Comments Add Comment

छायाँ सेन्टरमा पाँचतारे ‘अलफ्ट काठमाडाैं ठमेल’

Chhaya-Center-5

नविन अर्याल

८ मंसिर, काठमाडौं । राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा निर्माण भइरहेको व्यापारिक कम्पलेक्स ‘छायाँ सेन्टर’मा रहने पाँचतारे होटल स्टारउडको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालन हुने भएको छ ।

होटल सञ्चालन गर्ने विषयमा छायाँ सेन्टर अलफ्ट बिजनेश होटलबीच आज साँझ राजधानीमा दुइपक्षिय सम्झौता भएको छ । होटल र कम्पलेक्समा गरि करिव ५ अर्ब रुपैयाँ लगानी रहने छायाँ सेन्टरका सञ्चालक सुमन पाण्डेले बताए । होटलको नाम ‘अलफ्ट काठमाडाैं ठमेल’ रहने छ ।

अहिले ठमेलमा छायाँ सेन्टरको भवन निर्माण कार्य जारी रहेको छ । जसको करिव ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ । होटल सन् २०१७ देखि सञ्चालनमा ल्याउने तयारी भइरहेको निर्देशक पाण्डेको भनाई छ ।

स्टारउडले विश्वभर एक दर्जन ब्रान्डमार्फत चेन होटलहरू सञ्चालन गर्दै आइरहेको छ । जसमा अलफ्ट बिजनेश होटल, सेराटन, डब्लू होटल, फोरपेन्ट्स, लि मेरिडियन, लक्जरी कलेक्सन, इलेमेन्ट, स्टार रेजिस, स्टारउड पि्रफररेड गेष्ट रहेका छन् ।

पाण्डेका अनुसार अलफ्टसँग होटलको सबै ब्रान्डिङ र व्यवस्थापनको जिम्मा लिने गरी सम्झौता हुन लागेको छ । १५ तलाको भवनमा १ सय ७५ वटा रुमहरु हुनेछन् । होटलका सबै सुविधा डिलक्स हुने उनले बताए ।

Chhaya-Center-4

छायाँ सेन्टरको भवन निर्माण कार्य एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छायाँदेवी कम्पलेक्सले लिएको छ । होटलले अन्तर्राष्ट्रिय स्तरमा मार्केटिङ गरेर पर्यटक भित्राउले सञ्चाकल पाण्डेले बताए । होटल सञ्चालनमा आएपछि ठमेल घुम्न गएका पर्यटकलाई बास बस्नका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाई छ ।

यस्तो हुनेछ छायाँ सेन्टर

पर्यटकलाई एउटै छानामुनि स्तरिय हाेटलसहित सम्पूर्ण सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ छायाँ सेन्टर निर्माण गर्न लागिएको हो । सात व्यवसायीको लगानी रहेको सेन्टर आगामी वर्षभित्र सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको छ । ठमेलको भगवानबाहल क्षेत्रमा करिव १५ रोपनी क्षेत्रफलमा व्यवसायीक कम्पलेक्स निर्माण भइरहेको छ ।

‘छायाँ सेन्टर सञ्चालनमा आएपछि ठमेलको पर्यटनमा नयाँ आयाम थपिनेछ’ सुमन पाण्डेले भने ‘साथै ठमेलको सान बढाउन सहयोग पुग्ने विश्वास समेत लिएका छौं, नेपाली वास्तुकलामा आधारित भएर अहिले सेन्टरको निर्माण कार्य तिब्र गतिमा अगाडि बढिरहेको छ ।’

छायाँ सेन्टरमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसहित निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य, सुहृद घिमिरे, सुमन पाण्डे र महेश्वर श्रेष्ठले लगानी गरेका छन् । सेन्टरको निर्माण, सञ्चालन तथा व्यवस्थापन पाण्डे र श्रेष्ठले हेर्ने बताइएको छ ।

Chhaya-Center-1

‘ठमेल भित्रको ठमेल’ भन्ने अवधारणामा निर्माण भइरहेको छयाँ सेन्टरमा मुलुकमै पहिलो पटक हाइड्रोलिक सिष्टमको पार्किङ स्थल रहने सञ्चालक पाण्डेले जानकारी दिए । जुन सिष्टमबाट एउटै तल्लामा तल र माथि गरी दुई तहमा गाडी पार्किङ गर्न सकिनेछ । अटोमेटेड मेसिनले ग्राहकको गाडी पार्किङ गर्ने र बाहिर निकाल्ने काम गर्नेछ ।

‘अन्डरग्राउन्ड दुई तलामा पार्किङको व्यवस्था गरिनेछ, जहाँ ३८६ गाडी र २१७ मोटरबाइक एकैपटक पार्किङ गर्न सकिन्छ’ पाण्डेले भने ‘प्रोजेक्ट सञ्चालनमा आएपछि ठमेलको पार्किङ समस्या समाधानमा पनि सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’

मुलुककै सुविधा सम्पन्न र भव्य कम्पलेक्सका रुपमा रहने  छायाँ सेन्टरमा करिव २ सय ५० वटा पसल, ७ वटा रेष्टुरेन्ट, तीनवटा सिनेमा हल, पाँच वटा सभा हल र १ हजार वर्गफिट क्षमताको ब्याङ्क्वेट हलसमेत रहने सेन्टरकी श्रद्धा ठकुरीको भनाइ छ । क्यूएफएक्सले तीनवटै सिनेमा हल किनिसकेको जानकारी दिँदै उनले अहिले धमाधम पसल कवलहरु बुकिङ भइरहेको बताइन ।

छायाँ सेन्टरमा प्रसिद्ध ब्रान्डलाई प्राथमिकतामा राखिएको छ । अहिलेसम्म क्यूएफएक्स, नाङ्लो बेकरी क्याफे, होन्डा, इटालियन रेष्टुरेन्ट, एयरलाइन्स कम्पनी, पश्मिना र क्यूरियो व्यवसायी, ट्राभल व्यवसायीलगायतले बुकिङ गरिसकेका छन् ।

Chhaya-Center-2

‘हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित ब्रान्डलाई छायाँ सेन्टरमा भित्र्याउँछौंं’ पाण्डेले भने- ‘पब्लिकमा गएर घरजग्गा बेचे जसरी कबल बिक्री गर्ने हाम्रो उद्देश्य छैन्, उपयुक्त व्यवसायी छनौट गरी आफै निम्ता गरेर ल्याउँछौं ।’ अन्तर्राष्ट्रिय ब्रान्डका कफी सप, रेष्टुरेन्ट व्यवसायीहरु आकषिर्त भइरहेको उनको भनाइ छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई सम्पूर्ण सेवा-सुविधा एकै स्थानमा उपलब्ध गराउने कम्पनीको लक्ष्य छ । नमुना कम्पलेक्सको रुपमा विकास गर्न लागिएको सेन्टर २४ घण्टा नै खुल्ला रहनेछ । पर्यटक सुरक्षाका लागि प्रहरी र आफ्नै सुरक्षा टिम खटाइने ठकुरीले जानकारी दिइन् ।

ठमेलको शान बढाउने विश्वास लिइएको सेन्टरबाट संसारको जुनसुकै कुनाबाट पनि सामान खरिद गर्न सक्ने व्यवस्था गरिनेछ । कम्पनीले ठमेलको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

कुन तलामा के ?

छायाँ सेन्टरको अन्डरग्राउन्ड बेसमेन्टमा गाडी पार्किङ स्थल, डिस्को थेक रहने बताइएको छ । लोअर ग्राउन्ड तलामा डिपार्टमेन्टल स्टोर, क्यासिनो, डिस्को थेक, गाडी तथा मोटरसाइकल पार्किङ रहनेछ ।

Chhaya-Center-3

ग्राउन्ड तलामा पसल र एउटा रेष्टुरेन्ट रहने छ । नाङ्लोले ग्राउन्ड तलामा स-साना २ वटा बेकरी राख्ने बताइएको छ । पहिलो तलामा तीनवटा रेष्टुरेन्ट र पसलहरु रहनेछन् । पहिलो तलामा नाङ्लोको रेष्टुरेन्ट रहनेछ ।

दोस्रो तलामा पनि तीनवटा रेष्टुरेन्ट र पसलहरु रहने छन् । तेस्रो तलामा विभिन्न कम्पनीका कर्पोरेट कार्यालयहरु, बैंकका शाखाहरु, एयरलाइन्स तथा ट्राभल एजेन्सीका कार्यालयहरु रहने छन् । तेस्रो तलामा यति एयरलाइन्सले आफ्नो अफिस राख्ने भएको छ ।

चौथो तलामा तीनवटा सिनेमा हल र फुड कोर्ट, ब्याङ्क्वेट हल, मिटिङ हल, पसलहरु रहनेछन् । पाँचौ तलादेखि १५ औं तलासम्म पाँचतारे होटल ‘अलफ्ट बिजनेश होटल’ रहने बताइएको छ । चौथो र पाँचौं तलामा मल्टिप्लेक्स समेत रहने छ ।

सेन्टरमा एभरेस्ट बैंकको नेतृत्वमा आधा दर्जन बैंकले सहवित्तीयकरण कर्जा प्रवाह गरेका छन् । भवन नेपाली वास्तुकलामा आधारित रही नेपाली इन्जिनियरहरुले डिजाइन गरेका हुन् ।

भिडियोमा छायाँ सेन्टर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment