Comments Add Comment

पदकको आश गरिएको तेक्वान्दोमा खराव सुरुवात

१४ असोज, इन्चोन । एसियाली खेलकुदमा नेपालले पदकको आश गरेको तेक्वान्दोमा खराब सुरुवात गरेको छ ।

पुरुषको ७४ केजी तौल समूहमा नेपालले लेवनानलाई वाकओभर दिएको छ । प्रशिक्षणका दौरान घाइते भएका कारण नेपाली खेलाडी सक्षम कार्की प्रतियोगितामा सहभागिता जनाउन पाएनन् ।

महिला तर्फको ४९ केजी तौल समूहमा यानकुमारी चौलागाईं मलेसियाकी खेलाडी नुर धिया लियाना विन्ति साहारुद्धिनसँग ७-२ ले पराजित भइन् । ५३ केजी तौल समूहममा निमा गुरुङ्ग चाइनिज ताईपेईकी युन वेयन हुआङ्घसँग १२-० ले पछाडी परिन् ।

सफ्ट टेनिसमा नेपालको जित

सफ्ट टेनिसमा पुरुषतर्फको समूह चरणमा नेपालका मनोज सुब्बा विजयी भएका छन् । उनले ताजकिस्तानका नेग्माटुलियो राजाबलिभलाई ४-० ले पराजित गरेका छन् । बेस्ट अफ सेभेनको खेलमा मनोजले ४-०, ४-२, ५-३ र ४-२ को जित निकाले ।

अर्को खेलमा मनोज जापानसँग ४-० ले पराजित हुन पुगेका छन् । हिजो सम्पन्न खेलमा उनले कम्बोडियालाई ४-३ ले हराएका थिए भने दक्षिण कोरिया र चाइनिज ताइपेईसँग समान ४-० को हार ब्यहोरेका थिए ।

पुरुषतर्फकै समूह सीको खेलमा कमलबहादुर भण्डारी चीन र फिलिपिन्सका खेलाडीसँग समान ४-० ले पराजित भएका छन् । महिला तर्फको खेलमा सम्पन्न दुवै खेलमा नेपाल पराजित भएको छ । एलिना रञ्जित फिलिपिन्ससँग ४-० ले र निरु कायस्थ भियतनामसँग ४-२ ले पराजित भएकी छिन् ।

निरुले बेष्ट अफ सेभेनको खेलमा ०-४, ५-३, ४-२, १-४, २-४ र १-४ स्कोर गरेकी थिइन् ।

टेबल टेनिसका दुवै खेलमा हार

सुवान जिम्नेजियममा भएको टेवल टेनिस प्रतियोगितामा नेपालले खेलेका दुवै खेलमा हार ब्यहोरेको छ । क्यानडामा सम्पन्न कमन वेल्थका च्याम्पियन भारतीय खेलाडी कमल सारथ आसन्त र अमरलाल एन्थोनीसंग नेपाली खेलाडीहरु अमरलाल मल्ल र पुरुषोत्तम बज्राचार्यले शाहसिक प्रदर्शन गरे ।

अमरलाल र पुरुषोत्तम ११/६, ५/११, ८/११ र १०/१२ ले पराजित भए । यसैगरी अजय सुवाल र शिवसुन्दर गोथेको जोडी चिनिया खेलाडी झिन झु र जेन्दोङ फानसँग ११-३, ११-३, ११-३ ले पराजित भए ।

साईक्लिङमा पनि हार

साईक्लिङ तर्फ पुरुषको क्रस क्रन्ट्री प्रतियोगितामा नेपाली खेलाडी नारायण गोपाल महर्जन निर्धारित समयमा दूरी पुरा गर्न नसकी २ ल्याप पछाडी पर्दै १६ औं स्थानमा आए । अजय पण्डित क्षेत्री ४ ल्याप पछाडी पर्दै २० औं स्थानमा आए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment