१८ कात्तिक, काठमाडौं । राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा कात्तिक २१ गतेदेखि दोस्रो ‘रत्न तथा आभुषण प्रदर्शनी’ हुने भएको छ । तीन दिनसम्म चल्ने प्रर्दशनी नेपाल रत्न तथा आभुषण संघले आयोजना गर्न लागेको हो ।
प्रदर्शनी अगाडी फेशन शो आयोजना गरिने आयोजक संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आयोजकका अनुसार फेसन शो कात्तिक १९ गते आयोजना गरिने छ । जसको प्रमुख अतिथीमा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापालाई आमन्त्रण गरिएको छ ।
अायोजकले दिएको जानकारी अनुसार फेशन शोमा १० वटा गरगहना निर्माणमा संलग्न कम्पनीहरुले आकर्षक गरगहनाका साथ र्याम्पमा उतार्नेछन् ।
२१ गतेदेखि सुरु हुने रत्न तथा आभुषण प्रदर्शनीको मुख्य शो स्टोपरको रुपमा भारतीय चर्चित नायिका रबिना टण्डन उपस्थित हुने बताइएको छ । पत्रकार सम्मेलनमा पनि टण्डन उपस्थित थिइन । उनको साथमा अन्य मोडलहरुले पनि प्रस्तुति दिनेछन् । उनी नेपाली गहना पहिरन गरी र्याम्पमा जानेछिन् ।
तीन दिनको अवधिमा करिब १० हजारभन्दा बढी आगन्तुकले प्रर्दशनी भ्रमण तथा अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ । प्रदर्शनीमा गरगहनासँग सम्बन्धित ३५ वटा कम्पनीहरुको सहभागिता रहने छ ।
नेपालको मौलिक कालीगढी, गरगहना डिजाइनका क्षेत्रमा भएको परिवर्तन, शुद्धता, गुणस्तरीयता जस्ता पक्षलाई उपभोक्ता समक्ष उजागर गर्ने मूल उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागेको संघले जनाएको छ ।
‘नेपालमा बहुमूल्य पत्थरको खानी रहेको छ जुन गरगहनामा व्यापक मात्रामा प्रयोगमा आउने गरेको छ । त्यस्ता बहुमूल्य पत्थरको उत्खनन गर्ने, प्रयोगलाई बढाउने, सुनको शुद्धता परीक्षणको लागि प्रयोगशालाको स्थापना गरी गुणस्तरप्रति आश्वस्त पार्ने, ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पहुँच दिलाउन प्रर्दशनीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’ संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
गरगहनाको क्षेत्रमा करिब २० अर्ब रुपैयाँ बराबरको लगानी भएको अनुमानित तथ्यांक रहेको छ भने करिब ३५ अर्ब रुपैयाँको बजारको आकार छ ।
कुल बजारमा करिब ८० प्रतिशत हिस्सा नेपाली गरगहनाहरुले लिएको अनुमान व्यवसायीहरुले गरेका छन् । कर तथा भन्सार गरी यस क्षेत्रबाट ५ अर्ब रुपैयाँभन्दा बढी संकलन हुने गरेको तथ्यांक छ ।
प्रतिक्रिया 4