Comments Add Comment

यातायात सुविधा नहुँदा डोल्पाको स्याउ बोटमै कुहियो, मुस्ताङको ९० प्रतिशत बिक्री

Apple

१९ कात्तिक, त्रिपुराकोट (डोल्पा) । मुख्यतः डोल्पालाई कर्णाली अञ्चलमै मिठो, रसिलो एवम धेरै स्याउ उत्पादन हुने जिल्लाका रुपमा लिने गरिन्छ ।

डोल्पामा स्याउ उत्पादन राम्रो हुने भए तापनि राष्ट्रिय सडक सञ्जालसँग डोल्पाको पहुँच नभएकाले हरेक वर्ष डोल्पामा लाखौँ रुपैयाँ बराबरको स्याउ बोटमै कुहिने गर्दछ ।

जिल्ला कृषि कार्यालय डोल्पाको तथ्याङ्कअनुसार हरेक वर्ष डोल्पामा ४० लाख रुपैयाँ बराबरको स्याउ उत्पादन गरिने भए तापनि बिक्री वितरणका लागि स्थानीय बजारको अभावले गर्दा जम्मा चारदेखि पाँच लाख बराबरको मात्र स्याउ बिक्री वितरण हुने गर्दछ ।

स्याउखेतीका लागि डोल्पाका त्रिपुराकोट गाविसको मद्धु, करेलीकाँडा, कोट, रुम, सुँ गाविसको रँँङ्ग, जिँउ, जुफाल गाविसको आरुपानी, डाँङ्गीबाटा, मोतिपुर, दुनै, रह, लिकु, पहाडा, काइगाउँ सहरतारालगायतका गाविस महत्वपूर्ण मानिन्छन् ।

यी स्थानमा डोल्पामा लगाइने फापर, कोदो, मकै, धानलगायतका अन्नबाली नलगाएर स्याउको व्यावसायिक रुपमा खेती गरिएको छ ।

डोल्पामा खेतीयोग्य जमिन भनेको झन्डैझन्डै दुई प्रतिशतमात्र रहेकाले जिल्लामा पटक-पटक खाद्यान्नको अभाव हुने गरे तापनि स्याउ, ओखर, आरु, कागतीलगायतका फलफूलको भने व्यावसायिक उत्पादन गरिने गर्दछ ।

डोल्पामा स्याउका लागि उपयुक्त वातावरण भएकाले यसबाटै राम्रो आम्दानी गर्न सक्ने भए पनि यातायातको अभाव तथा बजारको अभावले गर्दा डोल्पालीहरू पुरानै परम्परागत खेती गर्न बाध्य भएको जिल्ला कृषि विकास कार्यालयका नायब सुब्बा सम्पत्ति बुढाले बताए ।

‘यदि डोल्पामा यातायातको मात्र पहुँच हुने हो भने डोल्पाली स्याउ र दाँते ओखरलगायतका फलफूल नेपालगन्ज, सुर्खेतलगायतका नजिकैका बजारका लागि बिक्री वितरण गरेर राम्रो आम्दानी गर्न सकिन्थ्यो’ उनले भने ।

डोल्पाको त्रिपुराकोट गाविस वडा नं २ गल्लीका ५२ वर्षीय भैरवबहादुर शाहीको बगैँचामा ४० बोट स्याउ लगाएको पाँच वर्ष भयो भने उनको बगैँचामा स्याउ फल्न थालेको पनि दुई वर्ष भयो ।

तर, रुखभरि लटरम्म फलेका स्याउ बोटमै कुहिन थालेपछि उनी चिन्तित भएका छन् । यातायातको अभावले गर्दा स्याउ स्थानीय बजारसम्म पुर्‍याउन नसकेर बोटमै कुहिने गरेको उनी बताउँछन् ।

हरेक वर्ष चारदेखि पाँच लाखसम्मको स्याउ फल्ने भए तापनि केही रुखमै कुहिने र टिपेका स्याउ पनि घरमैै कुहिने गरेको उनले बताए ।

भरियालाई स्याउ बोकाएर चार/पाँच घन्टा लगाएर बजारसम्म पुर्‍याउने हो भने सामानको मूल्यभन्दा भरियाको खर्च धेरै लाग्ने गरेकाले स्थानीय उत्पादनलाई बजारसम्म लान यातायातको आवश्यकता रहेको उनले बताए ।

डोल्पामा दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि लिएर एकठाउँबाट अर्को ठाउँसम्म जाँदा पनि थाप्लोमा नाम्लो र पैताला खियाउनुबाहेक अरु विकल्प नरहेको स्थानीयवासी रविप्रसाद न्यौपाने बताउँछन् ।

डोल्पामा यातायात भएपछि मात्रै स्याउमात्र नभई दाँते ओखर, कागती, आरुलगायतका फलफूलको उत्पादन हुने प्रचुर सम्भावना हुने र मनग्य आम्दानी गर्न सकिने उनले बताए ।

जिल्ल्ााभर वाषिर्क १० देखि १५ टनसम्म स्याउ उत्पादन हुने भए तापनि डोल्पामा यातायातकै असुविधाका कारण जम्मा उत्पादनको पाँच प्रतिशतमात्र स्याउ बजार पुर्‍याएर बिक्री वितरण गर्ने गरिन्छ ।

डोल्पामा स्याउमात्र नभई दाँते ओखर, कागती, आरु तथा विभिन्न तरकारी धेरैमात्रामा उत्पादन हुने गर्दछन् । तर यातायातकै असुविधाका कारण बर्सेनि अधिकांश उत्पादन कुहिएर जाने गर्दछ ।

त्यस्तै, डोल्पामै सबैभन्दा धेरै स्याउ उत्पादन हुने सुँ गाविसस्थित रङ्गका कृषक २२ वर्षीय पूर्ण बुढा पनि स्याउखेतीमा लागेका एक कृषक हुन् ।

उनले पनि बर्सेनि तीन लाख रुपैयाँ बराबरको स्याउ फलाउने गर्दछन् । यी स्याउ बजारसम्म पुर्‍याउन यातायात र स्थानीय बजारको अभावले गर्दा अधिकांश बोटमै कुहिने र बाँकी घरमा र आफन्तलाई बाँडेर सक्ने गरेको उनको भनाइ छ ।

व्यावसायिक रुपमा फलफूलखेती गरेेर पनि फाइदाको साटो घाटा हुन थालेपछि डोल्पाली कृषक चिन्तित भएका छन् ।

यातायातको सुविधा नभएकाले फलेको जम्मा स्याउमध्ये आधा स्याउ रुखमै कुहिने र नगन्य मात्रामा भरिया लगाई बजारसम्म पुर्‍याएर बिक्री वितरण गरिने सुँ गाविसस्थित रङ्गका कृषक पूर्ण बुढाले बताए ।

भरियालाई डोकोमा स्याउ बोकाएर बजारसम्म पठाउने र बिक्री गरिएको त्यही पैसाबाट आधाआधा बाँडेर चित्त बुझाउनुपर्ने डोल्पाली स्याउ कृषकको बाध्यता रहेको छ ।

डोल्पामा बलौटे माटो र परम्परागतखेती प्रणालीले गर्दा अन्नबाली नगन्यमात्रामा उत्पादन हुने गर्दछ तर फलफूल भने धेरै उत्पादन हुने गर्दछ ।

डोल्पालाई सडक सञ्जालले अहिलेसम्म पनि जोड्न नसकेकाले यहाँ यातायातको पहुँच छैन । यातायातको नाममा डोल्पाको एकमात्र जुफाल विमानस्थल र खच्चडबाहेक अरु उपाय छैन ।

यस जिल्लामा प्रतिदाना पाँच रुपैयाँ पर्ने स्याउ जिल्ला बाहिरका नेपालगन्ज, सुर्खेतलगायतका बजारमा भने ३० रुपैयाँसम्म पर्ने गर्दछ ।

यहाँबाट पाँच रुपैयाँमा लगिएका स्याउ जाजरकोटमा प्रतिदाना २५ रुपैयाँमा बिक्री गरिने स्थानीयवासीले बताएका छन् ।

यातायातको पहँुच नभएकाले डोल्पामा उत्पादन गरिएको स्याउ जुफाल र रङ्गमा रहेको दुईवटा रक्सी उद्योगमा प्रतिकेजी २० रुपैयाँमा उधारो बिक्री गर्ने बाध्यता रहेकोे रङ्गका स्थानीय पूर्ण बुढाले बताउँछन् । रामचन्द्र न्यौपाने/रासस

मुस्ताङको स्याउ ९० प्रतिशत बिक्री

मुस्ताङमा यस वर्ष कृषकबाट उत्पादित ९० प्रतिशत स्याउको बिक्री भइसकेको छ । जिल्ला कृषि विकास कार्यालय मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीका अनुसार अहिलेसम्म कृषकले चार हजार मेटि्रकटन स्याउ बिक्री गरेर करिब ४० करोड रुपैयाँ कमाएका छन् ।

यस वर्ष मुस्ताङमा पाँच हजार मेटि्रकटन स्याउ उत्पादन भएको अनुमान गरिएको छ । कृषकले बाँकी रहेको १० प्रतिशत स्याउमध्ये केही स्थानीयस्तरमा बिक्री गर्ने र केही सुकुटी बनाएर आफन्तलाई दिने गर्दछन् ।

गत वर्ष जिल्लामा चार हजार मेटि्रकटन मात्रै स्याउ उत्पादन भएको थियो ।

गत वर्ष करिब २१ करोड रुपैयाँको स्याउ बिक्री भएको थियो । अहिले मुस्ताङमा प्रतिकिलो ८० रुपैयाँमा स्याउ बिक्री भएको छ । गत वर्षभन्दा यस वर्ष २५ प्रतिशतले स्याउ उत्पादन वृद्धि भएको छ ।

यस वर्ष स्याउ उत्पादनमा वृद्धि हुनुमा हिउँदमा राम्रो हिमपात हुनु, फूल फुल्ने समयमा पानी र तुुषारो नपर्नु, बगैँचा व्यवस्थापनमा सुधार आउनु, मलखादको राम्रो व्यवस्था, बोटबिरुवाको काँटछाँट र रोग नियन्त्रणमा सुधार भएकाले उत्पादनमा वृद्धि हुन गएको वरिष्ठ अधिकृत अधिकारीले बताए ।

जिल्लाका १६ गाविसमध्ये १३ गाविसमा स्याउ उत्पादन हुने गर्दछ । स्याउ बढी उत्पादन हुने गाविसमा टुकुचे, मार्फा, कागवेनी, छुसाङ छन् भने मुक्तिनाथ, जोमसोम, झोङ घमी, चतान, खुर्साङ र कोवाङमा पनि स्याउ उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।

जिल्लामा ८८३ हेक्टर क्षेत्रफल स्याउ उत्पादनशील क्षेत्र मानिए पनि यस वर्ष कृषकले ३०० हेक्टर क्षेत्रफलमा स्याउ लगाएका थिए ।

जिल्लामा १६ वटा सहकारी संस्थाले स्याउखेतीको बजार प्रवर्द्धन गर्ने गरेका छन् । जिल्लामा स्याउका बिरुवा उमार्नका लागि नौवटा नर्सरीको स्थापना गरिएको छ ।

यस वर्ष विजया दशमी अगाडि बढेकाले कृषकले भदौको अन्तिम सातातिरबाट स्याउ टिप्न थालेका थिए ।

पोखरा, बागलुङ, म्याग्दी, पर्वतलगायतका व्यापारी कृषकको बगँैचामा गई बोटबाटै ठेक्कामा स्याउ खरिद गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment