Comments Add Comment

नायक श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा निधन

shreekrishna

२५ साउन, काठमाडाैं । नेपाली सिने उद्योगका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । हालै मात्र नायिका स्वेता खड्कासँग बैबाहिक बन्धनमा बाँधिएका श्रेष्ठको भारतमा उपचारका क्रममा निधन भएको हो ।

श्रीकृष्णका साथी एवं निर्देशक आकाश अधिकारीले श्रेष्ठको आइतबार बिहान ५ बजे दिल्लीको गंगाराम अस्पतालमा निधन भएको जानकारी दिएका छन् । श्रेष्ठको निधन बोन क्यान्सरबाट भएको स्रोतले दाबी गरेको छ । 

शव सोमबार दिउँसो २ बजेमात्र नेपाल ल्याइने भएको छ । विभिन्न प्राविधिक कारणले गर्दा उनको शव साढे १ बजे इन्डियन एयरलाइन्सबाट नेपालको त्रिभुवन विमानस्थलमा ल्याइनेछ । शवलाई २ बजेबाट बेलुकी साढे ५ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिने छ । चलचित्र विकास बोर्डमा बसेको वैठकले उनलाई राष्टिय सम्मान दिने निर्णय गरेको हो ।

नायक श्रीकृष्ण श्रेष्ठ नायिका श्वेता खड्कासँग विवाह गरेर एक महिनाअघि हनिमुनका लागि सिमला पुगेका थिए । त्यसैबेला बिरामी भएका उनी  अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

चलचित्र ‘कोहिनुर’को प्रदर्शन छेकोमा नव–विवाहित जोडी भारत पुगेको थियो । भारत जाने क्रममा श्रीकृष्णले २ वर्षसम्म सन्तानको कुनै सोच नभएको सुनाएका थिए । तर, भारत गएलगतै उपचारका क्रममा डीप निमोनिया भएको खबरले दर्शक र सिने नगरीलाई चिन्तित तुल्यायो ।

श्रीकृष्ण सिनेमाको पहिलो शोमा सहभागी हुने खबर आयो । हलमा सिनेमा लाग्नु भन्दा एक दिन अगाडि मात्र श्रीकृष्णले निक्कै कारुणिक आवाजसहित सम्बोधन गरेको  अडियो सार्वजनिक भएपछि उनको अवस्था गम्भीर रहेको धेरैले अड्कल काटेका थिए । तर, आइतबार बिहान एकाएक नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर आएपछि सबैलाई स्तब्ध बनायो ।

परिवारका सदस्यहरु आजै दिल्ली जाने तयारीमा छन् । श्रीकृष्णको शवलाई आजै नेपाल ल्याइने समेत आकाशले बताए ।

भुमरीबाट सुरू भएकाे जीवन

वि.सं २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक श्रेष्ठले नायकको रुपमा भने ‘नाता’ चलचित्रबाट करिअर अगाडि बढाएका हुन् ।

श्रीकृष्णले अभिनय गरेका अधिकांश सिनेमा ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहा भेटिएला जस्ता हिट सिनेमा दिएका श्रीकृष्ण निक्कै मिलनसार समेत मानिन्थे । उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनुर’ अहिले हलमा लागिरहेको छ ।

एक महिना अगाडि अर्थात असार २३ गते नायिका स्वेता खड्कासँग बिहे गरेका श्रीकृष्ण त्यस लगतै दिल्ली पुगेका थिए । दिल्ली पुगेलगतै उनी बिरामी भएको खबर आएको थियो । सुख्खा खोकीले ग्रसित नायक श्रेष्ठलाई फोक्सोमा पानी जमेको बताइन्छ ।

जसले सबैलार्इ रूवाएर गए

अभिनेता श्रीकृष्ण श्रेष्ठ बिरामी भएको विषयमा धेरै जानकार थिए । दर्शकदेखि कलाकारसम्मले उनको सु-स्वास्थको कामना गरे ।

लामो समयको प्रेमपछि नायिका श्वेता खड्कासँग बिहे गरे लगत्तै उपचारका लागि भारतको सिमला पुगेका श्रीकृष्णको वारेमा धेरैको अनुमान थियो- केही दिनको उपचारपछि स्वास्थ भएर नेपाल आउनेछन् र उनैले बनाएको फिल्म ‘कोहीनुर’ को प्रदर्शनमा सहभागी हुनेछन् । फिल्म चलेको प्रत्येक हलमा पुगेर दर्शकसंग अंकमाल गर्दै सोध्नेछन् ‘मेरो फिल्म कस्तो लाग्यो ?’ अघिल्लो फिल्म ‘कहाँ भेटिएला’ प्रदर्शनताका उनले धेरै दर्शकसँग हात मिलाउँदै हल-हलमा पुगेका थिए ।

श्रीकृष्णसँग हात मिलाउँदै उनले बनाएको फिल्म हेर्ने सपना पालेका दर्शकका लागि आइतबार बिहानै दुःखको खबर आयो । अब कहिल्यै त्यो अवसर पाउने छैनन् उनका शुभ चिन्तकले । कुशल अभिनेता श्रीकृष्णले यो दुनियाँवाट विदा लिएका छन् सदा सदाका लागि । पछिल्लो पटक ‘कोहीनुर’ नाम राखेर फिल्म बनाएका श्रीकृष्णले फिल्म प्रदर्शनको तिथि नजिकिँदै गर्दा प्राण त्याग गरेर दर्शकदेेखि सहमर्की समेतलाई नरमाइलो बनाइदिए ।

श्वेता खड्कालाई बज्रपात

 सवैभन्दा ठूलो बज्रपात भयो- लामो सयमको प्रेमलाई एक महिनाअघि मात्र विवाहमा परिणत गरेकी पत्नी श्वेता खड्कालाई ।

त्यसो त कोहीनुरका निर्देशक आकाश अधिकारी पनि श्रीकृष्णलाई सन्चो भएको समाचार आउला कि भन्ने प्रतिक्षामा थिए । उनको आशा बिपरितको सन्देश आयो आईतवार बिहान ।  बिहान ५ बज्नै लाग्दा श्रीकृष्णको दाजुले उनको निधन भएको खबर सुनाएपछि केही वेर आकाशको वाक्य बन्द भयो । ‘अकस्मात खबर सुनेपछि केही समय त म बोल्नै सकिँन ।’ निर्देशक आकाशले भने ।

मिडियामा आकाशले नै श्रीकृष्णको निधन भएको सन्देश सुनाए । उनले जीवनमा सबैभन्दा नमीठो अनुभव गर्दै भने– ‘जीवनमा पहिलोपटक सबैभन्दा नमीठो अनुभूति साँचिरहेको छु ।’ फोन गर्नेहरुलाई श्रीकृष्णको मृत्युको खबर सुनाउनु एउटा नमीठो वाध्यता थियाे उनकाे । आकाशले आजको दिन सिंगो नेपाली फिल्म उद्योग स्तब्ध भएको अनुभुति  सुनाएका छन् ।

उनको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली !

सच्याइएको-यसअघि एपोलो अस्पताल भनिएकोमा गंगाराम अस्पताल भएकाले सच्याइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment