Comments Add Comment

अनशनमा बसेका नन्दप्रसाद अधिकारीको निधन

६ असोज, काठमाडौं । छोराका हत्यारालाई कारवाहीको माग गर्दै ३३० दिनदेखि आमरण अनशनमा बसेका नन्दप्रसाद अधिकारीको सोमबार निधन भएको छ ।

अधिकारीको छोरा नूरप्रसादले शव नउठाउने घोषणा गरेका छन् । सरकारले अधिकारीको निधनलाई दुःखद भनेको छ भने राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

तस्वीरः सुबोधराज प्याकुरेल
नन्दप्रसाद अधिकारी । तस्वीर सौजन्य :सुबोधराज प्याकुरेल

वीर अस्पतालको आईसीयूमा उपचाररत ५४ वर्षका अधिकारीको सोमबार साँझ ५ बजे ३ मिनेट जाँदा निधन भएको हो । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

आईसीयूमा उपचाररत अधिकारी पत्नी ५० वर्षकी गंगामायाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

अधिकारी दम्पत्तिको अवस्था गम्भीर बनेपछि राष्ट्रिय मानवअधिकार आयोगका नवनियुक्त सदस्य सुदीप पाठक, प्रधानमन्त्री कार्यालयका उपसचिव विनोदकुमार गौतम, अधिकारकर्मीहरु सुबोधराज प्याकुरेल र कनकमणि दीक्षतिले सोमबार अस्पताल पुगेर चिकित्सकहरुसँग छलफल गरेका थिए ।

लामो समयदेखि अन्नपानी त्याग गरेका अधिकारी दम्पत्तिलाई अक्सिजन र घाँटीनेर प्वाल पारी नलीबाट प्रोटिन दिएर चिकित्सकहरुले बचाउँदै आएका थिए ।

मृत्यु हुनुभन्दा केही घण्टाअघिमात्र भेटेका प्याकुरेलले उनको नाडीको चाल त्यतिबेलै १ सय ४० पुगेको बताए । प्याकुरेलले भने-‘बढीमा ७० हुनुपर्ने पल्स दोब्बर भएकाले बाँच्ने सम्भावना सकिएको थियो ।’

पिताको शव नउठाउने नूरप्रसादको घोषणा

अधिकारकर्मी रसना ढकालका अनुसार अधिकारी दम्पत्तिका छोरा नुरप्रसाद झण्डै ७ महिनादेखि बाबुआमालाई भेट्न आएका थिएनन् । ‘आज विहान भने फोनमा सम्पर्क भएको थियो । उहाँले आउँदिन भन्नुभयो’ उनले भनिन् ।

तर, अनलाइनखबरसँगको कुराकानीमा छोरा नूरप्रसादले सोमबार साँझ निधन भएका नन्दप्रसाद अधिकारीको शव नउठाउने घोषणा गरेका छन् । ‘मलाई यस अघि पनि अस्पतालमा जान दिइएन, अब पनि जान्न,’ नूरप्रसादले भने- ‘हाम्रोतर्फबाट शव उठ्दैन, माओवादीलाई जेल नहालेर राज्यले मारेको हो, उसैले जे गर्छ गरोस् ।’

अधिकारीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लैजाने क्रममा ।
अधिकारीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लैजाने क्रममा ।

केही महिना पहिले आमाबुबाको अनशन तोडाउन आग्रह गर्दा उनले मानवअधिकारकर्मीलाई नै पेस्तोल ताकेका थिए । उनी अहिले पनि हतियार उठाउने धम्की दिन्छन् ।

सरकारले भन्यो दुःखद

सरकारले अधिकारीको निधनलाई दुःखद भनेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले अनशन तोड्न गरेको आग्रह बेवास्ता गर्दा दुःखद घटना भएको बताए ।

ज्यान लिने बाटोमा नहिँड्नुस् भनेर सरकारले आग्रह गरे पनि अधिकारी दम्पत्तिले नमानेको रिजालले बताए ।

कमल थापाले मागे प्रधानमन्त्रीको राजीनामा

Kamal-Thapaराप्रपा नेपालका अध्यक्ष कमल थापाले अधिकारीको निधन मानवअधिकार र कानुनी राज्यका लागि कालो दिन भएको बताएका छन् ।

थापाले ट्वीट गर्दै भनेका छन्-न्याय दिन नसक्ने प्रम कोइरालाले नैतिक आधारमा राजीनामा दिनुपर्छ ।’ अधिकारीले न्यायका लागि जीवन आहुति दिएको भन्दै थापाले उनलाई शहिद घोषणा गर्न समेत माग गरेका छन् ।

त्यसैगरी पूर्वप्रधानसेनापति रुक्माङद कटवालले द्वन्द्वकालमा भएको घटना भन्दै पीडितलाई न्यायबाट बन्चित गर्न नहुने र दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन् ।

के थियो घटना ?

गोरखा फुजेलका अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसादलाई ०६१ सालमा माओवादीले चितवनमा हत्या गरेका थिए ।

छोराका हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पत्तिले असनसन सुरु गरेका थिए । अवस्था गम्भीर बनेपछि सरकारले उठाएर वीर पुर्‍यायो तर, अधिकारी दम्पत्तिले अनसन तोड्न मानेनन् ।

सरकारले घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गर्दै अधिकारी दम्पत्तिको अनसन पनि तोडाएको थियो । तर, आरोपितहरु अदालतबाट छुटेपछि अधिकारी दम्पत्तिले उपचाररत रहेकै बेला फेरि अनसन थाले ।

पछिल्लो समय मानवअधिकारकर्मीहरुले अधिकारी दम्पत्तिको अनशन तोडाउन निकै जोड गरेका थिए । सरकारले पनि उनीहरुलाई पुनःस्थापनाको प्रवन्ध गर्ने बताएको थियो । तर, उनीहरू मानेनन् ।

 स्थानीयले पनि गाउँ र्फकन आग्रह गरेका थिए । गाउँले गल्ती अधिकारी दम्पतीकै  भन्छन् । तर, जेठा छोरा नूरप्रसाद अधिकारीले आमाबुबाको अनशन तोडाउन ठाडै अस्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment