
३० भदौ, नुवाकोट । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनमा खराबी उत्पन्न हुँदा चिलिमे जलविद्युत केन्द्रको उत्पादन बन्द भएको छ ।
केन्द्रीय प्रशारण लाइनमा जोड्न लगेको विद्युत तारको नुवाकोट गेर्खु गाँउस्थित ८८ नम्बरको पोलको डिस पड्कँदा शनिबार बिहान २ बजेदेखि चिलिमेको विद्युत उत्पादन बन्द भएको हो ।
रसुवामा रहेको चिलिमे जलविद्युत केन्द्रको उत्पादन बन्द हुँदा शनिबारदेखि रसुवाको अधिकांश स्थानमा विद्युत सेवा अबरुद्ध भएको छ । केन्द्रीय प्रशारण लाइनमा जोड्न लगेको प्रति घण्टा २२ मेगावाट क्षमताको विद्युत खेर गइरहेको छ ।
चिलिमेको विद्युत उत्पादन बन्दले चिलिमे जलविद्युत केन्द्रलाई प्रतिघण्टा एक लाख ७१ हजार ८ सय २० रुपैयाँ नोक्सान भइरहेको केन्द्र प्रमुख रामकुमार बलालले जानकारी दिए ।
शनिबार बिहान भैंसेमा डिस पड्कँदा स्थानीय ५८ घर परिवारको बिग्रन गएको विभिन्न विद्युतीय उपकरणहरुको क्षतिपूर्तिको लगत संकलन गरी एक साता भित्र क्षतिपूर्ति दिनुपर्ने, यसअघि सोही स्थानको डिस पड्कँदा पुग्न गएको स्थानीयवासीको क्षति तत्काल दिनुपर्ने र केन्द्रीय प्रशारण लाइनको भैंसेमा रहेको विद्युत खम्बा अन्यत्र सार्न स्थानीयवासीको माग स्थानियहरुले राखेका छन् ।
कपिलदेव खनाल
प्रतिक्रिया 4