Comments Add Comment

सुशील र केपी ओलीले आफूलाई दाता र अरुलाई भिखारी ठानेः प्रचण्ड

फाइल फोटो
फाइल फोटो

२० मंसिर, काठमाडौं । एकीकृत नेकपा माओदी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले संविधान निर्माणको प्रसंगमा आफूलाई दाता र अरुलाई भिखारी जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।

साथै माघ ८ मा संविधान जारी गर्न असम्भव भएको भन्दै उनले एक/दुई महिना समय थप गररे सहमतिमै संविधान बनाउनु पर्ने बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा प्रचण्डले कोइराला र ओली संविधानसभालाई नियमित संसद बनाउन लागिपरेको बताए ।

उनले भने-‘उहाँहरुले दुई तिहाईको बलमा पेलेर संविधान बनाउने सोच्नुभएको छ तर, यो सम्भव छैन र त्यसमा जनताले पनि साथ दिँदैनन ।’

कोइराला र ओली ‘लेट कमर’

लोकतान्त्रिक आन्दोलनमा कोइराला र ओली ‘लेट कमर हो’ भन्दै प्रचण्डले दुई नेतालाई संघीयता र शान्ति प्रक्रियाको विरोधीको संज्ञा दिए । उनले भने-‘दुई तिहाईको बलमा संविधान बनाउन खोज्नु संविधानसभा विरोधी हुनु हो, संघीयता विरोधी हुनु हो अनि तानाशाही बन्नु हो, सुशीलजी र ओलीजी त्यही बाटो अप्नाउन खोज्दै हुनुहुन्छ ।’

माघ ८ गते अगाडि नै सहमति भयो र मस्यौदाको प्रकृया पनि पूरा भयो भने जनताले दुई/तीन महिना पर्खन्छन्

अहिले गिरिजाप्रसाद कोइरालाको अभाव खट्किएको भन्दै उनले ‘गिरिजाबाबु’ भएको भए देशले यो नियति भोग्नुपर्ने थिएन कि ? भनि प्रश्न गरेका छन् ।

उनले संविधान निर्माणमा कांग्रेस-एमाले इमानदार नभएको आरोप लगाए । ‘अन्तिम समयमा गोहीको आँशु चुहाउँदै सहमति भाँड्न नौबुँदे पेस गर्नुहुन्छ । यो तरिका ठीक होइन’ प्रचण्डले भनेका छन्-सुशीलजी र ओलीजीको कारणले समयमै संविधान नबन्ने खतरा बढेको हो ।’

माघ ८ को समय घर्किसक्यो

एक दुई दिनभित्र सहमति भए माघ ८ मा संविधानको मस्यौदा जनताको विचमा लैजान सकिने भन्दै उनले भने-‘त्यो सहमतिको सम्भावना भने देख्दिन, त्यसैले माघ ८ को समय अब घर्किसकेको छ ।’

संविधानसभाको दोस्रो निर्वाचन हुनै नसक्ने अवस्थामा आफूले ठूलो जोखिम उठाएर चुनाव गराएको भन्दै उनले संसद र संविधानसभालाई एउटै रुपमा नबुझ्न कांग्रेस र एमालेलाई चेतावनी दिए ।

उनले भने-‘यो नियमित संसद होइन, संविधानसभा हो । संविधान बनाउन सहमति आवश्यक हुन्छ ।’ यद्यपि आफूहरुले ‘६०१ को नभइ १२ बुँदे सहमति, शान्ति सम्झौता र लोकतान्त्रिक आन्दोलनका सहयात्रीबीच सहमति हुनु पर्ने उनले बताए ।

दलहरुबीच सहमति हुन नसके संविधान जारी हुने समय सार्नुपर्ने भनदै उनले भने-‘माघ ८ गते अगाडि नै सहमति भयो र मस्यौदाको प्रकृया पनि पूरा भयो भने जनताले दुई/तीन महिना पर्खन्छन् ।’

मोर्चा फुटाउन असम्भव

प्रचण्डले सत्तापक्षले मोर्चा फुटाउन प्रयत्न गरेको तर, असम्भव भएको दावी गरे । उनले भने-मधेसवादी नेताहरुलाई मीठोमीठो खुवाउनुभएछ, वचन चाहिँ तीतो गर्नुभएछ । फकाएर केहीलाई सरकारमा ल्याउने र माओवादीलाई एक्लाउन खोज्नुभएको छ । फकाएर केहीलाई सरकारमा लैजान सक्नुहुन्न ।’ यद्यपि उनले केही गइहाले पनि माओवादी आन्दोलन भएकाले यो जिवित रहने तर्क गरे ।

विप्लवतिर धेरै जाँदैनन्, थाकेपछि उनी नै आउछन् 

प्रचण्डले मूल पार्टीसँग फुटेर गएकाहरुसँग पनि छिट्टै पार्टी एकता हुने दावी गरेका छन् । उनले भने-‘उहाँहरुसँग कुरा भैरहको छ ।’ यद्यपि उनले बैद्यसँग पार्टी एकताको लागि संविधानसभा नछोड्ने बताए ।

मेरो कद घटे देशलाई फाइदा हुँदैन । तपाईहरुले पनि मेरो कद घटाउने काम नगर्नुहोस्

सबै एकताको पक्षमा रहेको भन्दै उनले बैद्य माओवादीबाट फुटेर नयाँ पार्टी खोलेका विप्लवसँग पनि पार्टी एकता हुने बताए ।

पार्टीमा एकदुई आउने जाने प्रक्रिया चलिरहेको भन्दै उनले आफ्नो पार्टीबाट ठूलो संख्यामा कार्यकर्ता विप्लवको पार्टीमा नजाने दाबी गरे । उनले भने-‘अन्तिममा विप्लवजी पनि केही समय घुमेर यही पार्टीमा आउनुहुन्छ, उहाँ थाकेपछि हामीसँग एकता हुन्छ ।’

मेरो कद घटाउने काम नगर्नुहोस्

कद घटेको हो भन्ने जिज्ञासामा माओवादी अध्यक्ष प्रचण्डले आफूले कहिल्यै पनि आफ्नो कद के होला भन्ने सोचेर नहिँडेको बताए ।

उनले राष्ट्र र जनतामा लाग्दा कहिले आफ्नो कद घट्न, कहिले बढ्ने भन्दै उनले भने-‘मेरो कद घटे देशलाई फाइदा हुँदैन । तपाईहरुले पनि मेरो कद घटाउने काम नगर्नुहोस् ।’ तर एकथरी मान्छेहरु आफ्नो कद घटाउन दिनरात लागिपरेको समेत उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment