Comments Add Comment

विश्वको छानाबाट यसरी पुगियो कैलाश ! (फोटो कथा)

Man-sarobar-yatra-(5)

दीपेन्द्र रोकाया

हुम्ला जिल्लाको विकास हेर्न मैले तीन हप्ता हुम्लाका गाउँमा बिताएँ । त्यसमा दुई दिन संयोगले तिब्बत छिर्ने अवसर मिल्यो ।

हिल्साको झोलुङ्गे पुल तरेपछि शेर गाउँमुन्तिर बन्दै गरेको चिनियाँ अध्यागमन कार्यालय छेउको सीमा प्रहरीले जिल्ला प्रशासन कार्यालय हुम्लाबाट प्राप्त ‘नेपाल-चीन सीमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान/प्रवेश अनुमति-पत्र’ जाँच गरेपछि ताक्लाकोट पुग्ने निश्चित भयो ।

चिनियाँ ट्याक्सीमा बसेर पक्की रोडमा सयर गर्दै खोच्यार, कान्जी, गेजिङ, तोइकाङ, मौं हुँदै ताक्लाकोट पुगियो ।

Man-sarobar-yatra-(9)

सफा र चौडा सडकमाथिको यात्राले नेपालमा गणतन्त्र आएपछि भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमी हुम्ला जिल्लाको जिल्ला परिषदको उद्घाटन गर्न पुग्दा सिमीकोटबाट हेलिकोप्टरमा हिल्सासम्म पुग्ने अवसर पाएको र मन्त्री यमीले कराएर ‘यहाँ सीमामैत्री पुल बन्नु पर्दछ, नेपाल सरकार चीन सरकारसँग सहकार्य गरी बनाई छाड्छु’ भनेको आज ८ वर्ष वितेछ ।

Man-sarobar-yatra-(11)

त्यतिबेला मन्त्री यमीले ढुङ्गो ठड्याएको ठाउँभन्दा १ किमी तल कछुवाको तालमा बन्दै गरेको पुल देख्दा र ०५५ सालबाट बनाउन शुरु गरिएको हिल्सा-सिमीकोट मोटरबाटोमा यारीको तुम्कोट माथिको डाँडाबाट हिल्सासम्म पहिलोपटक ट्रक चढ्न पाएँ ।

Man-sarobar-yatra-(7)

दुःख र आनन्द एकैचोटि महसुस गर्न पर्‍यो । यो सडक र माथिल्लो हुम्लाको बदलिँदो अनुहारको सन्दर्भमा छुट्टै लेखौंला ।

मसँग सीप नेपालका संयोजक अंगबहादुर लामा हुनुहुन्थ्यो । उहाँका आफन्तहरु ताक्लाकोटमा थुप्रैजना हुनुहुँदो रहेछ । हामी उहाँको साँढुभाइ ओङग्याल लामाको पसलमा गयौं ।

एक दुई गर्दै धेरै हुम्ली ब्यापारीलाई भेट्यौं । ओङग्यालजीको परिवार तन्जन, कुची लामा र पासाङ लामाले साँझको खाना रेस्टुरेन्टमा लगेर खुवाउनुभयो । अंगबहादुर दाइ ताक्लाखार नगएको २० वर्ष भएको रहेछ । म १७ वर्ष पहिले यसै बाटो भएर लिपु लेक काटेर दार्चुला हुँदै भारतको धारचुला, पिथौरागढ, टनकपुर भई फर्केर नेपालगञ्ज हुँदै काठमाडौ पुगेको थिएँ । यसैले यस क्षेत्रको यात्रा हाम्रा लागि विशेष महत्वको बन्यो ।

भदौ २१ गते बिहान । ध्यु चिया पिउँदै गर्दा कैलाश मानसरोवरको कुरा चल्यो । यो वर्ष चिनियाँहरुको विशेष ‘घोडा वर्ष’ हुनुले अझ महत्वपूर्ण रहेछ ।

यसैक्रममा पासाङले ‘तपाईहरुले ल्हासा बैठकमा भेटेको मान्छे यहीँ छ’ भनेपछि मलाई भेट्न मन लाग्यो ।

Man-sarobar-yatra-(8)

ताक्लाकोटमा बिहानी घाम लाग्दै थियो, हिमालयन फुलान होटलमा गयौ । मैले मेरो नाम दिएर तेन्जुङ नुर्बुलाई भेट्न आएको बताएँ । एकैछिनमा नुर्बु हँसिलो अनुहारमा ढोकाबाट भित्र छिर्नुभयो । हामीहरुले ‘टसी देले’ भनेर अभिवादन साट्यौं । दुबैजना खुशी भयौं ।

मैले संयोगले फुलान आइपुगेको र अर्को संयोगले तपाईसँग पनि भेट्न पाएको प्रशंग जोड्दै मिलेमा कैलाश मानसरोवर पनि पुग्ने विचार गरेको बताएँ । उहाँले हाँस्दै ‘रे, रे’ भन्दै ‘अहिले कोही कसैलाई पनि त्यहाँ जान नदिएको र तपाईका लागि म विचार गर्छु, हामीले माथि सोध्नुपर्छ, मिलेमा म फोन गर्नेछु’ भनी नम्बर माग्नुभयो ।
यति कुरा भएपछि हामी त्यो चारतारे होटलबाट बाहिर निस्केर ताक्लाकोटको अवलोकन गर्नतिर लाग्यौं ।

हामी नेपालीहरु ताक्लाकोट वा ताक्लाखार भन्ने गर्दछौं। चिनियाँहरु यसलाई फुलान भन्दा रहेछन् । पासाङजीका अनुसार नेपालीहरुले त्यसलाई पुराङ लेख्ने गरेका छन् । अंग्रेजीमा पुलान लेखिएको देखियो ।

कसैले गिजिङ पारि कोटजस्तो ठाउँ छ, त्यसलाई ताक्लाखार भन्ने गरेको पाइयो । मेरो विचारमा ताक्ला भनेको कुनै नामी लामाको नाम र कोट परेको स्थान हुनाले ताक्लाकोट भनिएको हुनसक्छ । जेहोस् म शब्दमा अल्झिन चाहन्नँ ।

हामी मोटरसाइकलमा शिम्विलिङ गुम्बा उक्ल्यौं । यो गुम्बा ५औ दलाई लामाको सट्टामा युद्ध सर्दारका रुपमा पश्चिम भोटमा आएको थियो, उसले युद्ध लड्दा धेरै पाप गरेकाले पाप कटाउन बनाएको रहेछ । यो गुम्बाको नाम स्याक्पालिङ (पश्चाताप द्वीप) राखिएको हो भनिन्छ ।

छेवाङ लामाका अनुसार स्याक्पालिङको अपभ्रंश भएर अहिले शिम्विलिङ भनिएको हो । यो गुम्बा एकताका पश्चिम तिब्बतको प्रशासनिक केन्द्र थियो ।

Man-sarobar-yatra-(3)

यहाँबाट उत्तरतिर हेर्दा उतिबेला जनता बस्ने ओढारका घरहरु देखिए । हाल ती जनता त्यहाँबाट पारि ठिटी गाउँमा व्यवस्थित खेतीपाती गरी आधुनिक घरमा बसेको देख्यौं ।

यस गुम्बाका शासकहरु स्वेच्छाचारी भएरै होला, गुम्वालाई चिनियाँ लालसेनाले फुलान जोङ चौरबाट तोप हानेर भत्काउन शुरु गरेका रहेछन् ।
त्यतिबेलाका लामाहरुले लडाइँमा पानी आपुर्तीका लागि दरबारबाट सीधा तल बग्ने म्याप्च्या खाँवा (कर्नाली नदी) को पानी आपूर्ति गर्न खोलासम्मै टनेल बनाएको देखियो ।

Man-sarobar-yatra-(12)

यहीँबाट नियालें, मैले १७ वर्षअघि क्रस गरेको लिपु लेक र त्यतिबेला  बास बसेको ओढार ।

ताक्लाकोटमा उभिएर फुलान बजार आँखा अगाडि राखेर मेरा बाबाले सानै छँदा भनेको कुरा सम्झें- ‘ती ताक्लाखारीहरु अहिले चामलजस्ता गहुँ, उवा लिँदा पनि वास्ता गर्दैनन्, उहिले ननिफनेको जौ लिँदा पनि टिपाटिप गर्दथे । माओले कम्युनिष्ट व्यवस्था ल्याएपछि उनीहरुको जीवन फेरियो ।’

हामीले पनि नेपालमा जनयुद्ध लड्यौं । परिवर्तन त भयो । तर त्यसलाई संस्थागत गर्न सकेको छैन । भनेजस्तो परिवर्तन पनि भएन । अरु पीडा बल्झन थाल्यो । यस गुम्बाका पुराना मूर्तिहरु हेरेर तल झर्‍यौं । हिटुक ल्हामु गुम्बा हेर्न पस्यौं । यो पौराणिक कालखण्डमा ग्याल्मु नोर्जाङको दरबार हो भन्ने सुनियो । उनका २५ सय श्रीमती थिए भनी साँस्कृतिक रुपमा हुम्लाको मानी नाच अझै खेलिन्छ ।

Man-sarobar-yatra-(1)

यो गुम्बा नोर्साङ ग्याल्बु नामको राजाको सोह्र सय रानीमध्ये हिटुक ल्हामु एक थिइन् रे ! उनलाई अरु राक्षसी प्रवृत्तिका रानीहरुका कारण पहाडभित्रको गुफाबाट उडेर गएको भनेर कहानी सुनाइँदो रहेछ । वास्तवमा उनलाई त्यहीबाट खसाली मर्न परेकाले त्यसो भनिएको होला ।

त्यहाँभित्र फलामको भर्‍याङ र ब्यवस्थित पक्की घर देख्दा लाग्यो, त्यतिबेलाका जनताका घर पनि यस्तै थिए होला ।

यस्तै क्रममा पुरानो नेपाली वस्ती र हालको नेपाली वस्ती तथा फुलानको बजार घुमेर खाना खाने तयारी गर्दै गर्दा नुर्बुजीको फोन आयो- ‘तपाईहरु कहाँ र कतिजना हुनुहुन्छ ? गाडी लिएर आउँछु ।’

‘वा ! मानसरोवर यात्रा हुने भयो’ पासाङजी हाँस्नुभयो । हाम्रो अनुहारमा चमक आउन थाल्यो । ‘ठूलो तीर्थ घुम्नुअघि खाना खानु हुन्न, हाम्रो भाग्य रहेछ भाइ !’ भन्दै कुची लामा कैलाशको दर्शन गर्न पाइन्छ कि पाइन्न भनी चिन्ता गर्न थाल्नुभयो ।

तेन्जुङ नुर्बुले मलाई अगाडि र अंगबहादुर दाइका दाजुभाइलाई पछाडि बस्न लगाउनुभयो । पासाङ, ओङग्याल, तन्जन र पुटीलाई अर्को पजेरोमा बसालेपछि उहाँले हामी बसेको पजेरो आफै हाँक्न थाल्नुभयो ।

चीन सरकारले उहाँलाई तिब्बतको विदेश विभागअन्तरगत ङरी प्रदेश प्रमुख बनाएको रहेछ । मानसरोवर-कैलाश खण्डको पर्यटन तथा चारतारे हिमालयन फुलान होटलको इञ्चार्जको जिम्मेवारी दिएको रहेछ ।

यति ठूलो मान्छेले आफै गाडी हाँकेर लिएकाले विभिन्न चेक पोष्टमा भेटिएका प्रहरीहरुले उहाँलाई झै हामीलाई पनि सलाम गरे ।

उनीहरुले सलाम गरेको देख्दा चिनियाँ मित्रको गुन छातीभित्रको कैलाशमा शिला राख्न मन लाग्यो ।

हामी तोयो गाउँ, गरु चेक पोष्ट, हार लाग्ना कटेपछि वन घोडाहरु देखिए । यो मन ती घोडाहरुसँगै फाँटमा दौडन थाल्यो । गुर्ला लाग्ना भन्ने ठाउँमा पुग्दा यो लाग्ना र पशुपतिको सम्बन्ध भएको जानकारी पाइयो ।

चिनियाँ भाषामा गुर्लाअन्जु भनेको पशुपति हुँदो रहेछ । यहाँ भाषिक सम्बन्धबाट अरु सम्बन्ध खोज्नुपर्ने देखियो ।

घडीमा १२:५३ बज्दा लंकारी पुग्यौं । कुची दाइले खुशीले उफ्रँदै भन्नुभयो, ‘हाम्रो भाग्य रहेछ, कैलाश देखियो, कैलाशको दर्शन गर्न पायौं ।’

ल्हागा छो अर्थात् लंकारी ताललाई राक्षस ताल भन्ने गरिन्छ । यहीँबाट कैलाश -काङ रिम्पोछे) लाई नियाल्यौं । खास नाम तिसे हो भनिन्छ ।

Man-sarobar-yatra-(6)

कैलाश पर्वत र लंकारीको पृष्ठभूमिमा सामुहिक तस्वीर लिएर मानसरोवर (युम्छो म्हावाङ) तिर लाग्यौं । मानसरोवर पुग्दा १:११ बज्यो । १० मिनेट तालमा डुबुल्की मार्‍यौं । १० मिनेटजति छेउमा बसेर फलफूल तथा जुस पिएपछि जल भरेर तस्वीर लिँदै समय बितायौं ।

स्वर्णभूमिमा पुग्दा जता हेर्दा पनि शान्त थियो । अनन्त लाग्ने तालको पानी कञ्चन थियो । नुर्बुजीले दिएको जानकारी अनुसार यो ताल ८० किमी गोलो छ । पैदल हिँड्दा ३ दिन लाग्दछ भने गाडीमा साढे एक घण्टामा परिक्रमा गर्न सकिन्छ ।

६० मिटर गहिरो मानसरोवरको लम्बाइ र चौडाइ ठीक २० किलोमिटर रहेछ । यहाँबाट १५ कीमी टाढा पर्छ, कैलाश पर्वत ।

च्यु गुम्बास्थित थुप्तेनको परिवारले सञ्चालनमा ल्याएको रेष्टुरेन्टमा हामीलाई स्वागत भयो । त्यहाँभित्र पसेर ध्यु चिया, याकको मासु र रेडबुल खाँदा मेरा आँखा भित्तामा टाँसिएको पोष्टरमा चिनियाँ नेताहरु माओ, देनस्याओ पिङ, जाङ जमिङ, हुजिन्ताओ र सिजीपिङको तस्वीरमा केन्दि्रत भए । त्यसमा चिनियाँ अक्षरमा लेखिएको थियो,  चिनियाँ जनताको सपना साकार पार्ने महान नेताहरु ।

मैले एउटा नेताको  विचार, पहलकदमी र अडानको महत्व कति हुन्छ भन्ने कुराको गहिरो अनुभव यसै तस्वीरमा हेरेर कल्पना गरेँ ।

फेरि पनि सम्झेँ कि, मेरा बाबाले ताक्लाखारीको जीन्दगी फेर्ने माओ नेतृत्वको आन्दोलन र कम्युनिष्ट ब्यवस्थाले ल्याएको परिवर्तन ।

त्यही होटलको एक कुनामा नेपालको बौद्ध गुम्बाको पोस्टर पनि झुण्ड्याइएको देखेँ । विदेशमा आफ्नो देशको गुम्बाको तस्वीर देख्दा खुशी लाग्यो ।

तिब्बतलाई विश्वको छाना मानिन्छ । यो स्वर्गभूमि सिँजाकालीन समयमा हाम्रै थियो । आज भू-राजनैतिक रुपमा चीनको तिब्बतमा पर्छ । मान्छेहरु स्वर्ग जान लाखौं खर्च गरेर त्यहाँ जान चाहन्छन्, म मेरा मित्रहरुको सहयोगमा यो स्वर्गभूमि, शान्तिभूमि अझ भनौं विश्वको छानामा पुगेँ  । आनन्द लाग्न थाल्यो ।

Man-sarobar-yatra-(4)

यहीँबाट शुरु भएका प्रसिद्ध चार नदी सिन्धु -संगे खाबाब), सतलज अर्थात् गंगा -लाङ्छेन खाबाब), कर्नाली (म्याप्च्या खाँबाब) र बहृमपुत्र (यार्लुङ साङ्बो अर्थात् ताम्छो खाम्बाब) नदीको छेउछाउमा विकास भएको सभ्यताको भारी महत्व रहेको पाएँ । जसले गर्दा कैलाश मानसरोवर हाम्रा लागि स्वर्गीय तीर्थस्थल बनेको रहेछ ।

हुम्लाका बाह्रदेउ मध्ये महादेउ (देम्छोक) ले कैलाश पर्वतलाई आफ्नो दरबार बनाएको विश्वास गराई विभिन्न सभ्यताको जननी कैलाश हो भन्ने आधार तयार गरेकाले उनी विश्व प्रसिद्ध बन्न पुगेको अनुभव गरेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment