Comments Add Comment

छठि : कर्मशीलता र सदभावको पर्व

धीरेन्द्र प्रेमर्षि, प्राज्ञ तथा सामाजिक/सांस्कृतिक अभियन्ता

Chhaithअपना माटिक सोन सुगन्धक,
ज्ञान जरूरी भऽ गेलए

मानस-गङ्गाकेर सफाइ

अभियान जरूरी भऽ गेलए

मिथिलाञ्चलको महापर्व छठिको सन्दर्भमा प्रसिद्ध गीतकार सियाराम झा ‘सरस’ का माथिका पंक्तिहरूलाई जोडेर हेर्दा छठिले दिने सन्देशलाई हामीले आत्मसात गरेको ठहर हुन सक्दछ। गीतले भनेजस्तै आफ्नो माटोको सुवासबारे जान्नु र संस्कृतिभित्र रहेका विशिष्टतालाई चिन्नु आवश्यक भइसकेको छ।

 आजसम्म त्यही नचिनेर नै हामी भिल्लको देशमा मणि भएका छौँ। तर साथसाथै समाजमा जुन किसिमका विकृति-विसङ्गतिहरू पौडिरहेका छन्, त्यसबाट मुक्तिका लागि मानस-गङ्गाको सफाइ अभियान चलाउनु पनि अत्यावश्यक छ।

आजको दिनमा छठि पर्वको नामबाट कुनै पनि नेपाली अनभिज्ञ रहेका छैनन्। सरकारले राष्ट्रिय पर्वका रूपमा स्वीकार गरी एक दिनकै भए पनि देशभरि विदासमेत दिन थालेबाट यसले अझ व्यापकता पाएको छ। यसलाई व्यापक बनाउनमा तराई विकास समाज, तराई सांस्कृतिक प्रतिष्ठानलगायतका संस्थाहरूले गएको दुई दशकदेखि काठमाडौँ उपत्यकामा छठि पर्व मान्ने वातावरण बनाई आयोजना गर्ने विभिन्न कार्यक्रमले पनि मद्दत पुर्यायो।

जनयुद्धताका आवागमन कष्टकर हुँदै गएपछि काठमाडौँ उपत्यकामा बस्ने मिथिलावासीहरूले राजधानीमै छठि मनाउन थाल्नुले पनि यसको विस्तृतिलाई मलजल गर्यो। वागमती र विष्णुमति नदीलगायतका जलाशयहरूको छेउछाउमा छठि-घाट निर्माण गर्न थालिएको त धेरै भएको थियो, तर लोकतन्त्रको आगमनपश्चात् काठमाडौँको रानीपोखरीसमेत यस पर्वका लागि खुला भएपछि उपत्यकामा यसको प्रचारले अझ व्यापकता लियो।Dherandra Premarshi

यी सबै प्रसङ्ग उल्लेख गर्दा देशको एउटा विडम्बनापूर्ण अवस्था सहजै हामीसामु चिहाउन आइपुग्छ। त्यो के भने यस्तो महत्वपूर्ण सांस्कृतिक चाडले आफ्नो परिचय बनाउन पनि चाड स्वयं नै काठमाडौँ आउनुपर्ने। यति हुन सकेकै कारण आज नेताहरूको मुखबाट छठिको शुभकामना आउन थाल्यो, मिडियामा पनि यसले ठाउँ पाउन थाल्यो।

संसारको आदिपर्वका रूपमा रहेको सूर्यपूजाको पर्व छठिको प्रभाव दिनानुदिन बढ्दो छ। कुनै समयमा प्राचीन मिथिला भूभागभित्र मात्र प्रचलित यो पर्व अब त्यस क्षेत्रका मैथिली र भोजपुरी भाषाभाषी जनतासँगै देश-देशान्तरसम्म विस्तृत भएको छ।

नेपालमा छठि पहिले-पहिले वीरगञ्जदेखि विराटनगरसम्म सीमित थियो। तर अचेल राजधानी काठमाडौँलगायत देशको अन्य भागमा पनि फैलिएको छ। यसैगरी भारततर्फ पनि विगतमा प्राचीन मिथिला क्षेत्र अर्थात् बिहार प्रदेशमा मात्र सीमित यस पर्वले अचेल दिल्ली र मुम्बईसम्म पनि व्यापकता पाइसकेको छ।Chhaith1

छठि पर्वका सन्दर्भमा अहिले पनि जनकपुर, वीरगञ्ज, दरभङ्गा, पटना आदि ठाउँमा देखिने यसको भव्यताको चर्चा गर्ने गरिन्छ। तर वास्तवमा छठि शहरी तामझामको नभई मिथिलाको विशुद्ध ग्रामीण पर्व हो।

खेती-किसानी र लोकजीवनसँग यसको गहिरो साइनो छ। शहरतिर यसको धार्मिक पक्ष मात्र देखिन्छ, सांस्कृतिक समन्वय र सामाजिक सद्भावको मियोको रूपमा रहेको छठिका लोककल्याणकारी पक्ष गाउँमै संरक्षित छन्।

प्राचीनकालदेखि नै ज्ञानविज्ञानको प्रयोगस्थली रहँदै आएको मिथिलाका सांस्कृतिक परम्पराहरूको विश्लेषण गर्ने हो भने मिथिलामा प्रकृति संरक्षणका पक्षहरूलाई धार्मिकताको जामा परिर्याई सुरक्षित राखिएको हामी पाउँछौँ। यस क्रममा छठि पर्वले सबैभन्दा सहज र विशेष पर्वको रूपमा निरन्तरता पाएको छ। यसमा पुण्य वा मोक्षप्राप्तिका लागि मात्र कुनै धार्मिक क्रियाकलाप सञ्चालित रहेको प्रायः पाइँदैन।

छठि पर्वलाई वास्तविक अर्थमा भन्ने हो साम्यवादी पर्व भन्न सकिन्छ। यसमा धनी र गरिबबीचको फरक नछुट्टिनुका साथै छुवाछूत, जातीय वा लिङ्गीय विभेद पनि पाइँदैन। यसका पूजा-सामग्रीहरू यस्ता हुन्छन्, जुन पौरखी हातहरूले आफ्नै खेतबारीमा फलाउने गर्दछन्। यसमा प्रसादका रूपमा चढाइने सामग्रीहरूको संख्या ७० सम्म पुर्याउनुपर्ने मान्यता रहेको छ।

यस्ता सामग्रीमा मूला, गाजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन्। कुनै कारणले ७० प्रकारका सामग्रीहरू पुर्याउन सकिएन भने गम्हरी धानको चामल चढाउँदा पुग्छ भन्ने विश्वास छ। गम्हरीलाई औषधीय गुणयुक्त धान मानिन्छ। गम्हरीलगायत सबै सामग्री एउटा कर्मशील व्यक्तिले आफै उत्पादन गर्न सक्दछ।Chhaith Dhaki

त्यसैले यो धनधान्य तथा आर्थिक हैसियत देखाउने पर्व नभई कृषिप्रधान क्षेत्रका मानिसको कर्मशीलता प्रदर्शनको पर्व हो। यसमा ढकी, नाङ्लो, कनसुप्ती आदि चोयाका भाँडाकुडा डोम जातिसँग लिइन्छ भने माटाको हात्ती तथा अन्य भाँडाकुडा कुम्हार जातिसँग लिने गरिन्छ। यसरी एकअर्काका उत्पादनलाई प्रयोग गरेर यस पर्वले परस्पर सामाजिक सहयोगको उदाहरण पनि प्रस्तुत गर्दछ।

अर्को महत्वपूर्ण कुरा के छ भने यस पर्वमा नियमनिष्ठा तथा स्वच्छतामा अत्यन्तै विचार पुर्याउने गरिए पनि एउटै पोखरीको चारैतिर विभिन्न जातिका व्यक्तिले घाट बनाई आ-आफ्नो पूजा गर्ने गर्दछन्। यसप्रकार छुवाछूतबाट यो पर्व मुक्त रहेको छ। यसैगरी मिथिला क्षेत्रका कतिपय इस्लाम, बौद्ध, इसाई धर्मावलम्बीहरूले समेत छठि परमेश्वरीको भाकल गर्ने गर्दछन्।

छठिको सबैभन्दा आह्लादकारी पक्ष हो— यसको समय, शैली र रमझम। झिसमिसे साँझ अनि मिरमिरे बिहानीमा व्रतालुका साथै घरका सदस्यहरूको लस्कर जलाशयसम्म जाँदा र फर्कंदाको मनमोहक दृश्य अत्यन्तै लोमहर्षक हुने गर्दछ।

सबैजनाको हातमा पूजाका कुनै न कुनै सामग्री, प्रसादहरू सजाइएको ढकी, डालो, माटाको हात्ती, कनसुप्ती, कोसिया-कुरबार, उखुका लट्ठा, केराको घरि, नैवेद्यका रूपमा भाँति-भाँतिका व्यञ्जन तथा फलफूलहरू, सबै विशिष्टिकृत रूप-रङ्ग र प्रकृतिका।

यी सामग्रीहरूमाथि बलिरहेको दियोले सन्ध्याकालीन तथा प्रभातकालीन झिसमिसेलाई अनौठो चित्ताकर्षक र उल्लासपूर्ण बनाएको हुन्छ। जलाशयछेउमा लहरै पूजाका लागि बनाइएका घाटहरू, प्रत्येक घाटमा छठि पूजा गर्ने एक-एक परिवार, घाटभरि सजाइएका पूजा-सामग्रीहरू, मैथिल ललनाहरूद्वारा घाटैपिच्छे समूह-समूहमा आबद्ध भई छठि परमेश्वरी र सूर्यदेवको आराधनामा गाइने गीतहरू, पोखरीको डीलमा ढोल, पिपही जस्ता परम्परागत बाजाको सुरम्य वादन, पोखरीभरि पानीमा रुझेर सूर्यलाई अर्घ दिइरहेका व्रतालुहरू, मनोकामना पूर्तिको अभिलाषामा पानीमा उभिरहेका असंख्य नरनारीहरू, परालको सानो बुजोमाथि बलिरहेको दियो, पोखरीभरि स्वतन्त्र रूपले तैरिरहेको दीपसमूहले बिछट्ट रोमाञ्च र भक्तिभाव सिर्जना गरिरहेको हुन्छ।

यो प्राकृतिक रोमाञ्च बिजुलीबत्तीको कृत्रिम झिलिमिलीमा सधैँ रमिरहने शहरी क्षेत्रमा पाउन सकिँदैन। एउटा छठिको दृश्यले मात्र पनि मिथिलाको ग्रामीण पर्यटनलाई ठोस आधारभूमि प्रदान गर्न सक्दछ।chat-tayari3

छठिलाई आरोग्य र उन्नतिदायक पर्व मानिन्छ। यसमा पुजिने सूर्य र जल दुवै आदिशक्ति हुन्। पुराणमा सूर्यलाई आरोग्यदायक मान्दै ‘आरोग्यं भाष्करादिच्छेत्’ भनिएको छ। यसैगरी जललाई जीवन नै भन्ने गरिएको छ।

जलाशयमा गएर पूजा गर्नु भनेको पक्कै पनि जलस्रोतलाई सफा राख्न चलाइएको नियम हुनुपर्दछ। छठि पर्व मनाउनाले आरोग्य र विशेषगरी चर्मरोगहरूबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। स्वस्थ जीवनका लागि स्वच्छ जल र समुचित ताप एवं प्रकाशलाई जरूरी मानिन्छ।

चर्मरोगहरूको कारणमा प्रदूषित पानी पनि एक रहेको परिप्रेक्ष्यमा छठिले जलाशयहरू सफा राख्ने सन्देश दिएको भान हुन्छ। सबै चाडपर्वमा झैँ यसबाट पनि सुख-समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने विश्वव्यापी मान्यताअनुसार यो कुरा पनि सही नै हो।

छठि पर्वले उदाउँदो सूर्यलाई पूजा गर्नुभन्दा अघि अस्ताउँदो सूर्यलाई पुजेर मानवीयताको सन्देश पनि दिइरहेको हामी पाउँछौँ। तर हिजो हाम्रा अशिक्षित भनाउँदा पुर्खाहरूले यस्तरी बनाएको लोककल्याणकारी संस्कारहरूलाई आज हामी पढेलेखेका तथा वैज्ञानिक युगका सन्ततिहरूसमेत धार्मिकताको आँखाले मात्र हेरेर धर्मकर्मका नाममा सांस्कृतिक विशिष्टताका फगत पोगटा बटुलेर त्यसैमा रमाइरहेका छौँ।

वास्तवमा जलाशय-सफाइको अभीष्ट यस पर्वमा लुकेको भए तापनि छठि मनाइसकिएपछि पोखरी, नदीमा पूजा-सामग्रीहरू फालेर उल्टो जलाशयलाई दुर्गन्धित एवं प्रदूषित बनाउने गरिन्छ। छेउछाउका जलाशयहरू नै सफा रहन नसके छठि परमेश्वरीले पनि कसरी आरोग्य प्रदान गर्ने ? मिथिलाको केन्द्र जनकपुर पोखरीहरूको शहरका रूपमा चिनिए पनि छठिको सन्देशलाई आत्मसात नगरिएकैले पोखरीहरूको छेउबाट हिँड्नुपर्दा नाक नथुनी धर पाइँदैन।

जलाशयको महत्वको मनन नगरिएकाले पनि होला— जनकपुर लगायत मिथिला क्षेत्रका साथै अन्य क्षेत्रका पनि सार्वजनिक पोखरीहरू दिनानुदिन अतिक्रमित हुँदै गएका छन्। हालका दिनमा काठमाडौँमा पनि धूमधामसँग छठि मनाउँदा यसको जल-सफाइसम्बन्धी सन्देशलाई पनि आत्मसात गरिदिएको खण्डमा बागमतीको सफाइका लागि लागि पर्ने एउटा दरो समूह छठ-उपासकहरूको पनि हुन्थ्यो।

छठिमा प्रसादका रूपमा चढाइने वनस्पतिहरू प्रायः झुप्पावाल हुन्छन्। जस्तै केरा, अदुआ, बेसार, पिँडालु आदि। यसले सङ्गठन वा सामूहिकताको सन्देश दिन्छ। छठिको प्रसादका रूपमा मुख्य रूपले चिनिने खाद्यवस्तु ठकुआ र भुसवा हुन्, जसमध्ये ठकुवाको मुटु जस्तो आकृतिलाई प्रेम र भ्रातृत्वको प्रतीक मान्न सकिन्छ भने भुसवा (कसार) पिठोका कण-कण एक-आपसमा जोडिएर बनेको कडा ठोस पदार्थ हुन्छ। यी यावत कुराहरू सामूहिकता वा कार्यगत एकताका प्रतीक हुन्।

जनयुद्धताका आवागमन कष्टकर हुँदै गएपछि काठमाडौँ उपत्यकामा बस्ने मिथिलावासीहरूले राजधानीमै छठि मनाउन थालेका हुन्

आज देशको संघीयताका माध्यमबाट पुनर्संरचना गर्न खोजिराखिएको परिप्रेक्ष्यमा सिङ्गो देशका सम्पूर्ण जनताले केराको काइयोँ झैँ सामूहिकता देखाउँदै भुसवाको संरचनागत सुदृढतालाई आत्मसात गरी अघि बढ्नुपर्छ। जनतारूपी जलाशयमा उभिएर देशरूपी सूर्यलाई सबैले पूर्ण आस्थाका साथ अर्घ दिने हो भने छठि परमेश्वरीले सम्पूर्ण नेपालीका लागि दाहिने हुनैपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment