Comments Add Comment

आर्थिक स्वतन्त्रतामा नेपालको अवस्था झनै खस्कियो

४ कात्तिक, काठमाडौं । आर्थिक स्वतन्त्रतामा नेपालको अवस्था झनै खस्किएको छ । सरकारले मुलुकमा लगानीको वातावरण निर्माण हुँदै गइरहेको दाबी गरिरहेका बेलामा नेपाल विश्वका सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशहरुमध्येमा परेको छ ।

क्यानडास्थित फ्रेजर इन्स्टि्यूटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपालको अर्थिक स्वतन्त्रता अघिल्लो वर्षको तुलनामा खस्किएको छ । प्रतिवेदन अनुसार नेपाल १५२ देशहरुमध्ये १२६ देशमा परेको छ । जबकी अघिल्लो वर्ष नेपाल १२४ स्थानमा रहेको थियो ।

नेपालले १० पूर्णङ्कमा जम्मा ६.१६ अंक प्राप्त गरेर दुई स्थान तल झरेको हो । प्रतिवेदनमा १५२ राष्ट्रका नीति तथा योजना अध्ययन गरी आर्थिक स्वतन्त्रता मापन गरिन्छ । जसमा प्रमुख परिसुचकहरु व्यक्तिगत स्वतन्त्रता र छनौट, बजार प्रवेश गर्ने सहजता, निजी सम्पत्तिको सुरक्षा, विधिको साशन लगायत पर्छन ।

कुन देश कति स्थानमा ?

आर्थिक स्वतन्त्रता सबैभन्दा बढी भएको देशमा हङकङ परेको छ । जसले १० पूर्णाङ्कमा ८.९८ अंक प्राप्त गर्दै पहिलो बन्न सफल भएको हो ।

Economic-Fredom-Report

दोस्रो स्थानमा ८.५४ अंकसहित सिंगापुर, तेस्रो स्थानमा न्यू जिल्याण्ड ८.२५, चौथोमा स्विट्जरल्याण्ड ८.१९, पाँचौमा मरिशस ८.०९, छैठौंमा यूएई ८.०५, सातौंमा क्यानडा ८.००, आठौंमा अष्ट्रेलिया ७.८७, नबौंमा जोर्डन ७.८६ र दशौं मुलुकमा चिली ७.८४ पर्न सफल भएका छन् ।

बेलायत र अमेरिका १२औं स्थानमा परेका छन भने जापान २३औं स्थानमा, जर्मनी २८, फ्रान्स ५८, इटाली ७९, मेक्सिको ९१, रुस ९८, ब्राजिल १०३, चीन ११५, भारत ११० स्थानमा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सबैभन्दा कम स्वतन्त्रता भएका दश देशमा भेनेजुएला, रिपब्लिक अफ कंगो, जिम्बाब्वे, आर्जेन्टिना, अल्जेरिया, इरान, च्याड, डेमोक्रेटिक रिपब्लिक अफ कंगो र म्यानमार रहेका छन् ।

दक्षिण एशियामा पनि नेपाल सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएको देशमा परेको छ । माल्दिभ्स र भुटानको भने कुनै आंकडा प्राप्त नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालमा यो प्रतिवेदन समृद्धि फाउन्डेसनले विगत ८ वर्षदेखि सार्वजनिक गर्दै आएको छ । प्रतिवेदन सार्वजनिक गर्दै मनोज्ञ शर्माले कानुनी व्यवस्था र निजी सम्पत्तिको अधिकार, श्रम सम्बन्धी नियमन र व्यापार, आर्थिक नियमनका परिसुचकहरुमा यस वर्ष नेपालले कम अंक हासिल गरेको बताए ।

प्रतिवेदनले विभिन्न ४२ वटा मापदण्ड प्रयोग गरि आर्थिक स्वतन्त्रता स्चाकांक निकालेको हुन्छ । शर्माका अनुसार ती परिसूचकहरुलाई सरकारको आकार, असल मुद्रामा पहुँच, अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता, ऋण, श्रम र व्यापारसम्बन्धी नियमन व्यवस्था र कानुी संरचना तथा सम्पत्तिको अधिकारको सुरक्षा गरी ५ वर्गमा विभाजन गरिएको छ ।

पाँच वर्गमा नेपालले पाएको अंका
१. सरकारको आकार : गत वर्षको ७.६ बाट घटेर ७.४ अंक

२. कानुनी संरचना तथा सम्पत्ति माथिको अधिकारको सुरक्षा : ४.२मा स्थिर रहेको अवस्था

३. असल मूद्रा (साउन्ड मनि) माथिको पहुँच : गत वर्षको ६.३ बाट थोरै बढेर ६.४ अंक

४. अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता : ६.४मा स्थिर रहेको अवस्था

५. कर्जा, श्रम र व्यापार सम्बन्धि कानुन : गत वर्षको ६.५ बाट घटेर ६.४ अंक

(माथिकाे नम्बर १० पूर्णाङ्कमा पाएकाे हाे)

यस रिपोर्टमा विश्वव्यापी रुपमा आर्थिक स्वतन्त्रता घट्दै गइरहेको देखिएको छ । अघिल्लो वर्षको ६.८७ अंकको तुलनामा विश्वको आर्थिक स्वतन्त्रता घटेर ६.८४ अंकमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment