Comments Add Comment

सुशील कोइरालाको उत्तराधिकारीमा शशांकको चर्चा

jagannath-dulalजगन्नाथ दुलाल/ राजनीतिक टिप्पणी

मुलुकको जेठो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा यतिबेला बीपी पुत्र ‘शशांक’ कोइरालाको नाम चर्चामा छ । पछिल्लो राजनीतिक आन्दोलनपछि सक्रिय राजनीतिमा देखा परेका कोइराला संस्थापक नेता बीपीका पुत्र हुन् ।
पार्टी संस्थापक परिवारको सन्तान उनको सबैभन्दा ठूलो पुँजी हो ।

पार्टीमा देखिएको बंशवादको परम्परा र ‘लिगेसी’ का कारण उनले पार्टीको वागडोर सम्हाल्नु पर्छ भन्ने एउटा जबरजस्त तप्का कांग्रेसमा छ ।

पार्टीमा २ पटक केन्द्रीय सदस्य निर्वाचित भइसकेका उनलाई त्यो सफलता मिल्नुकोे प्रमुख कारण पनि पारिवादको लिगेसी नै हो । अघिल्लो साता एकाएक उनी केही साप्ताहिक र अनलाइनहरुमा सुशीलका उत्तराधिकारीका रुपमा चर्चामा आए ।

Dr. Shashanka Koirala 1

त्यसका लागि महाधिवेशनको पूर्वसन्ध्यामा जसरी गिरिजाप्रसाद कोइरालाले शुसीललाई कार्यवाहक अध्यक्ष बनाएका थिए, त्यसरी नै शशांकलाई सुशील कोइरालाले महामन्त्री मनोनित गर्दैछन् भन्ने चर्चा चल्यो ।

विधानतः नेपाली कांग्रेसमा दुईजना महामन्त्री रहन्छन् । निर्वाचित र मनोनित । निर्वाचित प्रकाशमान सिंह र मनोनित कृष्णप्रसाद सिटौला महामन्त्री छन् । महाधिवेशन आउन करिब एक वर्ष बाँकी छ । यस्तो परिस्थितिका वीच शशांकको नाम चर्चामा ल्याइनु रहस्यमय र अर्थपूर्ण छ ।

कांग्रेसवृत्तमा शशांकको नामबारे गाइंँगुई हल्ला चलेको छ, भावी सभापतिका दाबेदार भनेर । आउँदो महाधिवेशनमा पार्टी सभापतिको दाबेदार बनाउन उनलाई महामन्त्री बनाउन लागिएको हो ।

एकै पटकमा पार्टी सभापतिमा उठ्दा वरियताक्रम र हैसियत पनि नपुग्ने भएकाले पहिले महामन्त्री बनाउने तयारीमा पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला रहेको बताइन्छ ।

शशांकको चर्चा कांग्रेसवृतमा भुसको आगोसरि सल्किरहेको छ । सिद्धान्तनिष्ठ नेता तथा कार्यकर्ता यो हल्ला निराधार मान्छन् । केहीले समाचार उत्पादन गर्ने तप्काले चलाएको हल्ला भएको बताउने गरेका छन् ।

कोइराला परिवारलाई नजिकबाट बुझेका कांग्रेसजनहरु ‘शशांक’ कार्डलाई पार्टीमा आफ्नो भविष्य नदेख्नेहरुले कोइराला परिवारको आर्शिवाद थाप्नकै लागि भए पनि शशांकलाई नेतृत्वमा स्थापित गरेर आफ्नो भविष्य सुरक्षित गर्न चलाएको अभियान भएको बताउँछन् ।

सुशीलको उत्तराधिकारी को ?

सभापति सुशील कोइरालालाई पटक-पटक अबको उत्तराधिकारी को भन्ने प्रश्न नगरिएको होइन । तर, कोइरालाले औपचारिक रुपमा मुख खोलेका छैनन् । पक्कै पनि अन्तर्मुखी स्वभावका कोइरालाले हालै २६ जनाको नाममा रुक्मिणी कोइरालाको नाम सार्वजनिक गर्नु र अवैतनिक भए पनि सल्लाहकारको सुचीमा मृदुला कोइरालालाई थप गर्नुले उनी कोइराला लिगेसीको विपक्षमा छन् भन्न सकिँदैन । यसले शशांकको चर्चा पनि उसै चलाइएको होइन भन्नेहरुको मतलाई बल मिलेको छ ।

तर, पार्टी नेतृत्वका लागि परिवारबाटै भए पनि उपयुक्त पात्र को ? शशांक, शेखर वा सुजाता ? उल्लेखित पात्रहरुलाई विरासत हस्तान्तरण गर्नु पक्कै पनि सुशीलका लागि सहज छैन । वीपीको सामीप्यमा हुर्किएका शुसील अरुभन्दा बीपीपुत्र शशांकप्रति अलि उदार छन् भन्नेहरु प्रशस्त छन् कांग्रेसभित्र ।

प्रधानमन्त्री भएपछिका विभिन्न स्थानमा नियुक्ति र सरुवा बढुवाको निर्णय गर्दा शशांकसँग अन्तिम सुझाव माग्नु र उनकै सुझाव अनुसार अन्तिम निर्णय लिनुले पनि सुशीलको झुकाव शशांकतिरै छ भन्ने आशंकालाई थप बल मिलेको छ ।

संविधानसभा र पार्टी महाधिवेशनमा कोइराला परिवारको नेतृत्वका कारण सफलता पाएको दाबी गर्दै हौसिने कांग्रेसजन यतिबेला शशांकलाई उत्तराधिकारी बनाउन भरमग्दूर लागिरहेका छन् । पार्टी सभापति कोइरालाले बालुवाटारमा उनीहरुका लागि ढोकाको ‘गजवार’ खुकुलो बनाइदिएका छन् ।

के साँच्चै पार्टी सभापति सुशील चर्चा गरिएजस्तो शशांकलाई महामन्त्री मनोनित गर्ने प्रपञ्चमा लागेकै हुन त ? यदि हुन् भने अब पनि योगदानविना विरासतले उत्तराधिकारी चयन गर्ने सभापति कोइरालाको ल्याकतको मूल्यांकन कांग्रेसजनले अवश्यै गर्लान् । जस्केलाबाट विरासत भित्र्याएर शासन र नेतृत्व सम्हाल्ने दिन गए भन्ने आवाज कांग्रेसभित्रै उठ्न थालिसकेको छ ।

त्यस्तो निर्णय गरियो भने कोइराला परिवार पार्टीका निष्ठावान कार्यकर्ताका लागि अपि्रय पनि हुनसक्नेछन् । साथै यो निर्णय परिवारका सदस्यकै वीचमा पनि आत्मघाती नहोला भन्न सकिन्न । किनभने यो निर्णय सुजाता कोइरालाकै लागिसमेत अपि्रय बन्न सक्छ ।

पार्टीभित्र वीपीको बंशवाद कायम राख्न चाहनेहरुका लागि आशा लाग्दा सन्तान शशांक नै हुन् । प्रकाशले कांग्रेसीहरुको शब्दमा बाटो बिराइसकेका छन् । त्यसैले शंशाकको मूल्यांकन गरिएको हुन सक्छ ।

तर, कसैले चर्चामा ल्यायो भन्दैमा आफ्नो योगदान र आफुले खेलेको भूमिकाको मुल्यांकन शशांकले आफै पनि गरेकै हुनुपर्छ । किनभने, उक्साहटमा सुशीललाई त्यस्तो निर्णय गर्न बाध्य पारियो भने शशांकको राजनीतिक जीवन आरोहको बाटोबाट अवरोहको मार्गतर्फ उन्मुख हुने खतरा देखिन्छ ।

