+
+
Shares

म आयोजक होइन भन्ने सुदन पुगे जेनजीको केन्द्रमा

सुरुमा आफूलाई स्वयंसेवकमात्र बताइरहेका सुदन क्रमश: आफूलाई नेताको रुपमा प्रस्तुत गरिरहेका छन् । सुरुवातमा आफू आयोजक नै होइन भन्ने सुदन कसरी जेनजी आन्दोलनको केन्द्रमा आइपुगे ?

कौशल काफ्ले कौशल काफ्ले
२०८२ भदौ २९ गते २२:४३

२९ भदौ, काठमाडौं । एउटा युवा आन्दोलन, जसको केन्द्रमा कोही एक नेता देखिन्थेन । अहिले भने विस्तारै त्यसको केन्द्रमा देखिन थालेका छन्, सुदन गुरुङ ।

सत्तापलट हुनेगरी गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनको रापताप अझै सेलाएको छैन । आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री नियुक्ति भएर बल्ल आइतबारबाट काम थालेकी छन् ।

स्थिति  केही सामान्य भएको छ । तर सत्तापलट गर्ने यो आन्दोलनका मुख्य व्यक्ति कोही थिए की स्वस्फूर्त जनता सडकमा आए ? यी दुवै प्रश्नहरूमाथि यतिबेर बहस र विमर्श भइरहेका छन् । जुन विमर्शको केन्द्रमा यतिबेला आइपुगेको एउटा नाम छ– हामी नेपाली अभियानका सुदन गुरुङ ।

जसका सुदनका कामका बारेमा धेरैथरी तथ्य र बहसहरू सञ्चार माध्यम, सामाजिक सञ्जालमा आएका छन् । हामीले आन्दोलन सुरु भएपछिका उनका केही गतिविधि र शैलीहरूलाई पछ्याएका छौं ।

भदौ २३ अर्थात्, सोमबारको दिन सुरुवातमा जेनजीहरू नै देखिएको यो प्रदर्शन भड्किँदा त्यो आन्दोलन जेनजीको मात्र रहेन । माइतीघरमा प्रदर्शन गर्न सुरक्षाकर्मीसँग अनुमति माग्ने अंकित मल्ल र खेमराज साउद फ्रन्टमा देखिएका थिएनन् । गुरुङ अगाडी आए ।

आन्दोलनको पहिलो दिन हामीले रिपोर्टिङको क्रममा सुदनलाई माइतीघरमा भेटेका थियौँ । त्यसबेला उनले अनलाइनखबरसँग भनेका थिए, ‘म आयोजक हैन । पानी बाँड््नेदेखि अरु सहजीकरणको लागि ‘हामी नेपाल’ यहाँ आएको हो । जेनजी भाइबहिनी यसका आयोजक हुन् । यो उनीहरूको आन्दोलन हो ।’

जबकी भदौ २३ को आन्दोलन अगाडि नै उनले आन्दोलनमा सबैलाई एकजुट हुन आह्वान गरेको देखिन्छ । उनले सबै संयन्त्र प्रयोग गरेर जसरी हुन्छ सबैलाई आन्दोलनमा बोलाउन भन्छन् ।

‘इनफ इज इनफ’जस्ता आन्दोलन पनि आफूहरूले सफल बनाएको बताउँदै उनले यसलाई अझ ठूलो बनाउनुपर्ने बताए ।

सुदन गुरुङ र हामी नेपालको इन्स्टाग्राम ह्यान्डलबाट उनले भनेका थिए, ‘८ सेप्टेम्बरमा प्रदर्शन हुने कुरा सबैलाई थाहा छ । माइतीघर मण्डलामा हुँदैछ । भ्रष्टाचार विरुद्ध, सामाजिक सञ्जाल बन्द विरुद्ध र सुशासनको लागि आन्दोलन हुँदै छ । त्यसैले मेरो अनुरोध छ, सबैजना आइदिनु होला ।’

उनले किबोर्डमा बसेर, फेसबुकमा लेखेर, गाली गरेर मात्र केही परिवर्तन हुँदैन भन्दै सडकमा आउन अनुरोध गरेका थिए ।

‘यो एकदिनको आन्दोलन बन्नुहुँदैन । जबसम्म परिवर्तन हुँदैन, तबसम्म परिवर्तन हुँदैन,’ सत्तासीन नेताहरूले अति हेपेको बताउँदै उनले भनेका थिए, ‘सबैले ब्यानर लिएर आउनुहोला । त्यहाँ केही भइहाले हामी पूरै तयार छौँ । एम्बुलेन्स त्यहीँ हुन्छ । मेडिकल टिम पनि त्यहीँ हुन्छ । यो भिडियो सबैमा सेयर गरिदिनुहोला ।’

त्यस्तै, अर्को भिडियोमा उनले नेतृत्व जसले लिए पनि फरक नपर्ने र आफूहरूलाई यसको एजेण्डासँग मात्र मतलब रहेको बताएका छन् ।

सबैको विभिन्न मत आउँदा आफ्ना कुराहरू छरिएको चिन्ता उनको देखिन्छ । त्यसैले एउटा सामाजिक सञ्जाल डिस्कर्डमा एउटा ग्रुप बनाएको बताउँछन् ।

‘सेन्ट्रल कम्यूनिकेसन च्यानल फर प्रोटेस्ट’ भनेर उनले डिस्कर्ड ग्रुप बनाए । कसैले केही पठाउनासाथ यसमा सबैलाई नोटिफिकेशन जान्छ । उनले त्यसको क्यूआर सार्वजनिक गरे ।

र, त्यो ग्रुप कसरी चलाउने भनेर पनि गुरुङले सिकाए ।

‘यहाँ जुन स्थान वा जिल्लामा प्रदर्शन गर्नुहुन्छ, त्यसबारे छुट्टाछुट्टै नोटिफिकेशन आउँछ । प्रदर्शन गर्ने स्थान फेर्नासाथ हामीले मेसेज पठाइहाल्छौँ, नोटिफिकेशन हेरेर सोहीअनुसार गर्न तयार रहनुहोला । तर, यसलाई शान्तिपूर्ण बनाउनुपर्छ,’ आन्दोलनका योजनाबारे उनले बताए ।

पछि यही ग्रुप नै अन्तरिम सरकारको लागि प्रधानमन्त्री र मन्त्रीको लागि मतदान गर्ने एउटा सामूहिक प्लाटफर्म बन्यो ।

यद्यपि, सुदनले यो ग्रुपबारे सूचना सार्वजनिक गर्नुअघि एन.वाई.आर.जी नामक समूह सक्रिय थियो, जसमा ब्यानर, नारादेखि बैठक र कार्यक्रमबारे सूचना आदानप्रदान गर्न छुट्टाछुट्टै समूह थिए ।

तर, जेनजीले डिस्कर्डबाट आन्दोलनको तयारी गरेको समाचार सार्वजनिक भएपछि यसको सुरुवात गरेका व्यक्तिले त्यसलाई निष्क्रिय बनाएका थिए । त्यसमा सुरक्षाको कारण समेत देखाइएको थियो ।

पुरानो ग्रुप बन्द भएपछिकोे खाली स्पेस उनले लिए । यसरी जेनजी आन्दोलनको पृष्ठभूमिमा जोडिएका सुदन भोलिपल्ट प्रदर्शनमा यसको आयोजक आफू नभएको बताए । जुन भिडियो अनलाइनखबरमै प्रशारण भइसकेको छ ।

२३ नै आन्दोलन उनीहरूले सोचेभन्दा फरक हुन्छ । दिउँसोसम्म आइपुग्दा यो नियन्त्रणबाहिर जान्छ । १९ जनाले ज्यान गुमाउँछन् । यसले झन आवेग थप्छ ।

अरु विभिन्न समूहसँगै यो समूहले भोलिपल्ट पनि आन्दोलन चर्काउने घोषणा गर्छ । कर्फ्यूकाबीच माइतीघरमा प्रदर्शन गर्ने सूचना डिस्कर्डमार्फत सार्वजनिक हुन्छ । तर, यो दिनको आन्दोलनले सोचेभन्दा उग्ररुप लिन्छ । त्यसपछि हामी नेपालकै डिस्कर्ड ग्रुपबाट सबैलाई घर फर्कन आह्वान गरिन्छ । तर, जे–जे भएपनि यो रोकिने अवस्थामा थिएन । अधिकांश सरकारी तथा निजी संरचना ध्वस्त हुन्छन् । दिउँसो दुई बजे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन् ।

यसरी सत्तापलट गर्ने आन्दोलनको नेतृत्व को भन्ने प्रश्न उठ्न थाल्छ  । विभिन्न समूहले दाबी गर्न थाल्छन् । तर सामाजिक सञ्जालदेखि सबैतिर उनी देखिन थाल्छन् ।

नेपाली सेनाले नयाँ सरकार बनाउनका लागि सहजीकरण गर्न भन्दै आन्दोलनकारी समूहहरूलाई बोलाएपछि उनी पनि त्यसमा जोडिन्छन् ।

जेनजीको नेतामा ‘ओरिजिनल जेनजी हामी हौँ’ भन्दै दाबी गर्नेहरू बढेपछि प्रधान सेनापतिले पहिला आफ्नो नेतृत्व टुंगोमा पुर्‍याएर आउनु भनेपछि केही समय वार्ता नै हुनसकेको थिएन । हुँदाहुँदा सेनाले जङ्गी अड्डाबाहिर ‘सबैले आफ्नो नेता को हो टुंगो लगाएर भोलि दस बजे सम्पर्क गर्न’  सूचना जारी गर्छ ।

यहीबीचमा जेनजीका तर्फबाट भन्दै सुदन गुरुङ वार्तामा जोडिन्छन् । सँगै वार्ताको टेबलमा पुग्छन्, अर्का विवादित व्यक्ति दुर्गा प्रसाईं ।

जेनजीको प्रतिनिधि भन्दै वार्तामा गएका सुदनमाथि अहिले विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन् । यसको कारण छ– उनले सधैँ जेनजी आन्दोलनको नेतृत्व आफू नभएको बताइरहे । तर, वार्तामा आफैँ बसे ।

तर, सुदनको आनीबानी र शैली फरक–फरक देखिएका छन् । उनी कतै आत्तिएका देखिन्छन्, कतै आक्रोश पोखिरहेका  । कतै रोइरहेका देखिन्छन् तर  कतै आफ्नै साथीसँग झर्किरहेका

जेनजीका अगुवा दाबी गरिएका उनी आफ्नै साथीहरूसँग झर्कदै एउटा भिडियोमा छन् – ‘नगर् न भन्या, म नेता हो र ? जा तिमीहरू जा !

यसरी आफ्नै समूहसँग झर्कीफर्की गरेपछि उनलाई अरुले सम्झाउँछन् । भिडबाट कसैले ‘यत्रो भएपछि स्वभाविक अपेक्षा बढ्छ’ भन्दै सम्झाउन खाजेको सुनिन्छ । उनले त्यसबेला आफ्नै साथीसँग रिसाएकोले अरुले ‘माइन्ड’ नगर्न अनुरोध गर्छन् । फेरि एकैछिनमा शान्त देखिन्छन्, उनी ।

आफ्नो तनाव सुनाउँदै सुदनले थप्छन्, ‘मलाई तनाव छ नि ! उता घाइते पनि हेर्न जानुछ । धेरै जिम्मेवारी छ । सबैले तैले गर्दा यत्रो भयो, तँ लिडर भन्छ । मलाई कति गार्‍हो छ ?’

त्यहाँ मृतकका आफन्तले आफूहरूले लास कुरिरहेकाले सुदनलाई ‘तपाईंहरू लिडर हुनुहुँदो रहेछ । तपाईंहरूको लागि यत्रोले ज्यान दिएका हुन् नि’ भन्दै प्रश्न गर्छन् । केहीबेर अघि रिसाएका सुदन दोहोर्याउँछन् – टिम हामी हैन के ! टिम त कति धेरै रहेछन्–रहेछन् । हामीले पनि साथ दिएका मात्र हौँ, लिडर हैनौँ ।

सबैभन्दा चर्चामा आएको उनको अर्को भिडियो छ – सेनाका प्रमुखसँग भन्दै गरिएको फोन कल । जुन आफैँ विवादित छ । जसरी सेना प्रमुख वा माथिल्लै तहका कोहीसँग फोन कल गरिएको भन्दै हल्ला भयो, त्यो सत्य देखिन्न । यद्यपि, उक्त कलमा सुदन एकदमै आक्रोशित देखिन्छन् । उनका शब्दचयन र छलफल गर्ने तरिका कुनै नेतृत्वमा हुनुपर्ने गुणसँग मेल खाँदैन ।

सेनासँग भन्दै गरिएको उक्त फोन कलमा उनले भनेका छन् – दश/एघार बजेसम्म डिसिजन आएन भने हामी राष्ट्रपति कार्यालय घेर्छौँ । अस्ति हामीले छोडिदिएका छौँ । राष्ट्रपतिलाई छोएका छैनौँ ।

सुशीला कार्कीलाई आफूहरूले प्रधानमन्त्री प्रस्ताव गरिसकेको बताउँदै उनी थप्छन्, ‘हामी गोली खान तयार छौँ । म सिरियस छु । अब पनि डिसिजन आएन भने रामचन्द्र पौडेललाई थुत्ने काममा मेरो पहिलो हात हुन्छ है दाइ ।’

यसरी वार्तामा होस् या अन्यत्र, सुदनको राजनीतिक संस्कार फरक देखिन्छ । जति घटनाक्रम विकसित हुँदै जान्छ, उनको शैली अनौठो देखिदै जान्छ । साना प्रश्नहरूमा झर्किन्छन् ।

राष्ट्रपतिसँग वार्ताको लागि शीतलनिवास पुग्दा पनि उनको रबैया कस्तो थियो उनी आफैले आइतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनमा छरपस्ट पारिसकेका छन् । आइतबार भाँडभैलो भएको कार्यक्रममा उनी आक्रोशित र उत्तेजित  थिए ।

जस्तो, शितलनिवासमा वार्ताको लागि पुग्दा कर्मचारी अघि सरेपछि आफूले ‘बाजेसँग नै कुरा गर्छु’ भनेको सुदनले सुनाए । सञ्चारकर्मीले उनलाई सोधेका थिए, ‘आन्दोलनले के उपलब्धि दियो ? ६ महिनापछि तिनै दल आउँछन् ।’

सुदनले जवाफ दिए, ‘हामी फेरि आन्दोलन गर्छौँ । आउनै दिँदैनौँ । घरबाट बाहिर निस्कनै दिँदैनौँ । म निस्कन दिन्नँ ’

यसरी आक्रोशित भएर प्रस्तुत भइरहेपछि त्यहाँ रहेका सञ्चारकर्मी, आफूलाई आन्दोलनका घाइते तथा मृतकको आफन्त बताउने व्यक्ति र अभियन्ताबीच विवाद भयो । र, पत्रकार सम्मेलन नै भाँडियो । कुटाकुटमा परिणत भयो ।

सुरुमा आफूलाई स्वयंसेवकमात्र बताइरहेका सुदन क्रमश: आफूलाई नेताको रुपमा प्रस्तुत गरिरहेका छन् । सञ्जालमा अधिकांशको शंका र प्रश्न छ – सुरुवातमा आफू आयोजक नै होइन भन्ने सुदन जेनजीको वार्तामा किन पुगिरहे ? कसरी जेनजी आन्दोलनको केन्द्रमा आइपुगे ?

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?