सलमान खान
१ मंसिर, भैरहवा । तोकिएको समयअवधि भित्र जग्गा प्राप्तिको निवेदन बुझाउन नपाएका रुपन्देहीका सुकुम्बासीहरुले म्याद थपिदिन माग गरेका छन् ।
सुकुम्बासी समस्या समाधान आयोगले लगत संकलनका लागि गत असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्मको म्याद दिएको थियो । तर, ढिलो सूचना पाएकोले समयमै आवेदन दिन नसकेको भन्दै म्याद थपिदिन सुकुम्बासीहरुले माग गरेका हुन् ।
म्याद थप्न माग गर्दै सुकुम्वासीहरुले आयोगको रुपन्देहीस्थित भैरहवा कार्यालय अगाडी केहीबेर विरोध जनाए । सुकुम्वासीहरुको आक्रोश बढ्दै गएपछि स्थिति साम्य पार्न प्रहरीको सहयोग लिनु परेको थियो ।
‘म्याद सकिएपछि पनि निवेदन बुझिदिन आग्रह गर्दै भैरहवा कार्यालयमा विवाद सिर्जना गरेपछि प्रहरीको सहयोग लिनु पर्यो,’ आयोगका रुपन्देही जिल्ला अध्यक्ष भुमिश्वर ढकालले भने ।
सभासदप्रति सुकुम्बासीको आक्रोश
पटक पटक धाउदा पनि निवेदन बुझाउन नपाएको सुकुम्बासीहरुको गुनासो छ । प्रक्रिया नपुगेकालाई ‘कागज नमिलेको’ भन्दै फर्काउने गरिएको छ ।
एक महिनाको अवधि भित्र रुपन्देहीमा ३५ हजार सुकुम्बासी तथा भुमिहिनको आवेदन संकलन भैसके पनि आवेदन दिनेहरुको भिड घटेको छैन ।
म्याद थपको लागि सभासदहरुले पहल नगरिदिएको कतिपय सुकुम्वासीहरुको बुझाइ छ । ‘भोट माग्ने बेलामा हात जोडेर दैलोमा आउँछन्, अहिले हामीलाई समस्या पर्दा नाक मुखै देखाउन छाडेका छन्,’ रुपन्देही हाटिबनगाई-१ कि सुकमाया लामाले आक्रोशित पोख्दै भनिन्, ‘अब कुनै नेता दैलोमा भोट माग्न आए भने चप्पलले हान्छौं ।’
सुकुम्वासी समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले सालझण्डी, सेमलार, मोतीपुर, बुटवल नगरपालिका, तिलोत्तमा, देवदह, सुर्यपुरा र जिल्ला कार्यालय भैरहवाबाट आवदेन संकलन गरेको छ ।
म्याद अवधिभर रुपन्देही जिल्लाबाट सुकुम्बासी, भुमिहिन र अव्यवस्थित गरी तीन किसिमका ३५ हजार आवदेन संकलन भैसकेका छन् । तर, अझै पनि निवेदन दिनेहरुको भिड घटेको छैन । अझै २० हजार भन्दा बढी आवदेन संकलन हुने अनुमान गरिएको अध्यक्ष ढकाल बताउँछन् ।
प्रतिक्रिया 4