३ कात्तिक, काठमाडौं । ललितपुरको जावलाखेलमा आयोजित गोदावरी मेला ३० लाख रुपैयाँ भन्दा बढिको कारोबार गर्दै सम्पन्न भएको छ । मेलाको २५ जहार भन्दा बढीले अवलोकन तथा भ्रमण गरेका छन् ।
फ्लोरिकल्चर एशोसिएशन मुख्य आयोजक भएर आयोजना गरेको यो मेलाले अघिल्ला वर्षमा हुने गरेको कारोबारको रेकर्डलाई तोडेको फ्यानका अध्यक्ष लोकनाथ गैरेले बताए । उनका अनुसार गत वर्षको तुलनामा झण्डै ८ लाख रुपैयाँ बढीको फूलको कारोबार भएको छ ।
मेलाको अन्तिम दिन व्यवसायीहरुले बिभिन्न फूल तथा प्लान्टहरु छुटमा उपलब्ध गराउने भनेपछि अवलोकनकर्ताको बाक्लो उपस्थिती रहेको फ्यानका उपाध्यक्ष तथा मेला संयोजक कुमार कसजुले बताए ।
असोज ३१ गतेबाट कार्तिक ३ गते सम्म चलेको मेलामा अवलोकनकर्ताको चापले अर्को बर्ष गरिने मेलालाई अझ व्यवस्थित गर्ने बारेमा सोच्न बाध्य बनाएको फ्यानका महासचिव दिलिप बादेले बताए । अलोकनकर्ताको यो उपस्थितीले आफुहरुलाई दबाब सिर्जना भएको उनको भनाई थियो ।
मेलामा व्यवसायिक स्टल, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल सहित ३५ वटा प्रदर्शनी कक्ष रहका थिए । मेलामा गोदावरीे फूलको बिभिन्न प्रजातीका फूलहरुका साथै अन्य मौसमी फूल, आलंकारीक बोट बिरुवा, ड्राइफ्लावर, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, औजार, उपकरण र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहेका थिए ।
मेलामा १५ रुपैयाँ पर्ने पिटुनियादेखि ३ लाख रुपैयाँ पर्ने फाइकस बेन्जामिनाको बन्साई समेत प्रर्दशनी तथा बिक्रीमा राखिएको थियो ।
गत बर्ष भएको सातौं संस्करणमा २२ हजार अवलोकनकर्ताले मेला अवलोकन गरेका थिए भने करिव २१ लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो ।
प्रतिक्रिया 4