Comments Add Comment

दुई महिनामा व्यापार घाटा सवा खर्ब नजिक, झनै खस्कियो निर्यात व्यापार

६ कात्तिक, काठमाडौं । सरकारले निर्यात बढाउने नारा घन्काइरहेका बेलामा मुलुकको निर्यात व्यापार बढ्नुको सट्टा झन खस्किन थालेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निर्यात ४.६ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा १५ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तुहरु निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा १४ अर्ब ४३ करोड रुपैयाँको वस्तुमात्र निर्यात भएको राष्ट्र बैंकले जनाएको छ ।

export-import-logoनिर्यातमा ह्रास आएपनि आयात भने २०.९ प्रतिशतले बढेर १ खर्ब २६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । निर्यातको तुलनामा आयात अत्याधिक बढेपछि मुलुकको व्यापार घाटा दुई महिनामै १ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

कुल व्यापार घाटामध्ये यस अवधिमा भारत तथा चीनसँगको व्यापार घाटा क्रमशः २३.३ प्रतिशत र ४१.१ प्रतिशतले वृद्धि भएकोे छ ।

समिक्षा अवधिमा भारततर्फको निर्यात ७.६ प्रतिशतले घटेको छ भने अन्य मुलुकतर्फको निर्यात ०.५ प्रतिशतले बढेको छ । जिंक शिट, अलैंची, जुटका सामान, लत्ता कपाडा लगायतका वस्तुहरुको निर्यातामा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो ।

चीनतर्फको निर्यात व्यापारमा ह्रास आउने क्रम जारी रहेको छ । अघिल्लो वर्षको पहिलो दुई महिनामा चीनतर्फको निर्यातमा ५१.८ प्रतिशतले ह्रास आएकोमा यस वर्षको सोही अवधिमा १५.३ प्रतिशतले ह्रास आएको छ । प्रशोधित छाला, तयारी पोशाक, उनी गलैंचा, हस्तकलाका सामान लगायतका वस्तुहरुको निर्यात घटेपछि चीनतर्फको निर्यातमा असर परेको हो ।

कुल आयातमध्ये भारततर्फको आयात १९.१ प्रतिशतले बढेको छ भने चीनबाट भएको आयात ३९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार भारतबाट मुख्यतयाः पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपूर्जा, चामल र एमएस विलेट लगायतका वस्तुहरुको आयात बढको छ भने चीनबाट दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, रासायनिक मल, भिडियो टेलिभिजन तथा पाटपूर्जा र अन्य मेसिनरी तथा पाटपूर्जाको आयात बढेको छ ।

अत्य मुलुकबाट चाँदी, दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, कच्चा पाम तेल, हवाई जहाजका उपकरण लगायतको आयात बढेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment