९ असोज, काठमाडौं । नेपाली समाजमा मनाइंने महान् पर्व बडा दशैंको प्रथम दिन आज घरघरमा भगवती दुर्गा भवानीको प्रथम रुप माता शैलपुत्रीको पूजाआजा गरिंदै छ ।
हिमालय पर्वतकी छोरीका रुपमा प्रादुर्भाव भएकी देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई सहसमृद्धि प्राप्त हुने शास्त्रहरुमा उल्लेख छ ।
माता शैलपुत्रीको पूजाआजाका लागि भक्तजनहरु आज बिहानैदेखि मुलुकका विभिन्न देवीमन्दिरहरुमा भेला भएका छन् ।
आज शक्तिपीठ,देवीमनिदर तथा घरघरमा विशेष विधिपूर्वक घटस्थापना गरी जमरा राखिंदै छ ।
भगवती शैलीपुत्री हिमालय पर्वतकी छोरी भएकीले उनलाई पार्वती हेमावती, प्रकृति,नामले समेत पुकार्ने गरिन्छ ।
शैलपुत्री सबै देवीकी पनि आदिदेवी प्रारम्भा हुन् । आदिशक्ति हुन् । उनैबाट अरु देवी लोकमा विभिन्न हितरक्षा गर्न जगतमा उद्भव भएका हुन् ।
शैलपुत्री देवी हरियो रंङमा रहेको चित्रण गरिएको छ । शिरमा अर्धचन्द्र धारण गरेकी, गलामा सेतो माला पहिरेकी,हातमा त्रिशुल र कमल लिएकी नन्दीमाथि चढेकी छन् भनेर वर्णन गरिएको छ ।
उनले जगतलाई प्राकृतिक सिर्जनाले सजाई संसारमा वैभव भर्दछिन् भन्ने पनि देवीभागवत दुर्गासप्तशति, चण्डी लगायतका ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।
आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवी शैलीपुत्रीको आराधना गरी भक्तहरुले देवी पूजन गरिरहेका छन् ।
गाउंघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान गरिंदै छ । सफलता ,सिद्धि र दीर्घायुको कामना गरिंदै छ ।
प्रतिक्रिया 4