२३ असोज, काठमाडौं । उच्चस्तरीय राजनीतिक समिति गठनको सहमतिपछि पनि एमाओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलले आन्दोलनका कार्यक्रम नरोक्ने भएका छन् ।
प्रचण्ड नेतत्वको संघीय गणतान्त्रिक मोर्चा, पहिचानमा आधारित संघीय गठवन्धनसहितको तीन मोर्चाले पूर्व घोषणा अनुसार शुक्रबारबाट संयुक्त आन्दोलन थाल्दैछन् । सचिवालयाको बिहीबार बसेको बैठकले आन्दोलनलको तयारीको समिक्षा गरेको छ ।
शुक्रबार दिउँसो १ बजे माइतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने कार्यक्रम छ । बानेश्वरमा हुने सभालाई एमाओवादी महासचिव कृष्णबहादुर महरा, मधेसवादी दलका प्रतिनिधि, थरुहट तराई पार्टीका भानुराम थारु र नागरिक समाजका अगुवा खगेन्द्र संगौला र जनजाति अगुवा डा. ओम गुरुङले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सचिवालय बैठकमा सहभागी समाजिक लोतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाका अनुसार ३१ काठमाडौंमा गर्ने भनिएको सभा खुलामञ्चमा गर्ने सहमति भएको छ, जसलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
माओवादीलाई सहयात्रीकै प्रश्न
एमाओवादीलाई आन्दोलनमा सहयात्रीहरुले भने अझै पूर्ण विश्वास गर्न नसकेको देखिएको छ ।
नेताहरुका अनुसार राजनीतिक समिति गठन गर्ने सहमतिपछि माओवादीले आन्दोलनलाई सम्झौतामा टुङ्ग्याउने त होइन भनी नेताहरुले प्रश्न गर्न थालेका छन् । ‘हामीले वर्षमान पुनलाई सोधेका थियौं । उहाँले यो संविधान निर्माणका लागि थालिएको दबाव आन्दोलन हो रोकिन्न भन्नु भएको छ’ एक नेताले अनलाइनखबरसँग भनेका छन् ।
आन्दोलनका लागि समर्थन जुटाउन भएको छलफलमा पनि जनजाति अगुवाहरुले माओवादी नेतृत्वलाई यही प्रश्न गरेका थिए । ‘आन्दोलनप्रति जनजाति अगुवाहरुको समर्थन छ तर, सम्झौता गर्ने त होइन भन्ने प्रश्न धेरैबाट आएको छ’ एक सहभागीले भनेका छन् ।
पहिचानसहितको संघीयताको माग गर्दै प्रचण्ड मोर्चाले दबावमुलक आन्दोलन घोषणा गरेको छ । यो घोषणापछि तीन दलबीच राजनीतिक समिति गठनसहितकेा सहमति भएको छ ।
प्रतिक्रिया 4