३ कात्तिक काठमाडौं । यो तिहारका लागि भारतबाट सयपत्री फूलका साढे २ लाख माला ल्याइने भएको छ ।
करिब १ करोड थुँगाबाट बनेका सो परिणाम बराबरका माला भित्र्याउन लागिएको नेपाल फ्लोरिकल्चर्स एसोसिएसन (फ्यान) का उपाध्यक्ष कुमार कसजूले अनलाईनखबरलाई जानकारी दिए ।
कसजूका अनुसार एउटा मालाका लागि ४० थुँगा फूल आवश्यक पर्छ ।
मागअनुसार स्वदेशमा सयपत्री फूलको उत्पादन नभएपछि भारतबाट आयात गर्नुपर्ने बाध्यता भएको कसजुले बताए । प्राकृतिक प्रकोप र डढुवा रोगका कारण स्वदेशी फुल उत्पादनमा कमी आएको हो ।
आन्तरिक उत्पादनमा कमी आएको र भारतमा आएको हुदहुद आँधीका कारण उत्पानदमा ह्रास आएकाले यो वर्ष फूलको मुल्य बढ्ने उनको भनाई छ । ‘यो वर्ष उउटा मालाको ५० देखि ६० रुपैयाँ पर्नेछ’ उनले भने -गत वर्ष प्रतिमाला ४० देखि ५० रुपैयाँ पथ्र्यो ।
फुलका सामग्रीको मुल्य प्रत्येक वर्ष घटाउँदै लैजाने फ्यानको योजना भएपनि कारणबस यो वर्ष मुल्य बढ्ने उनले बताए ।
अन्य वर्षको भन्दा यो वर्ष तिहार छिट्टै आएकाले भर्खर कोपिलामात्रै लागेको उनको भनाई छ । ‘अहिले बल्ल कोपिला लाग्न सुरु गरेको छ, समयमा फूल फूल्ने अवस्था छैन’ कसजूले भने -आयात गर्नुको विकल्प छैन ।
स्वदेशी दुई करोड ८० लाख सयपत्रीका थुँगाबाट निर्मित ७ लाख माला स्वदेशमै निर्माण गरिने उनले जानकारी दिए । भारतबाट साढे दुई लाख माला ल्याइने छ ।
‘यो तिहारमा देशभर ९ देखि १० लाख मालाको खपत हुन्छ’ उनले भने । काठमाडौंमा मात्रै ६ देखि ७ लाख माला खपत हुने उनले बताए । नेपाली बजारमा प्रत्येक वर्ष १५ प्रतिशतले फूलका मालाको माग बढ्दै गएको कसजुले बताए ।
सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, दोलखा, चितवन, धनुषा, भक्तपुर, ललितपुर, काठमाडौंलगायतका स्थानमा सयपत्री फुलको व्यवसायिक रूपमा उत्पादन हुँदै आएको छ। नेपालको ३५ जिल्लामा ६ सय ५० पुष्प फर्म तथा नर्सरीबाट १ सय १० हेक्टर क्षेत्रफलमा पुष्पको खेती हुँदै आएको छ । यो व्यवसायबाट ४१ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन।
गत आर्थिक बर्ष २०७० को चैतसम्ममा भारतलगायत अन्य मुलुकबाट गरी ३ करोड ६९ लाख रूपैयाँ बराबरको फुल आयात भएको थियो भने ४ करोड रूपैयाँ बराबरको निर्यात गरिएको थियो।
प्रतिक्रिया 4