Comments Add Comment

सबै व्यक्तिको अधिकार संरक्षण हुन्छ : प्रधानमन्त्री

susil-koirala

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मानव अधिकार उल्लंघन गर्नेहरुलाई कानूनको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले समाजिक विभेद अन्त्य, आत्मसम्मानको प्रत्याभूति र समावेशी विकासद्वारा मानव अधिकार सुनिश्चित गर्न क्रियाशील रहेको बताएका हुन् ।

‘विभेद र जोखिममा परेका, कमजोर अवस्थामा रहेका र शोषित तथा सीमान्तकृत वर्ग तथा समुदाय लगायत सबै व्यक्तिको अधिकारको संरक्षणमा सरकारको प्राथमिक दायित्व हुने कुरामा हामी सजग छौं,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

आम नेपाली नागरिकको मानव अधिकारको सम्मान गर्ने संस्कृतिको विकास गरी समानता र न्यायमा आधारित समावेशी नेपाली समाज स्थापना गर्न नेपाल सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको भनाइ छ ।

शान्ति, दीगो विकास र मानव अधिकार अन्योन्याश्रति रहेको भन्दै उनले मानव अधिकार प्रवर्द्धनको लागि आधारभूत वातावरण बनाउन सम्बद्ध सबै क्षेत्रसँग अझ बढी सहकार्य र सहयोगको अपेक्षा गरेका छन् ।

मानव अधिकार संरक्षण तथा प्रबर्द्धनको प्राथमिक जिम्मेवारी सरकारको भए पनि मानव अधिकार मैत्री संस्कृतिको निर्माण गरी संस्थागत गर्न समाजका सबै क्षेत्र र वर्गहरुको योगदान अत्यावश्यक हुने प्रधानमन्त्री कोइरालाको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment