+
+
Shares

राजमार्गका होटलमा एउटै मूल्यसूची, यात्रु ठगिनबाट बच्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३१ गते १७:२४

Muglin-Hotel

३१ भदौ, काठमाडौं । राजमार्ग छेउमा रहेका होटलहरूको दररेटमा एकरुपता ल्याउन चितवनमा आजबाट अभियान सुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेले आज रामनगरको होटल राइस प्यालेसमा मूल्यसूची राखेर अभियानको सुरुवात गरेका हुन् ।

राजमार्ग छेउमा रहेका चितवनको पूरै क्षेत्र, नवलपरासीको बर्दघाटसम्म र छिमेकी जिल्ला मकवानपुरको सिमाना क्षेत्रमा एउटै दररेटका मूल्य कायम गरिएको छ ।

होटल व्यवसायी सङ्घ चितवनले सबै होटलमा सूची टाँस्न लगाएर एउटै दररेट कायम गर्ने जनाएको छ । मूल्यसूची टाँसेपछि प्रमुख जिल्ला अधिकारी विकेले मूल्यमा एकरुपता भएसँगै यात्रुलाई सहज हुने बताए ।

गुणस्तरीय खाना खुवाउन र सूचीअनुसार मात्र रकम लिन उनले आग्रह गरे । सो अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख टीकाराम भुसाल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष कल्याण जोशी, यातायात राष्ट्रिय महासङ्घका उपाध्यक्ष राम सुवेदी, होटल व्यवसायी महासङ्घका उपाध्यक्ष श्रीराम गिरीलगायतले मूल्यमा एकरुपता ल्याएसँगै अस्वस्थ प्रतिस्पर्धा हट्ने बताए ।

नयाँ मूल्यसूचीअन्तर्गत सादा खानाको रु १२० छ भने पानी प्रतिबोतल रु २० रहेको छ । खाना र खाजामा प्रयोग हुने धेरैजसो परिकारको दररेट मूल्यसूचीमा उल्लेख गरिएको छ ।

अहिले कायम गरिको दररेट पहिलेको भन्दा केही कम रहेको व्यवसायीले बताएका छन् । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष इमान्दु बरालले नयाँ मूल्य कायम भएपछि यात्रु र होटल व्यवसायी दुवै पक्षलाई सहज हुने बताए ।

चितवनको पूरै राजमार्ग क्षेत्र र नवलपरासिको गैँडाकोटदेखि बर्दघाटसम्म राजमार्ग आसपासमा ३०० को हाराहारीम्ाा होटल रहेको बताइएको छ । चाडबाडसँगै होटलहरूले मनोमानी रकम असुल्न सक्ने भन्दै स्थानीय प्रशासनले होटल व्यवसायीसँग मिलेर मूल्यसूची तयार गर्न लगाएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?