Comments Add Comment

४.४ प्रतिशत नेपाली मात्रै करमा दर्ता !

Tax१ मंसिर, काठमाडौं । सरकारले अाज  ‘करदाता-मैत्री कर प्रशासन, समृद्धि र सुशासन हाम्रो अभियान’  भन्ने नाराका साथ राष्ट्रिय कर दिवस मनाइरहेको छ । सरकारले यसरी कर दिवस मनाइरहँदा अधिकांस नेपालीहरु करमा दर्ता नभएको तथ्यांक सार्वजनिक भएको छ ।

कर प्रणाली प्रभावकारी हुन नसक्दा र उद्यमशीलताको विकास भइनसकेकाले करमा दर्ता हुने नेपालीहरुको संख्या अत्यन्तै न्यून भएको हो ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष ०७१/०७२ को असोज मसान्तसम्ममा ११ लाख ७१ हजार ३ सय ७४ व्यक्ति तथा संस्था करमा दर्ता भएका छन् । यो कूल जनसंख्याको ४.४ प्रतिशत मात्रै हो । २०६८ को जनगणनाअनुसार नेपालको कूल जनसंख्या २ करोड ६८ लाख छ ।

विभागका अनुसार आयकर दर्ता ७ लाख ७ हजार ८ सय ८, भ्याट दर्ता १ लाख ३९ हजार १ सय ८२, अन्तशुल्क दर्ता ३६ हजार २३, व्यक्तिगत लेखा नम्बर ४ लाख ६३ हजार ५ सय ६६ रहेका छन् ।

व्यावसायीक स्थायी लेखा नम्बर (प्यान) लिनेहरुको संख्या ८२ हजार ७ सय ६२ पुगेको छ । त्यसैगरी १७ हजार १ सय ३८ले मुल्य अभिवृद्धि कर (भ्याट) लिएका छन् भने ८३ हजार ८ सय ८६ ले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।

सफल मूल्य अभिवृद्धि कर ०५४ साल मंसिर १ गतेदेखि लागु भएको थियो । ०६९ कार्तिक  २  गतेको तत्कालीन श्री ५ को सरकारको निर्णयानुसार आर्थिक बर्ष ०६९/७० देखि विभिन्न कार्यक्रम गरी मंसिर १ गते राष्ट्रिय कर दिवष मनाइन्छ ।

आन्तरिक राजस्व विभाग अन्तर्गत ललितपुरमा एउटा ठूला करदाता कार्यालय रहेको छ । काठमाडौं उपत्यका भित्र काठमाडौंका लागि ३ वटा, ललितपुर तथा भक्तपुरमा आन्तरिक राजस्व कार्यालयहरु र उपत्यका बाहिर भद्रपुर, धरान, विराटनगर, लाहान ,जनकपुर, सिमरा, विरगंज, हेटौडा, भरतपुर, पोखरा, भैरहवा, वुटवल, कृष्णनगर, दाङ, नेपालगन्ज, धनगढी र महेन्द्रनगरमा  रहेका छन् ।

त्यस्तै काठमाण्डौं उपत्यकाभित्र चाबहिल, कोटेश्वर, बानेश्वर, बत्तीसपुतली, पुतलीसडक, नयाँ सडक, त्रिपुरेश्वर, ठमेल, कालीमाटी, कलंकी, बालाजु, महाराजगन्ज र टंगालमा १३ वटा करदाता सेवा कार्यालयहरु रहेका छन्। उपत्यका बाहिर  इलाम, दमक, इटहरी, धनकुटा, गाइघाट, र्दीबास, गौर, बाग्लुंग, दमौली, पाल्पा, सुर्खेत, जुम्ला र धुलिखेलमा १३  वटा गरी २६ वटा र करदाता सेवा कार्यालय गरी जम्मा ४९ वटा कार्यालयहरु संचालनमा रहेका छन् । विभाग अन्तर्गत ९ सय ८९ कर्मचारी रहेका छन् ।

राजस्व संकलनमा विभागको योगदान  

कूल राजस्व संकलनमा आन्तरिक राजस्व विभागको योगदान ३९.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७०/७१ को कुल राजस्व संकलन ३ खर्ब ५६ अर्ब ८५ अर्व रुपैयाँ मध्ये विभागले १ खर्ब ४० अर्ब ५९ अर्व रुपैयाँ संकलन गरेको थियो ।

आर्थिक वर्ष ०६४/६५ को कुल राजस्व संकलन १ खर्ब ८ अर्ब रुपैयाँ रहेकोमा ३५ प्रतिशत अथाृत ३८ अर्ब रुपैयाँ राजस्व विभागको योगदान रहेको थियो । त्यसैगरी आर्थिक वर्ष ०६८/६९ को कुल राजस्व संकलन २ खर्ब ४३ अर्ब ९२ अर्व रहेकोमा ४० प्रतिशत अर्थात ९७ अर्ब ९ करोड रुपैयाँ राजस्व विभागको योगदान रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment