Comments Add Comment

पर्वत पुग्यो ‘लोलुफेरा’ पदयात्रा टोली

lomangthang-1

६ भदौ, पर्वत । लोमान्थाङदेखि लुम्बिनी र फेवातालदेखि रारातालसम्मको क्षेत्रलाई मुलुककै नमुना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले सुरु भएको लोलुफेरा पदयात्राको टोली पर्वतमा आइपुगेको छ ।

मुस्ताङको लोमान्थाङदेखि दक्षिणमा लुम्बिनीसम्म र पोखराको फेवातालदेखि डोल्पाको रारातालसम्म लोलुफेरा पर्यटन मार्गका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन तथा अन्वेषण गर्ने उद्देश्यले पदयात्रा सुरु गरिएको हो ।

पोखराको रत्नमन्दिरमा राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेपछि भदौ १ गतेदेखि सुरु भएको पदयात्रा टोली कास्कीको पुम्दीभुम्दीस्थित शान्ति स्तुपा हुँदै कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे, पर्वतको होमस्टे सेवा सुरु भएको चित्रे हुँदै कुस्मा आइपुगेको हो ।

लोमान्थाङदेखि लुम्बिनीसम्मको क्षेत्र र फेवादेखि रारासम्मको क्षेत्र, धार्मिक, सांस्कृतिक, प्राकृतिक रुपमा समेत विश्वकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना भएकाले उक्त सम्भावना बाहिर ल्याउनका लागि पदयात्रा सुरु गरिएको लोलुफेरा अभियानका सहजकर्ता कृष्ण केसीले जानकारी दिए ।

‘यी दुवै क्षेत्र विश्वमै दुर्लभ पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले एकीकृत प्याकेज बनाउन आवश्यक छ”-सहजकर्ता केसीले भने- ‘यो सम्भावनाको एकीकृत रुपमा खोजी नसकेकाले लोलुफेरा अभियान सञ्चालन गरिएको हो ।’

Lumbini

मुस्ताङको लोमान्थाङ विश्वको पुरानो मानव सभ्यता भएको ठाउँ भएकाले त्यसलाई विकास र प्रवर्द्धन गर्न सकेमा प्राकृतिक सुन्दरता मात्र नभई सभ्यता अध्ययन र अवलोकनका लागि समेत लाखौँ पर्यटक आउन सक्ने सम्भावना रहेको केसी बताउँछन् ।

लोमान्थाङदेखि कालीगण्डकीको किनारैकिनार सभ्यतादेखि धार्मिक पर्यटनका रुपमा मुक्तिनाथ, लुम्बिनीसम्म धार्मिक पर्यटनको विकास गर्ने, दृश्यावलोकनदेखि जलयात्रा, बञ्जी जम्पसम्मका साहसिक पर्यटनको विकास गर्न प्याकेज पर्यटन कार्यक्रम सुरु गर्न सकिन्छ ।

रारादेखि पर्वत, बागलुङ, गुल्मी, म्याग्दी र डोल्पाको क्षेत्रमा पर्यटन, जडीबुटी, दृश्यावलोकन, अनुसन्धानलगायतको थुप्रै खालका पर्यटन विकासको एकीकृत प्याकेज सुरु गर्न पदयात्रा अभियानले सहयोग पुर्‍याउने भएको छ । ढोरपाटनमा सिकार आरक्ष, मुगुमा रारा र डाेल्पामा से फोक्सुन्डो ताल, म्याग्दी र पर्वतमा पदयात्रा र प्राकृतिक सुन्दरतादेखि जडीबुटीको अनुसन्धान र व्यापार गर्न सकिने सम्भावना छ ।

rara-lake

‘लुम्बिनी पुग्ने पर्यटकलाई यस क्षेत्रमा एकीकृत प्याकेजसहित लोमान्थाङ पुर्‍याउने तथा  पोखराको फेवातालमा पुग्ने पर्यटकलाई रारासम्म पुर्‍याउन अभियानले एउटा ठोस कार्यक्रम बनाउने छ’- केसीले भने ‘यो क्षेत्रलाई पश्चिम नेपालकै उत्कृष्ट र लोभलाग्दो पर्यटकीय गन्तव्य बनाउन जरुरी भएको छ ।’

पदयात्रा टोलीले पर्वत, बागलुङ, गुल्मी, म्याग्दी, मुस्ताङ र डोल्पा, अर्घाखाँचीसम्म पैदलै पुगेर अन्तक्रिर्या गर्ने, फोटो र भिडियो सार्वजनिक गर्ने तथा यस क्षेत्रको सम्भावना र विकासको योजना सरकारसँग पेस गर्नेे र अभियान असोज २४ गते समापन हुने उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment