+
+
Shares

हिन्दुस्तानका पर्यटक भित्राएर व्यापार घाटा कम गर्न राजदूतको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ५ गते ११:०५

Ranjit-Raya

५ भदौ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रञ्जित राय र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीबीच दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्वन्ध विस्तारबारे छलफल भएको छ ।

भेटवार्तामा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले नपालको भारतसँगको व्यापार घाटा उच्च दरले बढ्दै गइरहेको बताउँदै व्यापार घाटा कम गराउनका लागि सहजीकरणको भूमिका खेलिदिन राजदूत रायसमक्ष आग्रह गरे ।

गत आर्थिक वर्षको एघार महिनामा भारतबाट भएको आयात २८.६ प्रतिशतले बढेको बताउँदै श्रेष्ठले नेपालबाट भारत निकासी हुने र भारत हुँदै तेस्रो राष्ट्रका लागि निकासी हुने बस्तुहरुको सहज पहुँचको व्यवस्था गर्न आग्रह गरेका छन् ।

अध्यक्ष श्रेष्ठले सन् १९९६ को व्यापार तथा पारवाहन सन्धिमा समसामयीक सुधारको आवश्यकता रहेको बताएका छन् । उनले काउण्टर भ्यालिङ ड्युटिज, निजी क्षेत्रका प्रयोगशालाहरुलाई मान्यता दिन, गैर कर अवरोध, प्राविधिक अवरोध, लगायत विभिन्न सेवा शुल्कहरु हटाउन अनुरोध गरेका छन् ।

विशाखापटनम बन्दरगाह प्रयोग बारे चर्चा गर्दै अध्यक्ष श्रेष्ठले भन्सार क्षेत्रको पार्किङ समस्या, कोलकात्ता र हल्दिया बन्दरगाहमा हुने ढिलाई तथा विलम्व शुल्कजस्ता समस्या समाधान गर्न यथाशिघ्र पहल गर्न अनुरोध गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुवै देशबीचका उद्यमी व्यवसायीहरुमा उत्साह थपिएको उल्लेख गर्दै नेपालका जलश्रोत, पुर्वाधार निर्माण, कृषि, पर्यटन, शिक्षा तथा स्वास्थ्यजस्ता क्षेत्रमा लगानी गरी फाईदा लिन राजदूतलाई श्रेष्ठले आग्रह गरे ।

प्रतिउत्तरमा राजदूतले रायले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न दुवै देशका सरकार तथा नीजि क्षेत्रले अधिकतम पहल गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो कार्यकालमा दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्वन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

राजदूतले नेपालमा भारतीय लगानी पवर्द्धनका लागि नेपालको बौद्धिक सम्पत्ति सम्बन्धि तथा श्रम ऐन बाधकको रुपमा रहेकोले यसतर्फ विचार गर्न नेपाल सरकार तथा निजी क्षेत्रलाई अनुरोध गरे ।

भारतमा जलविद्युत तथा उच्च मूल्यका कृषिजन्य उत्पादनको अधिक माग रहेको तथा नाकाहरुमा आवश्यक क्वारेन्टाईन चेक पोष्टको आवश्यकता माथि जोड दिँदै उनले नेपालको प्रयोगशालामा गरिएको परिक्षणलाई समेत मान्यता दिन आवश्यक पहल भइरहेको जानकारी गराए ।

भारतसँगको नेपालको व्यापारघाटा उल्लेख्य रुपमा बढ्नुमा पेट्रोलियम पदार्थको आयात प्रमुख कारण रहेको बताउँदै व्यापार घाटा न्युनीकरण गर्न ठूलो संख्यामा भ्रमण गर्न इच्छुक हिन्दुस्तान पर्यटकहरुलाई आकषिर्त गर्न अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?