कोइराला परिवारका चुनौती

Dauba-ramchandra-and-sitaula

सुशीलको चाहना जेजस्तो भए पनि आउँदो वर्ष हुने महाधिवेशनमा कोइराला परिवारको पुनरावृत्ति हुने सम्भावना न्यून छ । त्यस्तो अवस्थामा संस्थापन भनिएको पक्षसँग दुईवटा विकल्प देखिन्छन् । कोइराला परिवारप्रति संधै इमान्दार देखिएका उपसभापति रामचन्द्र पौडेल यसका लागि इमान्दार पात्र हुन सक्छन् । अर्का पात्र मनोनित महामन्त्री कृष्ण सिटौला हुन सक्छन् ।

अझ अघिल्लो महाधिवेशनपछि कोइराला क्याम्पमा आएका निर्वाचित महामन्त्री प्रकाशमानसिंह कोइराला लिगेसी कायम गर्न फलामको चिउरा साबित हुने देखिन्छन् ।

तर, कोइराला ‘लिगेसी’ चाहनेहरु पौडेल, सिटौला वा सिंहलाई सभापति देख्न नै चाहन्नन् । अर्कोतिर कोइराला परिवारसँग आफ्नै परिवारका कुनै सदस्य ‘सभापति’ बन्ने स्वभाविक हैसियत देखिँदैन । त्यसैले महाधिवेशन अघि शशांकलाई महामन्त्री बनाउने प्रपञ्च सभापतिका लागि हाइट पुर्‍याउने नै हो भन्ने देखिन्छ ।

दुईपटक सभापति पदमा उम्मेद्वार बनेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पौडेल र सिटौलाको सहमतिविना सुशीलले उत्तराधिकारी छनोटको निर्णय लिन सक्लान् ? त्यसो नगरुन् भनेर कामना गर्नेहरु कोइराला क्याम्पमै थुप्रै छन् ।

अनुमान र आँकलन विपरीत सुशीलले यस्तो जोखिम मोले भने के आउँदो महाधिवेशनमा शशांक सभापति बन्लान् ? सभापति बनाउने योजनाका साथ महामन्त्रीमा शशांकलाई अघि सारिए त्यसमा पौडेल, सिटौला र सिंहले सहमति जनाउन सक्ने पृष्ठभूमि कोइराला परिवारले यस अवधिसम्म बनाउन सकेको छैन ।

राजनीति जोगी हुनका लागि गरेको होइन भन्ने पौडेल, महामन्त्रीद्वय सिंह र सिटौला हातमा दही जमाएर बस्ने छैनन् । विगतमा वीपीसँग काम गरेका, गिरिजाप्रसादका उपसभापति भइसकेका र सुशीलका समेत उपसभापति भइसकेका पौडेलले शशांकलाई सभापतिका रुपमा स्वीकार्छन् भन्ने भ्रम कांग्रेसभित्र त के, गैरकांग्रेसले समेत नपत्याउने विषय हो ।

अर्का पात्र सिटौला नेपालको शान्तिप्रक्रियाका नायक गिरिजाप्रसादका सारथीका रुपमा काम गरेका व्यक्ति हुन् । माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन र राजसंस्थाको शान्तिपूर्ण विदाइमा सशक्त भूमिका निर्वाह गर्दै गणतन्त्र स्थापनामा भूमिका खेलेका सिटौलाई चिढ्याउनु कोइराला परिवारका लागि महंगो सावित हुन सक्छ ।

वर्तमान सरकारमा उप-प्रधामन्त्रीविना मन्त्री बनाइँदा जिम्मेवारी नस्वीकारेका महामन्त्री सिंहसँग पनि पिता गणेशमान सिंहको लिगेसी छ । पद र प्रतिष्ठाको महत्व राम्रै बुझेका प्रकाशमानमा बाबुको जस्तो आदर्शको राजनीति छैन । उनी पनि पार्टीको बागडोर सम्हाल्न लालायित छन् ।

संस्थापन पक्षभित्रको फुटले पार्टी नेतृत्व हत्याउन ‘कोइराला क्याम्प’ का शसक्त विद्रोही वरिष्ठ नेता शेरबहादुर देउवालाई सहज हुनेछ ।

देउवा पक्षको उत्साह

महाधिवेशनपछि भएका भ्रातृसंस्थाको नेतृत्व आफ्नो पक्षमा ल्याइसकेको ‘देउवा क्याम्प’ शशांकलाई अघि सार्ने चर्चासँगै थप उत्साही देखिएको छ । देउवा पछिल्ल्ाोपटक आफ्नो आहारलाई दुषित बनाउन चाहन्नन् । त्यसै पनि उनी पहिले जस्तो स-साना असन्तुष्टीलाई व्यक्त नगरी समवन्यकारी भूमिकामा देखिएका छन् । राजनीतिक योगदानमा कनिष्ठ साबित शशांकलाई नै अघि सार्ने कुरा ‘देउवा क्याम्प’ तासको जोक्कर मान्छन् ।

लीगेसी चल्ला ?

दक्षिण एशियाको राजनीतिमा परिवारवादको चर्चा हुने गर्छ । भारतमा गान्धी, पाकिस्तानमा भुट्टो, श्रीलंकामा बन्दरानाइके जस्तै नेपालमा कोइराला परिवारको बिरासत छ । तर, पछिल्ला संकेतहरु लिगेसीप्रति जनतामा रुचि घट्दै गएको देखिन्छ ।

केही महिनाअघि भारतमा भएको लोकसभा निर्वाचनमा गान्धी परिवारले ४ दशकपछि लज्जास्पद हार व्यहोर्नुपर्‍यो । सन् १८८५ मा स्थापना भएको कांग्रेसले ४ दशकअघि विषम परिस्थितिमा चोइटिएर बनेको भारतीय जनता पार्टीसँगको प्रतिस्पर्धामा नराम्रो हार व्यहोर्नुपर्‍यो ।

अहिलेको सत्तासीन दल भाजपाले आफ्नो चुनावी अस्त्र नै कांग्रेसभित्रको बंशवादलाई बनायो । परिणामस्वरुप कांग्रेस आईको लज्जास्पद हार भयो । कुल ५ सय ४५ सिटमध्ये ४४ सीटमा मात्र जितेर कांग्रेस खुम्चिएर बस्नु परेको छ ।

नेपालमा पनि गिरिजाप्रसादले छोरी सुजातालाई पार्टी र सरकारमा लैजाँदा सर्वत्र आलोचना भएको थियो । शान्ति प्रक्रियाको नेतृत्वदायी भूमिका खेलेका पार्टी सभापति कोइराला जीवनका अन्तिम क्षणमा सन्तानप्रतिको मोहका कारण युग पुरुषमा दर्ज हुन सकेनन् । आर्दश र निष्ठामा प्रतिवद्ध देखिएका सुशीलमा गिरिजामा जस्तो ‘डिक्टेट’ गर्न सक्ने क्षमता छैन । उनले जवर्जस्त उत्तराधिकारी स्थापित गर्न खोजे उनको नाम पार्टी इतिहासमा ‘काइते’ अक्षरले लेखिनेछ ।

उनको प्रतिष्ठा काँग्रेसभित्रै र बाहिर पनि बीपी र गिरिजाजस्तो लोकपि्रयता छैन । कोइराला परिवारभित्रै बीपी, गिरीजाप्रसाद र नोना कोइरालाको बिरासत खोज्नेहरुवीचको अन्तरद्वन्द्व छ । वंशपरम्पराका आधारमा चल्ने राजसंस्था विदा गरेका नेपाली जनताले बलिदानी योगदान विनाको कोइराला बंशवादलाई निरन्तरता दिनेमा पक्षमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment