२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अबसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित कार्यक्रममा कोइरालाले भ्रष्टाचार नियन्त्रण र निर्मूल गर्न स्थापना गरेका संवैधानिक र अन्य निकायहरुको कार्यक्षमतामाथि प्रश्न उठेको तथा मोलाहिजा भएको गुनासो आइरहेको बताए ।
उनले भने-‘राज्यको राजश्वबाट पारिश्रमिक लिने र पदीय दायित्व लिने पदाधिकारीहरुले देश र आम नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । लोभ-लालच, माया मोहबाट आफूलाई टाढा राख्न सक्नु पर्दछ । कसैले कसैको मोलाहिजा गर्न पर्दैन ।’
कोइरालाले सानालाई समाउने गरेको भन्दै अख्तियारको आलोचना गरे । अख्तियार ठूला माछाहरुलाई समाउन असफल भएको भन्दै प्रधानमन्त्री कोइरालाले भने-भ्रष्टाचारीहरु खुलेर हिडेका छन् र सदाचारीहरु लुकेर हिड्न पर्ने बिडम्बनापूर्ण अवस्था सिर्जना भइरहेको छ ।’
आफूले सरकारको नेतृत्व गर्दा सुशासन कायम गर्ने बनाएको स्मरण गर्दै कोइरालाले प्रधानमन्त्री बनेको १० महिना पुग्न लाग्दा नेपाल भ्रष्टाचारको सूचीमा १० स्थान माथि उक्लिएको प्रतिकुल तथ्य आएको बताए । उनले भने-जिन्दगीभर निष्ठाको राजनीति गरेको प्रजातान्त्रिक मूल्य,मान्यता रआदर्शबाट कति पनि विचलित नभएको मेरो लागि यो नतिजालाई मैले निकै गम्भीरताका साथ लिएको छु ।
भ्रष्टाचार सरकारी निकायमा कार्यरत व्यक्तिहरुको एकल प्रयासबाट मात्र सम्भव नभएको भन्दै उनले निजी क्षेत्र र सेवाग्राहीको पनि संलग्नता देखिएको बताए । यसको रोकथाम र उन्मूलनका लागि पनि सरकारी, निजी र सेवाग्राहीहरु सबै सक्रियताका साथ लाग्नु पर्ने उनको जोड थियो ।
‘भर्याङ सफा राख्नलाई माथिल्लो सिढीबाट बढार्नुपर्छ’ भन्दै प्रधानमन्त्री कोइरालाले मन्त्री, सचिव र विभागीय प्रमुखहरुलाई आ-आफ्नो स्थानबाट तदारुकताका साथ काम गर्न निर्देशन दिएका छन् । उनले भने-‘मैले भनेकै छु, भ्रष्टाचारको प्रमाण मिलेमा म कसैलाई छोड्नेवाला छैन ।’
प्रतिक्रिया 4