Comments Add Comment

आर्यन सिग्देलले किन गरे वर्षमा ७ वटा अभिनय ?

aaryan-sigdel

१ कात्तिक, काठमाडौं । नायक आर्यन सिग्देल अभिनित सातवटा सिनेमा यो वर्ष प्रदर्शनमा आउने पक्का भैसकेको छ । अर्का चलेका नायक जीवन लुइँटेलको पनि अवस्था यस्तै हो ।

जीवन र आर्यनलाई सिने बजारका चल्तीका रो मानिन्छन् । तर, एउटै हिरोका सातवटा सिनेमा एक वर्षमा प्रदर्शनमा आउँदा, दर्शकलाई दिक्क लाग्नु स्वभाविक नै हो ।

नायिकाहरुपनियस्तै अवस्थामा छन् । हातमा आएका सबैजसो सिनेमामा अभिनय गर्न हिरोइनहरु लागिपरेका छन् । कलाकारको विकल्प खासै नहुँदा निर्माताहरु पनि एउटै अनुहारलाई दोहोर्‍याउन बाध्य छन् । जसका कारण पनि  अभिनयमा लिनैपर्ने वाध्यता निर्मातालाई हुँदा कलाकारले त्यसको फाइदा उठाएको देखिन्छ ।

फेरिएका आर्यन, जीवन पनि उस्तै

कुनै समय थियो, नायक आर्यन सिग्देल निक्कै चुजी थिए । वर्षमा एउटा मात्र सिनेमा रिलिज गर्ने उद्देश्यमा उनी लाग्थे । नाम चलेका निर्देशकको सिनेमा नै उनले कथा मन नपरेको भन्दै इन्कार गरिदिएका उदाहरण पनि छन् । तर, अहिले समय फेरिएको छ ।

आर्यन हातमा आएका सबै सिनेमा गर्नेमा लागेका छन् । उनले हिजोआज न त निर्देशक नै हेर्छन्, न त कथा नै । राम्रै पारिश्रमिक लिएर हातमा आएका सबै सिनेमामा अभिनय गर्ने ध्याउन्नमा उनी लागेका छन् । जसका कारण पनि उनका ७ सिनेमा यस बर्ष प्रदर्शन हुँदैछन् भने त्यति नै संख्यामा सिनेमाको छायांकनमा जाने तरखरमा छन् ।

‘नोभेम्बर रेन’को व्यापारले दंग आर्यनका ‘लज्जा’, ‘नाइके’, ‘अलबिदा’, ‘आवेग’, ‘पुर्नजन्म’, ‘नाई नभन्नु ल ३’ यसै वर्ष प्रदर्शनमा आउँदैछन् ।

जतिसुकै सिनेमा प्रदर्शनमा आएपनि काम गरेर रकम कमाइहाल्ने धून उनमा छ । आर्यनले भन्ने गरेका छन् -‘महंगो कोठा, गाडीको किस्ता, घरखर्च र स्टारडम मेन्टेन गर्न सिनेमा नखेलेर के गर्नु ?’

उनले निरन्तर सिनेमा खेल्दा निर्मातालाई कस्तो घाटा लाग्छ, सायदै बुझेका होलान् ।

नायक जीवन लुइँटेल पनि हातमा आएका कुनै पनि सिनेमा नछाड्ने धुनमा देखिएका छन् । जीवन पनि आर्यनजस्तै व्यस्त छन् । उनका हातमा पनि दर्जन सिनेमा छन् ।

यसैवर्ष जीवनको पनि आधा दर्जन सिनेमा हलमा लाग्ने संभावना छ । ‘सिसा’ र ‘ठूली’को व्यापारले खासै सन्तुष्ट हुन नसकेका यी हिरोको ‘स्टुपिड मन’ छिट्टै चल्दैछ । यी बाहेक अन्य केही सिनेमा पनि छन् जुन प्रदर्शन यसै बर्ष हुनसक्छन् ।

हिरोइन पनि के कम ?

हिरो मात्र होइन, हिरोइनहरु पनि हातमा आएका सिनेमा निरन्तर गरिरहेका छन् । रेखा थापाले आफ्नो ब्यानरका मात्र सिनेमामा अभिनय गर्दा यसपछि आएका केकी अधिकारी, पि्रयंका कार्की सर्वाधिक व्यस्त देखिएका छन् ।

यीबाहेक अशिष्मा नकर्मी, अनु शाह, नम्रता श्रेष्ठ धेरै सिनेमा गर्नेको सूचिमा छन् ।

केकी र प्रियंकाको त यी जोडी मात्रै भएर काम गरेका तीनवटा सिनेमा छन् । जसमा ‘श्री ५ अम्बरे’, ‘फन्को’ र ‘हाउ फन्नी’ छन् । चलचित्रको पर्दामा यी नायिकाका पनि एकपछि अर्को प्रदर्शनमा आउने क्रम जारी छ ।

वाध्यता कि रहर ?

नेपालमा कलाकारको आम्दानीको श्रोत अन्य खासै देखिँदैन । एउटै सिनेमा गरेर पर्याप्त आम्दानी हुने अवस्था पनि छैन । जसका कारण पनि कलाकारहरु एकपछि अर्को सिनेमा गरिरहेका छन् । यसरी, एकपछि अर्को चलचित्र गर्दा कलाकारलाई त घाटा लाग्छ नै, निर्माता पनि मर्कामा पर्छन् ।

नेपाली कलाकारहरु सिनेमा गरेपछि आफ्नो दायित्व नै सकिएको सोचाइ राख्छन् । जसका कारण एकपछि अर्को सिनेमामाखेल्दा आफ्नै सिनेमाको प्रचारमा हिँड्न नसक्ने अवस्था उनीहरुलाई छ ।

फिल्ममात्रै खेल्ने कि दायित्व पनि लिने ?

नेपालमा कलाकारहरु सिनेमामा खेलेपछि आफ्नो दायित्व नै सकिएको ठान्छन् । प्रचारमा हिँड्न निर्माता निर्देशकले निक्कै कर गर्नुपर्ने अवस्था पनि छ । जसका कारण, कलाकारविनाको प्रचारले निर्माताहरुको टाउको धेरै पटक दुख्ने गरेको छ ।

सिनेमामा अभिनय गर्नुपर्ने वाध्यता त कलाकार छ नै । तर, कस्ता सिनेमामा अभिनय गर्ने र आफूले गर्ने बग्रेल्ती सिनेमाले अन्य सिनेमाका निर्मातालाई असर पर्छ भन्ने नवुझ्दा कलाकारको स्वच्छन्दता बढेको देखिन्छ ।

लगातार सिनेमा चल्दा दर्शकलाई दिक्क लाग्छ : जीवन लुइँटेल

jiwan-and-barsaएकपछि अर्को सिनेमा खेल्दा र प्रदर्शनमा आउँदा दर्शकलाई दिक्क लाग्नु स्वभाविक हो भन्छन्, नायक जीवन लुइँटेल । उनले बर्षमा आफ्ना ६ वटासम्म सिनेमा प्रदर्शनमा आउँदा स्टारभ्यालु कमजोर बनेको स्वीकार गर्दै भने-‘कतिपय अवस्थामा हामीले पनि सम्झौता गर्नुपर्ने अवस्था छ । सिनेमामा नायक सवैभन्दा धेरै पारिश्रमिक लिनै पात्र हो भनिन्छ । तर, उसको पीडा अर्कै छ ।’

आफ्नो ‘सिग्नेचर’ छाड्नका लागि पनि निरन्तर सिनेमा खेलेको भन्दै लुइँटेलले अब त्यस्तो नहुने बताए । उनले आफूले सिनेमा छान्न सुरु गरिसकेको र अब बर्षमा ३ वटामात्रै सिनेमा प्रदर्शनमा आउने तरिकाले काम गर्ने उनले बताए ।

उसो त सिनेमा कम गर्दा मिडियामा नै फ्लप कलाकार भनेर चर्चा हुने गर्दछ । तर, बजारमा चर्चामा रहेका कलाकारले सिनेमा गर्दा आफ्नो दायित्व वुझ्न पनि जरुरी छ ।

निर्माता छविराज ओझाले नायिका शिल्पा पोख्रेललाई आफ्नो सिनेमालाई असर पर्छ भन्दै लज्जा प्रदर्शन अगाडि कुनै पनि सिनेमामा काम नगर्ने गरी सम्झौता गरेका थिए । नेपालमा यस्ता खालका सम्झौता बिरलै हुन्छन् ।

एकपछि अर्को सिनेमामा काम गर्दा कलाकारहरु प्रचार-प्रसारमा त हिँड्न पाउँदैनन्, दर्शक पनि एकैबर्ष एउटै कलाकारको अनुहार हेर्दा हेर्दा वाक्क हुन्छन् । यसैले, अवस्था सुहाउँदो तबरले काम गर्दै कलाकारले लगानी गर्ने निर्माताको भरोसालाई आफ्नो दायित्वको रुपमा बुझ्न जरुरी रहेको निर्माताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment