Comments Add Comment

धर्ना बस्दाबस्दै आठ ज्येष्ठ नागरिकको मृत्यु, मागको सुनुवाइ भएन

२७ भदौ, काठमाडौं । विभिन्न माग राखेर करिब १९ महिनादेखि धर्ना बस्दैआएका ज्येष्ठ नागरिकमध्ये आठजनाको मृत्यु भइसक्दासमेत उनीहरुको मागको सुनुवाइ भएको छैन ।

विसं २०६९ फागुन २४ गतेदेखि मीनभवनस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागको कार्यालय ढोका अगाडि दैनिक रुपमा धर्ना बस्दै आएका ज्येष्ठ नागरिकमध्ये आठजनाको धर्ना बस्दाबस्दै मृत्यु भएको हो ।

धर्नामा सहभागी ज्येष्ठ नागरिकमध्ये धेरैजनाका छोराहरु नेता हुनुहुन्छ, बुहारी सरकारी जागिरे हुनुहुन्छ, तर आमाबाबुको सबै सम्पत्ति आफ्नो नाममा नामसारी गरेर बुढेसकालमा बाबुआमालाई सडकमा बेवारिसे छोडिदिनुहुन्छ- नयन्द्रबहादुर खड्का

गएको उन्नाइस महिनाको अवधिमा रामु पोखरेल (काठमाडौं, ८० वर्ष), नरबहादुर खाँड (चितवन, ७२), लालबहादुर खत्री (भक्तपुर, ८०), वासु लम्साल (काठमाडौं, ६५), सीमा पराजुली (भक्तपुर, ६१), प्रेमहरि अमात्य (काठमाडौं, ६५) र तेजकुमार दाहाल (भक्तपुर, ६१) को मृत्यु भएको हो । मृत्यु हुने काभ्रे जिल्ला बनेपाका एकजना ज्येष्ठ नागरिकको नाम खुल्न सकेको छैन ।

ज्येष्ठ नागरिक संयुक्त संघर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले उपप्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता, पूर्वप्रधानमन्त्रीहरु धर्नास्थलमा आएर माग पूरा गरिदिने आश्वासन दिए पनि अहिलेसम्म एउटा माग पनि पूरा नभएको बताए ।

ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९ (२) ले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई कम्तीमा ५० प्रतिशत छुट दिने गरेको व्यवस्था तुरुन्त लागू गर्नुपर्ने, सर्वोच्च अदालतले विसं २०६७ चैत २४ गते सरकारको नाममा जारी गरेको परमादेशको आदेश तुरुन्त लागू गर्नुपर्नेलगायतका आठ सूत्रीय माग राखेर धर्ना बस्दै आएका छन् । धर्नामा ६० देखि ९८ वर्षसम्मका करिब ३०० जना वृद्धवृद्धाको सहभागिता छ ।

अध्यक्ष पराजुलीले भने-‘१९ महिनाको अवधिमा घामपानी, हावाहुरी नभनी यो बुढेसकालमा दैनिक रुपमा दिनैभरि धर्ना बस्दै आएका छौं, यो अवधिमा प्रहरीको धरपकडबाट धेरै जना ज्येष्ठ नागरिक घाइते हुनुभएको छ तर पनि हाम्रा मागप्रति सरकारले कुनै चासो देखाएको छैन ।’

माग पूरा नहुन्जेलसम्म ज्यान गए पनि धर्ना नतोड्ने भन्दै उनले तोड्न परे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

धर्नामा बस्ने ज्येष्ठ नागरिकमध्ये धेरै जना आफन्त नभएका, छोरा बुहारीले वृद्धाश्रम र सडक छेउमा बेवारिसे अवस्थामा छोडिदिएका, आफन्तले घरबाट निकालिदिएका विभिन्न दलका नेता, सरकारी कर्मचारी र राज्यका जिम्मेवार निकायमा रहनुभएका व्यक्तिका आमाबाबु सहभागी छन् । संघर्ष समितिका सहअध्यक्ष नयन्द्रबहादुर खड्काले भने-‘यहाँ धर्नामा सहभागी ज्येष्ठ नागरिकमध्ये धेरैजनाका छोराहरु नेता हुनुहुन्छ, बुहारी सरकारी जागिरे हुनुहुन्छ, तर आमाबाबुको सबै सम्पत्ति आफ्नो नाममा नामसारी गरेर बुढेसकालमा बाबुआमालाई सडकमा बेवारिसे छोडिदिनुहुन्छ ।’

पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, बाबुआमा जीवित रहुन्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाका विरुद्धमा सन्तानले कुनै बहानामा उजुरी गर्न नपाइने कानुनी व्यवस्था हुनुपर्ने उहाँको माग रहेको छ ।

५०० को वृद्ध भत्तालाई बढाएर कम्तीमा पनि मासिक तीन हजार हजार कायम गर्नुपर्ने संघर्ष समितिको माग छ । संघर्ष समितिका उपाध्यक्ष गमबहादुर क्षेत्रीले सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मात्र वृद्ध भत्ता दिने गरेको हुँदा ६० वर्षदेखि नै दिन सुरु गर्नुपर्ने माग गरे ।

२०६८ सालको जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या करिब २२ लाख रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment