७ असोज, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य मीनकृष्ण महर्जनले आफू ‘कांग्रेसी डन’ नभएको बताएका छन् ।
अनलाइनखबरमा आइतबार प्रकाशित समाचारको लिखित खण्डन गर्दै महर्जनले आफूमाथि लागेको आरोपबारे यसरी प्रतिवाद गरे ।
तपाईंको अनलाइनखबर डटकममा ‘चरी मारिएपछि कांग्रेसका डन सल्बलाए‘ भन्ने शीर्षकको समाचारप्रति म मीनकृष्ण महर्जनको घोर आपत्ति छ । किनकि म कांग्रेसी डन होइन, म प्रजातन्त्रप्रति विश्वास राख्ने कांग्रेसको महासमिति सदस्य एवम् तरुण दलको केन्द्रीय सदस्य र खेलकुद विभाग प्रमुखसमेत हुँ ।
मेरा बारेमा प्रकाशित समाचारमा कुनै तुक नभएको समेत यसै खण्डन साथ भन्न चाहन्छु । मेरो चरित्रका बारेमा मेरो ललितपुर क्षेत्र नं. १ का वासिन्दालाई सोध्दा पनि खुलस्त हुन्छ ।
समाचारमा भनिएजस्तो व्यापारी धम्क्याएर पैसा असुल्ने र ललितपुर निर्माण व्यवसायी संघमा आवद्ध नभएका व्यक्ति सानुकान्छा मोक्तानलाई अध्यक्ष भनी मोक्तानसँग मिली धम्क्याएर ठेकेदारसँग पैसा असुल्ने भन्ने समाचार सतप्रतिशत गलत भएको समेत प्रष्ट पार्दछु ।
मेरो जीवनमा अहिलेसम्म यस्तो क्रियाकलाप नगरेको समेत प्रष्ट पार्न चाहन्छु । यदि मैले एउटामात्रै यस्तो गतिविधि गरेको प्रमाण फेला पारी समाचार प्रकाशित गरेमा म जस्तोसुकै सजायँ भोग्न तयार छु ।
मैले ठूलो धनराशी खर्च गरेर प्रहरी अफिसरलाई आफ्नो प्रभावमा पारी चरीलाई इन्काउन्टर र रमेश बाहुनलाई पक्राउ गर्न लगाएको भन्ने आरोपसहितको समाचार प्रकाशित हुँदा मेरो सिधै चरित्र हत्या भएको छ ।
म आफै पीडित भइरहेको अवस्थामा यसरी नचाहिँदा लाञ्छना लगाई प्रमाणहीन समाचार प्रकाशित हुँदा मलाई झन पीडामाथि पीडा थपिएको छ ।
रहृयो नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमानसिंह, पूर्वगृहमन्त्री खुमबहादुर खड्कालगायत उहाँहरुजस्तो सम्मानित नेताहरुको नाम जोडी समाचार प्रकाशित भएकोमा मेरो घोर आपत्ति छ ।
कांग्रेसको महासमिति सदस्य, तरुण दलका पूर्वकेन्द्रीय सदस्य, खेलकुद विभाग प्रमुख, राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष समेत भएको नाताले उहाँहरुसँग सम्बन्ध नहुने त कुरै भएन ।
मेरो उहाँहरुसँग मात्रै होइन, कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता शेरबहादुर देउवालगायतका नेताहरुसँग पनि पार्टीको कार्यकर्ताको हैसियतले म उहाँहरुलाई पनि त्यतिकै सम्मान गर्दछु र उहाँहरुले पनि मलाई राम्रैसँग चिन्नुहुन्छ ।
गएको दोस्रो संविधानसभामा निर्वाचनमा प्रत्यक्षतर्फ मलाई ललितपुर क्षेत्र नं. १ का कार्यकर्ता तथा जनताहरुले सिफारिस गरेका थिए । म साँच्चिकै डन भइदिएको भए मलाई यसरी जनता र कार्यकर्ताले कसरी विश्वास गरेर सिफारिस गरे ? यसैबाट पनि सम्पादकज्यूले बुझ्नुपर्ने कुरा हो ।
मलाई डन भएको भए ०६६ सालमा माधव नेपालको प्रधानमन्त्रीकालमा मलाई मन्त्रिपरिषद्ले नै निर्णय गरी राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षमा मनोनित गरेको थियो । साँच्चिकै म डन भएको भए मलाई यस्तो गरिमामय पदमा नियुक्ति गथ्र्यो ? त्यो सम्पादकज्यूले बुझ्नुपर्ने कुरा हो ।
स्मरणीय रहोस्, म एउटा कराँतेको अन्तर्राष्ट्रिय खेलाडी र अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेको जानकारी गराउँदछु ।
(मीनकृष्ण महर्जन, नेपाली कांग्रेस महासमिति सदस्य तथा पूर्वकोषाध्यक्ष राष्ट्रिय खेलकुद परिषद)
प्रतिक्रिया 4