Comments Add Comment

दसैंमा नेपाली बजार रित्तै, भारतमा भीडभाड

Dashain

सलमान खान

८ असोज, भैरहवा । मुलुककै दोस्रो ठूलो नाका रुपन्देहीको बेलहिया हुँदै भारतबाट हजारौँ नेपाली दसैं मान्न नेपाल फर्किरहेका छन् । यता नेपालीहरु भने आफ्नो देशको बजार सुनसान बनाएर भारतीय बजारमा किनमेलका लागि जान थालेका छन् ।

भारतको राजस्थानमा हेल्परको काम गरिरहेका रामेछापका ५६ वर्षीय वीरबहादुर माझी ६ वर्षपछि आफ्नो देशमा दसैं मनाउन फर्किएका छन् ।
बेलहिया नाकामा भेटिएका माझी भन्छन्- ‘धेरै वर्ष परिवारसँग दसैं मनाउनका पाएको थिइँन, त्यही भएर अहिले दसैं मनाउन आफ्नो घर गइरहेको छु ।’

भारतको जम्मु शहरमा भारतीय सेनामा कार्यरत स्याङ्गजाका ३५ वर्षीय राजकुमार काफ्लेले पनि दसैं मनाउनका लागि घर फर्किएको बताए ।
बेलहिया भन्सारमा आफ्नो झोला चेकजाँच गराउँदै उनले खुशी मुद्रामा भने ‘सेनाको जागिर हो, जम्मुजस्तो स्थानबाट जहिले भन्यो, त्यतिबेला घर आउन पाइँदैन । तर, अहिले परिवारसँगै दसैंै मनाउनका ३ वर्ष पछि घर फर्किदै छु ।’

भारतको सुनौली बजारको बसपार्कमा भेटिएका अर्घाखाँचीका ४२ वर्षीय धनबहादुर पुलामी भने दसैं मनाउन हरेक वर्ष घर फर्किने गरेको बताए । उनले भने-‘वर्षमा एकपटक दसैं आउँछ, त्यो पनि परिवारसँग नमनाएर कोसँग मनाउने ? म हरेक वर्ष दसैंमा घर फर्किने गरेको छु ।’

भारतीय बजारमा नेपालीको घुइँचो

दसैं जति नजिकिँदै छ, त्यति नै सीमानाको भारतीय बजार सुनौलीमा किनमेल गर्ने नेपालीहरुको घुइँचो लागेको छ । नेपाली बजारहरु भने सुनसान देखिएका छन् । दाल, चिनी, चामल, कपडा, साबुनलगायतका सामाग्रीहरु खरिद गर्नका लागि दैनिक हजारौं नेपालीहरुको सुनौली बजारमा ताँती लाग्ने गरेका छन् ।

भारतमा सस्तो मूल्यमा सामाग्रीहरु पाइने मानसिकताले निकै टाढा टाढाबाट नेपालीहरु भारतीय बजार सुनौली पुग्ने गरेका छन् ।

सीमानामा हेल्प डेस्क

Help-desk

भारतबाट फर्किरहेका नेपालीहरुको सहायताका लागि रुपन्देही प्रहरीले बेलहिया नाकामा हेल्प डेस्कको स्थापना गरेको छ । विगतमा धेरै यात्रुहरु अलपत्र पर्ने गरेको, लुटिने, दुव्र्यहार हुने गरेको घटनालाई मध्यनजर गर्दै प्रहरी हेल्प डेस्क स्थापना गरेको हो ।

भारतबाट फर्किएका नेपालीहरुले यातायात, होटल, खाना लगायतका विषयमा हेल्प डेस्कबाट जानकारी लिइरहेको इप्रका बेलहियाले जनाएको छ ।

भारतमा नेपालीले नेपालीलाई लुट्दै

भारतमा वर्षौंदेखि कार्यरत नेपालीलाई नेपाली नागरिकले नै यात्राको क्रममा नाता सम्बन्ध बनाई भारतमै लुट्ने क्रम बढेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले बताए ।

यात्राका क्रममा लुटेराले घर ठेगाना सोध्ने गरेको र आफ्नो पनि ठेगाना त्यहीँ भएको बताएर फसाउँदै खाने वस्तुमा बेहोसीको औषधी मिसाई लुट्ने गरेको प्रहरी निरीक्षक रेग्मीले बताए । भारतको गोरखपुर, लखनउ, कानपुर, बनारस, जयपुर लगायतका शहरहरुमा नेपालीहरु लुटिएको घटनाबारे उजुरी आइरहेको रेग्मीले बताए ।

दसैं मनाउनलाई नेपाल आउने क्रममा भारतको गोरखपुर शहरमा कास्की घान्र्दुङका ३५ वर्षीय राजु गुरुङ्गलाई लुटेराले बेहोस बनाई उनीसगँ रहेको ४० हजार भारतीय रुपैयाँ र झोला लुटेको उजुरी आएको इप्रका बेलहियाले जनाएको छ ।

त्यस्तै भारतको जयपुरमा कार्यरत नवलपरासी जोभारीका ३५ वर्षीय जीतबहादुर वीरकट्टा मगरसँग रहेको ४० हजार भारतीय रुपैयाँसहित उनको साथमा रहेको सम्पूर्ण समान लुटेराले लगेका छन् ।
भारतको बनारसमा कार्यरत नवलपरासी पञ्चनगरका ४७ वर्षीय भीमबहादुर घिमिरेसँग रहेको ५ हजार भारतीय रुपैयाँ, एटीम कार्ड, मोबाइलसहित सम्पूर्ण सामान पनि लुटिएको इप्रका बेलहियाले जनाएको छ ।

रिक्सावाललाई कार्वाही

दसैं मनाउन घर फर्किरहेका नेपालीसँग मनोमानी रुपमा भाडा लिएको आरोपमा ६ जना रिक्सा चालकहरुलाई कार्वाही गरिएको प्रहरी निरीक्षक रविनबाबु रेग्मीले बताए ।

‘बस व्यवसायीले मनोमानी भाडा असुल्ने गरेको सुइँको पाएपछि हामीले यहाँका बस व्यवसायी समितिलाई भाडाको मूल्यसूचि अनिवार्यरुपमा राख्न लगाएका छौँ’ रेग्मीले भने-‘बसमा भाडा मूल्य सूचि राख्न लगाएपछि मनोमानी भाडा असुल्नमा कमी आएको छ ।’

भारतीय शहरमा नेपाल प्रहरी

भारतीय शहरमा नेपाली लुटिएको घटनामा वृद्धि भएपछि रुपन्देही प्रशासनले भारतीय प्रशासनसँग समन्वय गरेर घटनमा कमी ल्याउन भारतको गोरखपुर शहरसम्म सादा पोसकमा नेपाल प्रहरी परिचालन गरिएको पनि रुपन्देही प्रहरीले जनाएको छ ।

‘सीमाना नजिकैको क्षेत्रको हामीले सबै स्थानमा भारतीय प्रशसानसँग समन्वय गरेर निगरानी गरिरहेको छौँ र अहिलेसम्म त्यस्तो केही गतिविधि पाइएको छैन,’ प्रहरी निरीक्षक रेग्मीेले अनलाइनखबरसँग भने-‘यता त केही भएको छैन, तर जति गतिविधि भइरहेको छ, सबै सीमानाभन्दा धेरै टाढाका भारतीय शहरहरुमा मात्र भइरहेको पाइएको छ ।’

सुरक्षा व्यवस्था कडा

दसैं, तिहारका कारण जिल्लामा अपराध बढ्ने गरेको भन्दै प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ ।  चाडपर्वलाई मध्यनजर गर्दै रुपन्देही प्रहरीले जिल्लामा विशेष सुरक्षा योजना लागु गरेको जनाएको छ । चाडपर्वमा खुल्ला सीमानाका कारण अपराध हुन सक्ने सम्भावनाका कारण बेलहियामा सुरक्षा सर्तकर्ता अपनाइएको प्रहरीले जनाएको छ ।

Dashain-in-sima

हामीले भारतबाट आइरहेका नेपालीहरुको सुरक्षाका लागि सीमानामा विशेष निगरानी राखेका छौँ प्रहरी निरीक्षक रेग्मीले अनलाइनखबरसँग भने-सुरक्षाको दृष्टिकोणले सीमानाको कुल ८ वटा क्षेत्रमा सीसीटीभी क्यामेरा लगाइएको छ र कोही सकांस्पद व्यक्ति देखिए नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment