Comments Add Comment

कृषि मन्त्रीले भने -कृषि बजार स्थापनामा सरकारले सहयोग गर्छ

१ असोज काठमाडौं । कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि उत्पादन बृद्धिसँगै बजारको खाँचो भएको बताएका छन । सरकारले बजार व्यवस्थापनमा निजीक्षेत्रलाई सहयोग गर्ने तयारी गरिरहेको बताए ।

बल्खु कृषि तथा तरकारी बजारको दोस्रो वाषिर्कोत्सवका अवसरमा मन्त्री पराजुलीले बुधबार आफ्नै खुट्टामा उभिन सक्ने नहुन्जेलसम्म राज्यले नै सहयोग गर्ने कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

नेपालको कृषि निर्बाहमूखी भएकोले फड्को मार्न नसकेको उनको भनाई छ । करिब ३५ लाख युवाहरु विदेशिएको र ३९ लाख युवाहरु बेरोजगार रहेको बताउदै उनले व्यवसायिकताको विकास हुन सकेमा कृषिमै रोजगारी र आर्थिक उन्नतिको क्षमता रहेको बताए ।

‘व्यवसायिकताको विकासका लागि उन्नत बीउ र उन्नत प्रविधि प्रयोगमा जोड दिदै किसानका लागि बजारको सुनिश्चितता गरिने छ’ उनले भने । पराजुलीका अनुसार कोल्डस्टोरेजमा सामान राख्नुपर्छ तर कोल्ड स्टोरेज गर्नुभन्दा त्यसलाई प्रशोधन गरेमा बढी लाभ लिन सकिन्छ ।

पराजुलीले निर्बाहमूखी खेती प्रणालीबाट व्यवसायिक खेती प्रणालीमा जानुपर्ने र अर्गानिक खेतीतर्फ लाग्नुपर्नेमा जोड दिए । उत्पादन लागत घटाउन पनि किसानहरुलाई उनको आग्रह छ । कृषि उत्पादनलाई वासिङ, ग्रेडिङ र प्याकेजिङ गरी उपभोक्तासमक्ष पुर्‍याउने काम गरेमा सरकारले सहयोग गर्ने आश्वासन पनि दिए ।

कृषिमन्त्री पराजुलीले सरकारले कृषि क्षेत्रको विकासका लागि बजेटमा रकम राखेर उच्च प्राथमिकताका साथ कार्यक्रमहरु बनाएको दाबी गरे ।

बल्खु कृषि तथा तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले दुई बर्षको छोटो अवधिमा नै बजार तरकारीको बिक्री बितरणमा भएको बिचौलिया प्रबृत्ति रोक्न, उपभोक्तालाई उचित मोलमा ताजा तरकारी उपलब्ध गराउन र किसानहरुको भरपर्दो बजारको रुपमा स्थापित हुन सफल भएको बताए ।

भौगोलिक विविधता र अनुकूल हावापानीका कारण नेपालमा मूल्यवान कृषिबस्तुको उत्पादन गर्न सकिने संभावना रहे पनि नेपालले बर्षेनी १०० अर्बभन्दा बढीको कृषि उपज, तरकारी र माछामासु आयात गर्नु परिरहेको बताए । उनले यस्ता बजारहरुको स्थापनाबाट किसानलाई प्रत्यक्ष सहयोग पुग्ने भएकोले सरकारले बहालकर, स्थानीय विकास कर तथा कर्जामा ब्याज छुट गरिनुपर्ने खाँचो रहेको बताए ।

कृषि विकास मन्त्रालय अन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट परियोजन निर्देशक योगेन्द्रकुमार कार्कीले प्याक्ट परियोजनाले किसानलाई कृषिक्षेत्रमा लाग्न प्रोत्साहित गरेको र यही कारण अहिले परियोजनाको कार्यक्षेत्र देशव्यापी बनेको जानकारी दिए ।  उनले कृषिक्षेत्रमा खास काम गर्नेलाई प्याक्टले सहयोग गर्ने तर फजुल खर्च गर्नेका लागि यो परियोजनाले साथ नदिने बताए ।

वाषिर्कोत्सवका अवसरमा कृषिक्षेत्रमा कलम चलाउने नागरिक दैनिकका पत्रकार सुजन ओली, ५ जना कृषि व्यवसायी र ५ जना कृषकहरुलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment