Comments Add Comment

भोट नदिएको भन्दै नेपाल टेलिभिजनका पत्रकार निश्कासित

२५ भदौ, काठमाडौं । सरकारबाट सन्चालित नेपाल टेलिभिजनले नेपाल प्रेस युनियनको हालै पोखरामा सम्पन्न महाधिवेशनमा संस्थापन पक्षका उम्मेदवारलाई नसघाएको आरोपमा दुई पत्रकारलाई जागिरबाट हटाएको दावी युनियनले गरेको छ ।

नेपाल टेलिभिजनका रोल्पा संवाददाता राजेश बुढाथोकी र झापा संवाददाता भीम नेम्वाङलाई जागिरबाट हटाइएको प्रेस युनियनले जनाएको छ । उनीहरु दुवै प्रेस युनियनका महाधिवेशन प्रतिनिधि हुन् ।

पोखरामा भएको निर्वाचनमा कांग्रेसको संस्थापन पक्षका उम्मेदवार शिव लम्साललाई हराउन शेरवहादुर देउवा पक्षधर बद्री सिग्देललाई सघाएको आरोपमा उनीरुलाई निकालिएको युनियनका सचिव सूर्यकुमार क्षेत्रीले बताए ।

नेपाल टेलिभिजनका जिल्ला व्यूरो प्रमुख निराजन खनालले इमेलमार्फत आफूहरुलाई संस्थापन पक्षलाई असहयोग गरेको आरोप लगाई कामबाट निकालेको जानकारी गराएको निकालिएका पत्रकारहरुले बताएका छन् ।

प्रेस युनियनका सचिव क्षेत्रीले एउटा पत्रकार संगठनको महाधिवेशनको विषयलाई लिएर श्रमजीवी पत्रकारको रोजिरोटी खोस्ने कुरा स्वीकार्य नहुने भन्दै उनीहरुलाई तत्काल पुनर्वहाली नगरे आन्दोलन हुने चेतावनी दिएका छन् ।

महाप्रबन्धकले भने- होइन

यसैबीच नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईले प्रेस युनियनको आरोपलाई अस्वीकार गरेका छन् ।

उनले झापा संवाददाता भीम नेम्वाङलाई निश्कासन नगरिएको र रोल्पा संवाददाता बुढाथोकीलाई समाचार नपठाएको र काम नगरेका कारण उनको करार अवधि नथपिएको प्रष्ट पारेका छन् ।

हुमागाईले अनलाइखबरसँग भने- उनको जागिर जानु र प्रेस युनियनको अधिवेशनबीच कुनै पनि सम्बन्ध छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment