिकारीले पर्यटनलाई जिल्ला जिल्लामा विकेन्द्रीकृत गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले फेवातालको पानीमाथि कार्यक्रम गरेर फेवातालको संरक्षणमा आमजनता तथा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्न खोजेको स्पष्ट पारे ।
फेवाताललाई वातावरणीय प्रदुषण तथा मानवीय अतिक्रमणबाट जोगाउँदै फेवाताल तथा देशैभरीका तालहरुको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनमा विशेष पहल कदमीको सुरुवात गरेको अधिकारीले घोषणा गरेका छन् । उनले पर्यटकीय हव पोखरालाई पर्यटकीय राजधानीको रुपमा औपचारिक घोषणा गरेर अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्नुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया 4